१९ बैशाख २०८१, बुधबार
 |   Wed May 1 2024
Logo

बिसुपर्व मनाउन घर फर्किंदै परदेशी



सुदूरपश्चिमको मौलिक पर्व बिसु मनाउन घर फर्किने परदेशीको झुलाघाट नाकामा घुइँचो लागेको छ । रोजगारीका लागि भारत पसेका सुदूरपश्चिम र कर्णाली प्रदेशका युवा झुलाघाट नाका भएर घर फर्किन लागेका हुन् ।  

सुदूरपश्चिम र कर्णालीमा नयाँ वर्षलाई बिसुपर्वका रूपमा मनाउने चलन रहेको छ । घर फर्किने अधिकांश मौसमी रोजगारीका लागि भारत पसेका छन् । 

अन्य पूजापाठका लागि समेत घर फर्किनेको सङ्ख्या उल्लेख्य रहेको पाइएको छ । बिसुपर्वमा धार्मिक पूजाआजा सम्पन्न गरी नयाँ वर्षको दिन तितेपातीले नुहाएर मौलिक परिकार माडा, बटुकलगायत गतानी डुब्का खाने चलन रहेको छ । 

बिसुपर्वलाई विवाहित छोरी माइती घर आएर दुःखका व्यथा पोख्ने दिनका रूपमा पनि लिने गरिन्छ । कहीँकतै देवरले भाउजू र भाउजूले देवरलाई सिस्नुपानी लगाउने पर्वका रूपमा पनि मनाउने गरेको पाइन्छ । 

बैतडीमा पनि एकले अर्कोलाई सिस्नो लगाउने चलन रहेको छ । तितेपातीले नुहाएर सिस्नो लगाएमा वर्षभरिको विष पखालिने जनविश्वास रहेको छ । 

झुलाघाट नाकाबाट एक महिनाको अवधिमा करिब पाँच हजार नेपाली स्वदेश फर्किएको प्रहरीको तथ्याङ्कमा उल्लेखछ । चैत १ देखि २४ सम्म झुलाघाट नाकाबाट तीन हजार ८९६ पुरुष र ८३८ महिला गरी चार हजार ७३४ जना नेपाली स्वदेश फर्किएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिनुभयो ।

नेपाल–भारत नाकामा स्वदेश फर्किनेको घुइँचो लागेको उहाँले बताउनुभयो । झुलाघाट नाकाबाट दैनिक दुई सयभन्दा नेपाली घर फर्किने गरेका छन् । स्वदेश फर्कने यात्रुको सहजताका लागि झुलाघाट सीमा प्रहरी चौकीको टोली नाकामा खटिएको छ । 

गाडी भाडालगायत विभिन्न समस्या समाधान गर्न प्रहरी कर्मचारी परिचालन गरिएको छ । बिसुपर्वका लागि स्वदेश फर्किने नेपालीलाई गन्तव्यसम्म पु¥याउन भ्याइनभ्याइ भएको सवारीचालक प्रेमसिंह धामीले बताउनुभयो । 

यो नाकाबाट स्वदेश फर्किनेमा अधिकांश बैतडी र बझाङ जिल्लाका रहेका छन् । स्वदेशमा रोजगारी नपाउँदा भारतमा ज्याला मजदुरी गर्न गएका बैतडीका नरिभान धामीले बिसुपर्व मनाउन घर फर्किएको बताउनुभयो । 

“बिसु मनाउन घरपरिवार प्रतीक्षा गरिरहेकाले काम छाडेर स्वदेश फर्किएको हुँ,” उहाँले भन्नुभयो, “हिउँदे बाली पनि भित्र्याउनु प¥यो, बर्खामा खेती पनि लगाउनु प¥यो, त्यही भएर घर फर्किएँ ।”

स्थानीय तहको सरकारले विकास निर्माणका काममा डोजर लगाउँदा गाउँमा काम नपाएपछि भारत पसेको गुनासो सर्वसाधारणको छ । डोजरले खनेका सडकमा नियम अनुसार सवारीसाधन नचल्दा गाडी रिजर्भ गर्नुपर्ने बाध्यता रहेको रति बोहराले बताउनुभयो । 

गोरखापत्र


प्रतिक्रिया दिनुहोस !