५ जेष्ठ २०८१, शनिबार
 |   Sat May 18 2024
Logo

जसपा फुटेपछि प्रचण्ड सरकार ढाल्ने कांग्रेसको सपना चकनाचुर



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको सरकार भत्काउनका लागि प्रमुख पतिपक्षी नेपाली कांग्रेसले चालेको राजनीतिक स्टेप उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीको विभाजन भएसँगै असफल भएको छ । जसपाको विभाजन भएसँगै दुईवटा बिकल्पमा राजनीतिक स्टेप चालेको कांग्रेसका लागि अब सत्तामा जान एमालेको फराकिलो मुटुको साईज मात्र बाँकी रहेको छ । अब एमालेको सहयोग बिना कांग्रेस सरकारमा फर्कन नसक्ने स्थिति पैदा भएको छ । फागुन २१ गते प्रचण्डले गठबन्धन तोडेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालदेखि रवि लामिछानेसम्मलाई प्रधानमन्त्रीको अफर गरेको कांग्रेसले पछिलले समय वैकल्पिक गठबन्धनको कसरत चलाएको थियो । जस अनुसार माधवलाई प्रधानमन्त्री बनाउने र जसपालाई शक्तिशाली मन्त्रालय दिई एमाले र माओवादीको गठबन्धन भत्काउने योजना बुनिएको थियो ।

कांग्रेसको ८८, राप्रपाको १४, जसपाको १२, एकीकृत समाजवादीको १०, जनमतको ६, नागरिक उन्मुक्ति र लोसपाका ४/४ जोड्दा १३८ सांसद पुग्थ्यो । यो सरकार गठनको लागि आवश्यक संख्या हो । यो गठबन्धन बनाउन सके राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीसहित केही स्वतन्त्र सांसदलाई पनि तान्न सकिने कांग्रेसको हिसाब थियो तर जसपाका अध्यक्ष उपेन्द्र यादव अमेरिकामा रहेको बेला जसपा नै फुटाईदिएर ओली र प्रचण्डले कांग्रेसको सरकारमा फर्किने प्रयास असफल पारि दिएका छन् ।

जसपाको विभाजन भएसँगै अब उपेन्द्र यादवसँग ५ जना सांसद मात्रै बाँकी रहेका छन् । अब उपेन्द्र सरकारबाट बाहिरिए पनि कांग्रेसले हिसाब गरेको संसदीय अंकगणितमा सात सिट घेटेको छ अर्थात् कांग्रेसले माधवलाई साथमा लिएर गठबन्धन बनाए पनि अब संभावित संसदीय अंकगणितको हिसाब १३१ मात्रै हुनेछ । तसर्थ अब कांग्रेसले बनाउन खोजेको सरकार गठनका लागि आवश्यक अंकगणित ओली र प्रचण्डको योजनामा ध्वस्त पारिएको राजनीतिक बृतमा चर्चा चलेको छ । योसँगै प्रचण्डको सरकार ढाल्ने कांग्रेसको सपना चकनाचुर भएको छ । नेकपा एस अहिलेको गठबन्धनबाट बाहिरियो भने उपेन्द्र यादव नेतृत्वको जसपा पनि आउने कांग्रेसका दोस्रो तहका नेताहरुले बताउँदै आएका थिए ।


प्रतिक्रिया दिनुहोस !