२२ बैशाख २०८१, शनिबार
 |   Sat May 4 2024
Logo

३८ वर्षमा १ सय ९ गैंडा स्थानान्तरण



चितवन राष्ट्रिय निकुञ्ज विश्वमै दुर्लभ एकसिङ्गे गैंडाको बासस्थानका लागि उर्वर क्षेत्रका रुपमा रहेको छ । कूल ९५२.६३ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस निकुञ्जमा हाल ६ सय ९४ वटा गैंडा छन् ।

संख्या बढाउने उद्देश्यले सन् १९८६ देखि २०२३ सम्म चितवन निकुञ्जबाट बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा र कोशीटप्पु वन्यजन्तु आरक्षमा गरी १ सय २ वटा गैंडा स्थानान्तरण गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । 

थप सात गैंडाको यही चैतमा चितवन निकुञ्ज भित्रै आन्तरिक स्थानान्तरण एवं कोशीटप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिएको विभागका सूचना अधिकारी एवं वरिष्ठ इकोलोजिष्ट श्यामकुमार शाहले जानकारी दिए । उनका अनुसार सोही अवधिमा विभिन्न देशलाई २६ गैंडा उपहारस्वरुप प्रदान गरिएको छ । 

नेपालले पहिलो पटक सन् १९८५ मा भारतको दुदुवा नेशनल पार्कलाई ४ गैंडा प्रदान गरेको विभागले जनाएको छ । त्यसपछि सन् २०१८ सम्ममा अमेरिका, जर्मनी, सिङ्गापुर, बङ्गलादेश, बेलायत, जापान, अष्ट्रिया र चीनलाई विभिन्न मितिमा २२ गैंडा प्रदान गरिसकेको विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

आन्तरिक स्थानान्तरणको सम्भाव्यता अध्ययनअनुसार चितवन निकुञ्जको पश्चिमी क्षेत्रमा गैंडाको घनत्व बढी भई यसको वृद्धि दरमा ह्रास आएको पाइएपछि पछिल्लो समय आन्तरिक एवं कोशीटप्पुमा स्थानान्तरण गरिएको निकुञ्ज कार्यालयले जनाएको छ ।

उक्त अध्ययनका आधारमा वन तथा वातावरण मन्त्रालय (सचिवस्तर) को गत माघ २४ गतेको निर्णयानुसार निकुञ्जको पश्चिम क्षेत्रबाट पूर्वी क्षेत्रमा ६ वटा गैंडा स्थानान्तरण भएको छ । स्थानान्तरण कार्य यही चैत २ गतेदेखि प्रारम्भ गरिएको थियो । यस स्थानान्तरणबाट गैंडाको संख्या वृद्धि दर बढ्नुका साथै उपलब्ध बासस्थानको उच्चतम् प्रयोगमा आउने अपेक्षा राखिएको विभागका इकोलोजिष्ट शाहले बताए । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सम्भाव्यता अध्ययनपश्चात् कोसीटप्पुमा ‘राइनो सेञ्चुरी’को विकास गर्ने लक्ष्य लिएको छ । उक्त लक्ष्यअनुसार मन्त्रालय (मन्त्रीस्तर) को गत असोज ८ गतेको निर्णयानुसार चितवन राष्ट्रिय निकुञ्जबाट कोसीटप्पुमा २ वटा पोथी गैंडा (पुष्पा र अञ्जली)लाई गत असोज १० गते विश्वपर्यटन दिवसका अवसरमा स्थानान्तरण गरिएको थियो ।

हालैमात्र थप एक भाले गैंडा कोसीटप्पु आरक्षमा स्थानान्तरण गरिए पनि चोट लागेर घाउ भएपछि केही दिनमै उपचारका लागि पुनःचितवनमा फिर्ता ल्याइएको छ । चितवनको कसरामा रहेको उक्त गैंडा उपचारपछि पुनःकोसीटप्पुमा लगिने शाहले जानकारी दिए । 

कोसीटप्पु आरक्षमा ‘राइनो सेञ्चुरी’को विकास क्रमसँगै गैंडाको प्रजनन भई दीगो संरक्षण एवं व्यवस्थापन हुने अपेक्षा गरिएको उनको भनाइ छ । सो क्षेत्रमा ‘राइनो सेञ्चुरी’का लागि आवश्यक पूर्वाधार बनाउँदै जाने र आगामी वर्षमा थप संरचना बनाउने उनले बताए । 

विश्वमा एकसिङ्गे गैंडाको संख्या ४ हजार

भारतीय महाद्वीपको उत्तरी क्षेत्रअन्तर्गत बह्मपुत्र, इन्दुस र गङ्गा नदीको बहाव क्षेत्रमा विचरण गर्ने एकसिङ्गे गैंडा हाल नेपालको तराई भूपरिधि क्षेत्र तथा भारतको संरक्षित क्षेत्रमा सीमित हुन पुगेका छन् । विश्वमा करिब ४ हजारको संख्यामा रहेका एकसिङ्गे गैंडा नेपालमा सन् २०२२ को राष्ट्रिय गैंडा गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ९४, बर्दियामा ३८, शुक्लाफाँटामा १७ र पर्सा राष्ट्रिय निकुञ्जमा ३ गरी ७ सय ५२ वटा रहेका विभागले जनाएको छ ।

यो प्रजाति आयुसिएनको संवेदनशील वर्गमा, साइटिसको अनुसूची १ मा र नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को अनुसूची १ (संरक्षित वन्यजन्तु) मा पर्दछ । गैंडाको खागका लागि हुने चोरी, सिकार, बासस्थानको विनाश एवं ह्रास र जलवायु परिवर्तनको प्रभाव यसको संरक्षणका लागि मुख्य चुनौती देखिएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले बताए । 

उनका अनुसार आर्थिक वर्ष २०७९/८० मा मात्र विभिन्न कारणले २६ गैंडाको मृत्यु भएको थियो । सोमध्ये प्राकृतिक कारणले २२, चोरी, सिकार र करेन्ट लागेर दुई/दुई गैंडाको मृत्यु भएको उनले जानकारी दिए ।  

चालु आवको यही चैत २१ गतेसम्म १९ वटा गैंडाको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । तीमध्ये प्राकृतिक (उमेर पुगेर, बिरामी भएर, बाघको आक्रमणबाट) कारणबाट १५, चोरी, सिकारबाट ३ र अन्य कारणबाट एक गैंडाको मृत्यु भएको थियो ।  

विश्वसम्पदा सूचीमा सूचीकृत यस निकुञ्जमा एकसिङ्गे गैंडाका साथै पाटेबाघ, गौरीगाई, जङ्गली हात्ती तथा घडियाल गोहीलगायत दुर्लभ वन्यजन्तु पाइन्छन् । जैविक विविधताको धनी यो निकुञ्ज चितवन, पर्सा, मकवानपुर र नवलपरासी (बर्दघाट सुस्तापूर्व) गरी ४ जिल्लामा फैलिएको छ । दुर्लभ एकसिङ्गे गैंडा तथा पाटेबाघको मुख्य बासस्थानका रुपमा रहेको यो नेपालको पहिलो निकुञ्ज हो । यस निकुञ्जको स्थापना विसं २०३० असोज ४ गते भएको थियो ।


प्रतिक्रिया दिनुहोस !