२२ बैशाख २०८१, शनिबार
 |   Sat May 4 2024
Logo

सत्ता गठबन्धनमा बबण्डर, माधवको काठमाडौंमा ओली प्रचण्डसँग र सुदूरपश्चिममा कांग्रेससँग गठबन्धन



काठमाडौं । केन्द्रमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको एकीकृत समाजवादी पार्टीले सुदूरपश्चिममा भने एमाले र माओवादीलाई चकित पार्दै कांग्रेससँग गठबन्धन गरेको छ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का दुई सांसद लक्ष्मणकिशोर चौधरी र कैलास चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पक्षका कैलाशलाई नेकपा एमाले र माओवादी केन्द्रका साथै एकजना स्वतन्त्र सांसदको समर्थन छ भने संरक्षक रेशम चौधरी पक्षधरका लक्ष्मणकिशोरलाई नेपाली कांग्रेससँगै एकीकृत समाजवादीको समर्थन गरेको छ ।

एउटै पार्टीको दुई सांसदको दाबी परेपछि प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री भने नियुक्त गरेका छैनन् । उनले कानुनी परामर्श गर्ने र आवश्यक परे दुबै पक्षले बहुमत सांसदलाई भौतिक रुपमा उपस्थित गराएर सनाखत गराउनुपर्ने बताएका छन् । सनाखत गराएमा कैलाश वा लक्ष्मणकिशोर जसको पक्षमा बहुमत पुग्छ, उही सुदूरपश्चिमको मुख्यमन्त्री बन्न सक्छन् ।

५३ सदस्यीय प्रदेशसभामा बझाङबाट निर्वाचित पृथ्वी सिंहको निधन भएकाले हाल ५२ जना कायम छन् । उनीहरु सबै एक ठाउँमा उभिए बहुमत (२७) मत पुग्नेछ । तर दलको नेता घनश्याम चौधरीलाई निलम्बन गर्ने र कैलाशलाई जिम्मेवारी दिने रञ्जिताको पत्र सभामुखसँग छ । सभामुख भीमबहादुर भण्डारीले त्यसलाई सदर गरेमा कैलाशको पल्लाभारी हुने सम्भावना बढी हुनेछ । सुदूरपश्चिममा लक्ष्मणकिशोर वा कैलाश जो मुख्यमन्त्री भएपनि सरकार नाउपाकै नेतृत्वमा बन्ने छ ।

तर आइतबार सुदूरपश्चिममा भएको घटनाले काठमाडौंको सत्ता गठबन्धनमा गम्भीर संकट आउने देखिएको छ । एकीकृत समाजवादी सुदूरपश्चिममा कांग्रेसतिर ढल्किएको छ । बालुवाटारको सत्तारुढ दलहरुको बैठकमा ओली र प्रचण्डले सुदूरपश्चिममा मुख्यमन्त्री नाउपालाई दिनुपर्ने अवस्था आएको बताएपछि माधवले सुदूरपश्चिमको मुख्यमन्त्री आफूहरुले पाउने सहमति भएको भन्दै बैठकस्थलबाट बाहिरिएका थिए ।

माधव नेपाल बालुवाटारबाट बाहिरिएको केहीबेरमा सुदूरपश्चिममा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले नाउपाका लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीका लागि पेश गरेको दाबीमा हस्ताक्षर गर्न पुगे । आइतबार कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह र लक्ष्मणकिशोर चौधरी मुख्यमन्त्री निवासमा पुगिसकेका थिए । एकीकृत समाजवादीका नेताहरु बालुवाटार बैठकमा के हुन्छ भनेर पर्खिरहेका थिए । बालुवाटारमा सहमति नभएको थाहा पाएलगत्तै लक्ष्मणकिशोरलाई समर्थन गरेर हस्ताक्षर गरेका थिए । योसँगै एकीकृत सत्तागठबन्धनमा रडाको मच्चिएको छ । विश्वासको मत पाएसँगै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली सल्लाह गरेर निर्णय लिने र आफूहरुलाई साक्षी मात्र बनाउने गरेको एकीकृत समाजवादीका नेताहरुको गुनासो छ । राष्ट्रियसभा उपाध्यक्ष चयन गर्दा होस् वा सुदूरपश्चिमको मुख्यमन्त्री होस्, सबैमा दुई नेताले त्यही गरेको उनीहरु बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !