२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

काठमाडौँ महानगरमा आजबाट गरिब घरपरिवार गणना



काठमाडौँ महानगरपालिकाले आज (आइतबार) देखि गरिब घर परिवार गणना सुरु गरेको छ।

गरिब परिवारलाई सरकारी सेवा सुविधा उपलब्ध गराउने सरकारको नीति कार्यान्वयनको लागि आजबाट महानगरभित्र बसोबास गर्ने गरिब घर परिवारको तथ्यांक लिन लागिएको महानगरपालिकाले जनाएको छ।  

गणनाबाट प्राप्त हुने तथ्याङ्कअनुसार महानगरले नीति, योजना तथा कार्यक्रम निर्माण गर्ने तयारी गरेको छ। यसका लागि महानगरपालिकाले चैत ८ गतेदेखि १२ गतेसम्म २६ जना गणकलाई प्रशिक्षक दिएको थियो। 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव कृष्णप्रसाद सापकोटाका अनुसार काठमाडौँ महानगरपालिका गरिब गणनाका लागि अन्तिम पालिका हो। यसपछि तथ्याङ्क संकलनको काम सकिनेछ।  

सरकारले देशका ४९ जिल्लाका गरिब घरपरिवारमा परिचयपत्रसमेत बाँडिसकेको छ। 

१५ जिल्लामा परिचय पत्र बाँड्ने तयारी भइरहेको छ। बाँकी १३ जिल्लामा पनि गरिब घरपरिवारको गणना सम्पन्न भइसकेको छ। गरिव परिवारका तथ्याङ्क संकलनको थालनी २०७० सालमा २३ वटा जिल्लाबाट भएको थियाे। 

महानगरपालिकाभित्र २ लाख ३८ हजार ९६६ घर रहेकाे तथ्याक छ। १ जना गणकले १ महिनामा २५० जना घरपरिवारको तथ्याङ्क संकलन गर्ने गरी समय र जनशक्ति खटाइने महानगरले जनाएकाे छ। 

सबैभन्दा धेरै गणक वडा नं. १६ र ३२ गरी २ वटा वडामा २१/२१ जना खटिनेछन्। वडा नं. ६ र ३१ मा १४/१४ जना, वडा नं. १५ मा १२ जना, वडा नं. १४ मा ११ जना, ४ र ७ मा १०/१० जना जनशक्ति परिचालन हुनेछन् । 

यस्तै वडा नं. २६ र १३ मा ९/९ जना, वडा नं. ३, ९ र १० गरी ३ वटा वडामा ८/८ जना जनशक्ति खटिनेछन् । वडा नं. २९ मा ६ जना, वडा नं. १७ र ३० मा ५/५ जना, वडा नं. ५ मा ४ जना, वडा नं. २, ११, २१ र २८ मा ३/३ जना खटिनेछन्। 

वडा नं. ८, १२, १८, १९, २० र २५ गरी ६ वटा वडामा २/२ जना खटिनेछन् । वडा नं. १, २२, २३, २४ र २७ गरी ५ वटा वडामा १/१ जना जनशक्ति खटिने महानगले जनाएकाे छ। 


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय