२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

धार्मिक हिंसा भड्किएपछि सुनसरीका ५ वटा पालिकामा कर्फ्यु



काठमाडौं । दुई धार्मिक समूहबीचको तनाव हिंसात्मक झडपमा परिणत भएपछि सुनसरी सदरमुकाम इनरुवासहित ५ वटा पालिकामा जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएको छ। मुस्लिम र हिन्दु समुदायबीच तनावको अवस्था उत्पन्न भएपछि प्रशासनले यसअघि हरिनगर गाउँपालिका सबै वडा र देवानगन्ज गाउँपालिका वडा नं. १ र ७ मा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो।

तर निषेधाज्ञाबीच पनि हिंसात्मक झडप नरोकिएपछि प्रशासनले शुक्रबार बेलुका ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि प्रशसनले कर्फ्यु नै लगाएको हो। सुनसरीका कायम मुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयँलले इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा पनि कर्फ्यु आदेश जारी गरेका हुन्। यसअघि हरिनगरा गाउँपालिका र देवानगञ्ज गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको थियो।

केही दिनयता सुनसरीका सीमावर्ती क्षेत्रमा सामाजिक र धार्मिक सद्भाव खल्बल्याउने गरी दुई धार्मिक समुदायबीच हिंसात्मक झडप सुरु भएको थियो। यही बिहीबार एक समूहले हिन्दु समुदायका युवालाई मरनासन्न हुने गरी आक्रमण गरेको थियो। त्यसपछि दुई धार्मिक समुदायबीच तनावले उग्ररुप लिँदा सम्भावित हिंसा रोक्न प्रशासनले कर्फ्यु लगाएको हो। दुई समूहबीचको तनाव चुलिँदा शुक्रबार सुनसरीको भुटाहामा हिंसात्मक झडप पनि भएको थियो। भुटाहामा भएको झडपमा चारजना घाइते भएका छन्। प्रहरीले कयौँ दर्जन सेल अश्रुग्यास र हवाइ फायर गरिसकेको छ।

घाइते तीनजनाको विराटनगरमा र एकजनाको इनरुवा अस्पतालमा उपचार भइरहेको छ। गत जनवरी २२ मा भारतको अयोध्यामा भगवान् श्रीरामको मन्दिर उद्घाटन तथा प्राण प्रतिष्ठाका क्रममा लगाइएका झण्डा र तुलहरू मुस्लिम समुदायले च्यातिदिएको आरोप लागेको थियो। मुस्लिम समुदायहरूले हिन्दुहरूका केही युवामाथि आफूहरुको धार्मिक ग्रन्थ कुरान जलाएको आरोपसमेत लगाएका छन्। तर हिन्दु समुदायले भने कुरान नजलाएको भन्दै अफवाह फैल्याइको दाबी गरेका छन्। त्यही विवादमा बिहीबार एक युवक मरनासन्न हुने गरी कुटिएका थिए।


प्रतिक्रिया दिनुहोस !