१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

रौतहटमा बढ्यो काठ चोरी-तस्करी



एल्जन पहाडी

रौतहट,४ बैशाख । डिभिजन वन कार्यालयका कर्मचारीको हेलचेक्राइका कारण रौतहटको वनमा पछिल्लो समय व्यापक रुपमा बहुमुल्य जातका हरिया सालका रुख काटिने क्रम बढदै जान थालेको छ । 

वन कर्मचारीले नियमित रुपमा गस्ति नगर्नु र कर्मचारीनै काठ तस्करसंग मिल्नुले रौतहटको राष्ट्रिय तथा साझेदारी वनमा चोरी तस्करी बढेको स्थानीय बासिन्दाले बताएकाछन् । डिभिजन वन कार्यालय रौतहट मातहतका सब वन डिभिजन कार्यालयमा कार्यरत रहनुपर्ने वन कर्मचारी गस्ती गर्न छाडेर  घर जान थालेपछि रौतहटको बलेरी वनबाट सर्लाही र रौतहटकै काठ तस्कर समुहले दिउसो रुख काटने र रातीको समयमा लाने गरेको स्थानीय बासिन्दाले बताएकाछन् । 

डिभिजन वन कार्यालय रौतहटमा कार्यरत रहेका करिव २ सय वन कर्मचारीमा ९० प्रतिशत वन कर्मचारी रौतहटकै भएका कारण समेत वनमा चोरी तस्करी बढेको सन्तपुरका स्थानीय बासिन्दा बिनोद चौधरीको भनाइ रहेको छ । पछिल्लो समय आएर रौतहटको वनमा कार्यालय प्रमुख देखी कार्यलय सहयोगी सम्म रौतहटकै स्थानीय छन् । रौतहट जिल्लामा धेरै काठ चोरी हुने बृन्दावन सब वन डिभिजन कार्यालय मातहतको जंगल क्षेत्र हो । सो भेगको जंगलबाट वन कर्मचारीकै मिलेमतोमा सर्लाही र रौतहटका काठ चोर तस्कर समुहले बहुमुल्य जातका सखुवाका काठ काटेर लाने गरेकाछन् । 

नयाँ बर्षको दिन पिकनिक मनाउने नाउँमा बलेरी क्षेत्रको जङ्गलबाट ठूलो मात्रामा काठ कटान भएको सुचना स्थानीयले वन कर्मचारीलाई दिएका थिए । लगत्तै वनले सो काठ बरामद गरेको थियो । डिभिजन वन कार्यालय रौतहटका प्रमुखदेखि सब डिभिजन वन कार्यालयका वन कर्मचारीसम्मको मिलोमतोमा काठ चोर समुहले ल्याएको सो काठ स्थानीयको दवावका कारण नामको लागि मात्रै बरामद गरेको जस्तो गरेर काठ पुन चोर समुहकै जिम्मामा छाडेको स्थानीय हरिन्द्र कुमार पटेलले बताए । 

गत वैशाख १ गते पिकनिक मनाउन गएका समूहहरूले ट्रेक्टरमा तीनवटा सालको गोलिया ल्याइएको थियो । सो समूहले वनबाट काटेर ल्याएको साल जातको ७८ इन्च मोटाई ७ फिट लम्बाइ भएका एक थान, ७७ इन्च मोटाई ७ फिटका एक थान र ७३ इन्च मुटाई ७ फिटका एक थान गरि तीन थान सखुवाको काठ बरामद भएको थियो । स्थानीयको सुचनामा बरामद भएको काठ बलेरी गाउँका पूर्व वडाध्यक्ष, वर्तमान वडा सदस्य भद्र भलादमी लगायतको जिम्मामा काठ बरामद भएकै स्थानमा छोडिएको सो सव डिभिजन कार्यालयका प्रमुख सहायक वन अधिकृत अनिल कुमार महतोले बताए । स्थानीयका अनुसार एक प्रकारले भन्ने हो भने सो काठ वनले बरामद गरेर काठ चोरी तस्करीमै संलग्नलाई जिम्मा लगाएको छ । 

काठ बरामद गरेपनि बरामद काठ लान नसक्नु वन कार्यालयको कमजोरी रहेको स्थानीय बासिन्दाको भनाइ रहेको छ । बरामद भएको सो काठ पुनः जङ्गलबाट ल्याउने समूहलाई दिने तयारी भएको स्थानीयको भनाइ रहेको छ । वनले काठ बरामद गरेर काठ जङ्गलबाट ल्याएकै समूहलाई दिन प्रलोभनमा परेर दिन खोजेको एकजना स्थानीयले नाम नबताउने शर्तमा जानकारी दिएकाछन । स्थानीयका अनुसार महतोकै मिलेमतोमा सो जंगलबाट काठ चोरी तस्करी हुने गरेको छ ।  पछिल्लो केही समय यता आएर रौतहटको बलेरी वनमा व्यापक रुपमा काचा सालका रुखको चोरी तस्करी बढेको छ । काठ चोरी तस्करीसंगै रौतहटको बलेरी वन क्षेत्रको बागमती बगर समेत स्थानीय अतिक्रमण गरेकाछन् । प्रयाप्त मात्रामा कर्मचारी नभएका कारण नियमित रुपमा गस्ति नहुँदा छिटपुट रुपमा काँचा सालका रुख काटिएको डिभिजन वन कार्यालय रौतहटका सुचना अधिकृत बिमल ठाकुरको भनाइ रहेको छ । 

यता रौतहटको गैडाटार सब वन डिभिजन कार्यालयमा कार्यरत कर्मचारीकै मिलेमतोमा काठ चोर समुहले रातीको समयमा काँचा सालका फ्यान्टा र कडि बनाएर चन्द्रनिगाहपुर बजारमा ल्याएर बिक्रि गर्ने गरेको स्थानीयको भनाइ रहेको छ । डिभिजन वन कार्यालय रौतहटमा रहेका स्थानीय कर्मचारीकै कारण वनमा व्यापक रुपमा चोरी तस्करी बढेको स्थानीय बासिन्दा भरत आचार्यको भनाइ रहेको छ । स्थानीयका अनुसार डिभिजन वन कार्यालय रौतहटमा प्रमुखका रुपमा शैलेन्द्र कुमार मिश्र आएदेखीनै रौतहटको वनमा हानिनोक्सानी बढेको हो । मिश्र रौतहटकै स्थानीय बासिन्दा हुन । स्थानीय कर्मचारीको काठ चोर तस्कर समुहसंग साँठगाँठ हुने र उनीहरुले गस्त कतिबेला कता जान्छ भन्ने कुराको जानकारी उनीहरुलाई दिने गरेका कारण चोरी तस्करी मौलाएको हो । 


प्रतिक्रिया दिनुहोस !