२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

इलाममा एमाले र कांग्रेसको विरासत भत्किने खतरा : छैन घण्टीको खास प्रभाव, थेगिमको जित्ने संभावना उच्च



इलाम । रिक्त रहेको इलाम २ को लागि प्रमुख राजनीतिक दलका नेताहरुको इलाममा घुँइचो लागेको छ । इलाम– २ मा संविधानसभा अध्यक्ष समेत रहेका सुवास नेम्वाङको २०७९ भदौ २६ गते निधन भएपश्चात् उपनिर्वाचन हुन लागेको छ । जहाँ यही बैशाख १५ गते उपनिर्वाचन हुँदैछ । उपनिर्वाचन आउन ५ दिन पनि बाँकी नरहँदा उमेदवारलाई मत माग्न भ्याइ नभ्याइ छ । इलाम वाम किल्लाका रुपमा स्थापित छ । दुवै क्षेत्रमा विशेषगरेर एमालेको पकड रहँदै आएको थियो ।

यो क्षेत्रबाट सुवास नेम्वाङले कहिल्यै चुनाव हारेनन् । झिनो मतान्तरले भए पनि कांग्रेस दोस्रो स्थानबाट माथि उठेन । यो उपनिर्वाचनमा सत्ता समीकरणको प्रभाव परेको छैन । तर, सम्बन्ध कतै छ भने दलको प्रतिष्ठासँग जोडिएको छ । संसदीय राजनीतिको पुरानो दल नेपाली कांग्रेसलाई वाम किल्ला भत्काउने महत्वाकांक्षाका साथ अघि बढेको छ । गएको निर्वाचनमा एमालेले ११४ मतको झिनो अन्तरले मात्र कांग्रेसलाई हराएको थियो ।

तर स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले भने एमाले र कांग्रेसका उम्मेदवारको सातो लिएका छन् । थेगिम जातीय सांस्कृतिक पहिचान स्थापित गरिनुपर्छ भन्दै एजेन्डा बनाएरै चुनावी मैदानमा छन् । कोसी प्रदेशको नाम परिवर्तन गरिछाड्ने अडान उनको छ । उनको आमसभामै चुनावी नारा लागेको थियो, ‘कोसी प्रदेश खारेज गर ।’ विगतमा सस्र्य चुनाव चिन्हमा मतदान गर्दै आएका उमेरले ३३ वर्ष पुगेका मंगलसिंह लिम्बु माइनगरपालिका वडा नम्बर ६ मा भेटिए । उनलाई पहिचानको सवालले छपक्कै छोएको छ । निर्वाचन क्षेत्रभित्र पर्ने माई नगरपालिकाको वडा नम्बर ६, ७ र ८ बाट ७५ प्रतिशत युवाले मत हाल्ने सर्वेक्षण उनले दाबी नै गरे । त्यस्तै आफूले मत हाल्दै आएको पार्टीले के भन्छ र कस्तो होला भन्ने वास्ता नभएको समेत बताए । त्यस्तै ७४ वर्षीय शुक्रराज लिम्बुले भने, ‘म एमालेको भूमिगत कार्यकर्ता हुँ । “म पनि यसै भन्न सक्दिनँ । यसपालि मत हाल्ने बेलामा सोच्ने अवस्थामा पुगेको छु ।”

एमालेलाई पनि वाम विरासत जोगाउने चिन्ता छ । एमालेले सुवास पुत्र सुहाङलाई उमेदवार बनाएपछि उनलाई बुबा सुवास र वाम मतको सुरक्षाको जिम्मा छ । सुशासनको ग्यारेन्टीसहित राजनीतिमा आएको दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि मिसन–८४ को चुनौती छ । पहिचान पक्षधर उमेदवार थेगिम नै हुन् । देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएसँगै कोसी प्रदेशमा लिम्बुवान आन्दोलन चर्किएको थियो । संघीय संरचनामा लिम्बुवान प्रदेश बनाउन अभियान चले ।

तर, समय अघि बढ्दै जाँदा आन्दोलन जुन रापमा अघि बढ्यो त्यही रापले सकियो पनि । नेताहरूले आन्तरिक कलह व्यवस्थापन गर्न नसक्दा अभियान चोइटिँदै गयो । त्यो आन्दोलनको राप–ताप कमजोर छ । लामो समय लिम्बुवान आन्दोलनमा बिताएकाहरूले सोमबार माङ्सेवुङको लारूम्वाकै एक होटलमा संवाद गर्दै थिए । आफ्नो परिचय नखुलाए पनि एक नेताले आफ्नो सम्पूर्ण जीवन लिम्बुवान र पहिचानको आन्दोलनमा बिताएको दाबी गर्दै थिए । चुनाव जित्न सके ०८४ को निर्वाचनमा प्रदेश र प्रतिनिधिसभामा सम्मानजनक उपस्थिति आफूहरूको हुन सक्ने विश्लेषण उनले सुनाए । मतदाता मंगलसिंह लिम्बुलाई पनि यो निर्वाचन पहिचानको परीक्षा हो भन्ने लागेको छ । विगतमा उनी र उनको परिवारको मत वामपन्थी दलमै जाने गरेको उनले बताए । घरमा ५ भोट र सिङ्गो परिवारमा ४०–४५ भोट रहेको बताउने लिम्बु कांग्रेसबाहेक पहिचान वा एमालेलाई मत जाने बताउँछन् ।

यता, ७४ वर्षीय रामप्रसाद भारतीले भने मुढाले भोट काट्ने निश्चित भएपश्चात् कसले चुनाव जित्न सक्छ भन्ने आकलन गर्नै नसकिने परिस्थिति निर्माण भइरहेको उल्लेख गरे । ४१ वटा पहिचानवादी समूहहरूले थेगिमलाई सहयोग गरेका छन् । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादव, प्रगतिशील धारका लेखक तथा विश्लेषकहरू उनको पक्षमा उभिएका छन् । थेगिमलाई किरात धर्मगुरूको पनि सहयोग रहेको दाबी स्थानीय बासिन्दाको छ । लामो समय वाम राजनीतिमा संलग्न थेगिम शिक्षण पेशासहित किरात धर्मगुरुको सेवक पनि हुन् ।


प्रतिक्रिया दिनुहोस !