२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

मतदातालाई फकाउँदै सुहाङसहित उम्मेदवार



चुलाचुलीमा भोट माग्दै पुगेका एमाले उम्मेदवार सुहाङ नेम्वाङ । तस्विरः कोकिला ढकाल

आइतबार हाट भर्न इलाम आइपुग्नुभएकी फाकफोकथुम –६ एकतप्पाकी ७३ वर्षीया कृष्णमाया मगरलाई यस पटक सुहाङ नेम्वाङ भेट्ने रहर थियो । ‘भोट त पहिलादेखि नै सूर्यमा हालेको, सुवासले त गाउँमा धेरै काम गरे । सरकारले वृद्धभत्ता दियो । अहिलेसम्म खान पाइएको छ’ मगरले भन्नुभयो, ‘अहिले छोरा आएको सुनेको थिएँ, आज भेट्न पाइयो ।’

२०५६ यताका हरेक निर्वाचनमा संविधानसभा अध्यक्ष सुबास नेम्वाङ निर्वाचित इलाम–२ का लागि कतिपयले सुवासको विजयलाई इलाम–२ को उज्यालो भविष्यका रुपमा लिनेगरेका छन् । ‘कतिले सुबासले काम गरेन पनि भन्छन् । कहिले गाडीको मुख नदेखेका हामी गरिबहरु अहिले गाडी चढ्न पाएका छौं । बत्ती बाल्न पाएका छौं, फोनमा बोल्न पाएका छौं’ मगरले भन्नुभयो, ‘हामीले भोट दिएको प्रतिनिधि सक्षम थिएन भने त्यो विकास कहाँबाट आउँथ्यो ?’ 

अहिले एमाले उम्मेदवार सुवासका छोरा सुहाङ पनि इलाम–२ को गाउँमा भोट माग्न व्यस्त हुनुहुन्छ । सुहाङलाई देख्नेबित्तिकै आँसु खसाउने बुढापाका पनि इलाम– २ मा उत्तिकै छन् । हरेक गाउँ, टोल र घर–घरमा पुग्दा आँखा टिलपिल बनाउने जनताका अगाडि बाबुको वियोग लुकाउन सुहाङलाई पनि मुस्किल पर्नेगरेको छ । 

‘सुहाङलाई देख्नसाथ आँसु खसाउने वृद्धवृद्धा निकै हुनुहुन्छ’ सुहाङसँगै घरदैलोमा व्यस्त रहनुभएका एमाले जिल्ला उपसचिव रविन्द्र सुवेदीले भन्नुभयो, ‘यहाँका जनताको भाव देख्दा इलाम –२ मा स्वर्गीय सुवास नेम्वाङको अभाव खड्किएको महशुस हुन्छ ।’ सुवेदीले भन्नुभयो, ‘अहिले सुहाङप्रतिको ‘क्रेज’ युवादेखि वृद्धवृद्धामा निकै छ । सुहाङ भेट्न भ्याइएन भने भिडियो कल गरेर भए पनि गफ गर्ने, आफ्ना कुरा सुनाउने गरेका छन् ।’ 

यता इलाम– २ का लागि अर्का नयाँ उम्मेद्वार राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू पनि अहिले मतदाता भेट्न व्यस्त हुनुहुन्छ । विभिन्न स्थानमा पुगेर आफ्नै ढङ्गले भोट माग्दै हिंडेको भेटिने लिम्बूलाई पनि इलाम– २ का जनताले भेट गर्ने, आफ्ना कुरा सुनाउने, शुभकामना दिने गरिरहेको देखिन्छ । 

लामो समयसम्म उम्मेदवार छनौटमै अल्झिएको नेपाली कांग्रेसले भने आफ्ना पुरानै उम्मेदवार डम्बरबहादुर खड्काको मनोनयन दर्तापछि चुनावी अभियानमा जुटेको छ । कांग्रेसले इलाम –२ का आज देउमाइ नगरपालिकाको मङ्गलबारेमा चुनावी कार्यक्रम गरेको छ । वडा र टोल–टोलमा चुनावी भेटघाट र घरदैलो अभियान थालेको कांग्रेस इलामका कार्यवाहक अध्यक्ष खगेन्द्र देवानले बताउनुभयो । कांग्रेसले इलाम –२ को निर्वाचनका लागि संयोजक तोकेका महामन्त्री विश्वप्रकाश शर्मा इलाम आइपुग्ने अध्यक्ष देवानले जानकारी दिनुभयो ।   

लिम्बूवान किराँत नामलाई स्थापित गराउने मुद्दामा अघि सरेका पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह थेगिम पनि भोट माग्दै अहिले गाउँमै हुनुहुन्छ । थेगिमलाई जिताउन जसपा, राष्ट्रिय जनमुक्ति, नागरिक उन्मुक्ति र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लागिपरेका छन् । 

इलाम –२ का लागि नयाँ उम्मेदवार दिएको नेकपा एकिकृत समाजवादीका उम्मेदवार जीतबहादुर राई पनि अहिले सदरमुकामदेखि गाउँ केन्द्रित रहनुभएको छ । 

यसैगरी चुनावी मैदानमा रहेका स्वतन्त्र उम्मेदवार भने आफ्नो मनोनयन दर्ता गरे पनि चुनाव चिन्ह नहुँदा अलमलमै परिरहेका छन् । इलाम –२ का लागि प्रायः सबै स्वतन्त्र उम्मेदवार नयाँ अनुहार भए पनि कसरी चुनाव प्रसारमा लाग्ने भन्ने अलमल छ । ‘म त अहिले घरमै छु, भोलि चुनाव चिन्ह पाए पछिमात्र चुनाव प्रचारका लागि निस्कने तयारीमा छु ।’ स्वतन्त्र उम्मेदवारी दिनुभएका डाकप्रसाद गौतमले भन्नुभयो । इलाम –२ का लागि १२ वटा दल र आठजना स्वतन्त्र गरी २० जना उम्मेदवार चुनावी मैदानमा छन् । 

Source : Gorakapatra Online


प्रतिक्रिया दिनुहोस !