२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

आइटी क्षेत्रका गलत प्रवृत्तिलाई निरुत्साहित गरेरै छाड्छौँ : सञ्चारमन्त्री शर्मा



सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले आफूहरु बेथिति र गलत प्रवृत्तिलाई निरुत्साहित गर्दै सुशासनको पक्षमा निरन्तर लागिपरेको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारीको पाँचौं  बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले बेथिति र गलत प्रवृत्तिविरुद्ध अन्तिम समयसम्म लडिरहने बताउनुभयो ।

विशेषगरी आइटी क्षेत्रमा सीमित व्यक्तिको  हालीमुहाली रहेको र त्यसलाई तोड्न खोज्दा पटक–पटक मुद्दामामिला बेहोर्नुपरेको उहाँको भनाइ छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिनुभएको सुशासन र समृद्धिको लक्ष्य पूरा गर्न  सञ्चार मन्त्रालय र मातहतका निकायहरु जोडतोडका साथ लागिपरेको उहाँको भनाइ थियो । 

आमसञ्चारका क्षेत्रमा सञ्चार मन्त्रालयले अहिले बढीभन्दा बढी काम गरिरहेको भन्दै मन्त्री शर्माले मन्त्रालयले ल्याएको मिडिया काउन्सिलसम्बन्धी विधेयकले सबै प्रकारका मिडियालाई संरक्षण, नियमन गर्न सक्ने बताउनुभयो ।

“मन्त्रालयले तयार पारेका विभिन्न ऐन कानुन कार्यान्वयनमा आएपछि आमसञ्चार क्षेत्रमा आमूल परिवर्तन हुन्छ”, मन्त्री शर्माले भन्नुभयो, “सञ्चार मन्त्रालयमा भएका कामले वर्तमान सरकारले गरेका सुशासन, र समृद्धि लक्ष्यलाई साथ पुग्दै आएको छ ।”

माओवादीले अहिलेसम्म ऊर्जापछि सबैभन्दा धेरै पटक सञ्चार मन्त्रालयको नेतृत्व लिएको भन्दै उहाँले त्यसैको परिणाम अहिले गाउँगाउँका जनता हातहातमा सञ्चारको पहुँच पु र्‍य ाउन सकिएको बताउनुभयो ।

मन्त्री शर्माले  माओवादीले नेतृत्व सम्हालेका मन्त्रालयले  हरेक पटक  कहीँ न कहीँ नेपाली जनताले  परिवर्तनको महसुस गर्न पाएको उल्लेख गर्नुभयो । बैठकलाई नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटा, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटालगायतले सम्बोधन गर्नुहुनेछ ।


प्रतिक्रिया दिनुहोस !