६ जेष्ठ २०८१, आईतवार
 |   Sun May 19 2024
Logo

मारुनी नाच्दै, शिक्षक पाल्दै



धवलागिरि गाउँपालिका–५ को दुर्गम बस्ती मलम्पारका स्थानीयले पुख्र्यौली नृत्य गरेर संस्कृति मात्र जोगाएका छैनन् सामुदायिक विद्यालयका शिक्षकको तलबसमेत जुटाइरहेका छन् । गाउँमा विवाह, छेवर र धार्मिक कार्यमा छन्त्याल समुदायको पुख्र्यौली नाच मारुनी नाचेर रकम सङ्कलन गरिँदै आएको छ । 

छन्त्याल समुदायले मारुनी नाचको संरक्षणका लागि समूह गठन गरेका छन् ।  गाउँमा विवाह व्रतबन्ध, छेवर, पुर्पुरोलगायत सांस्कृतिक तथा धार्मिक कार्यमा डाकीबोलावट भएपछि छन्त्याल कलाकार तयार हुन्छन् । मौलिक पोसाकमा चिटिक्क सजिएर कम्मरमा मादल भिरेर सोरठी गाउन पुग्छन् । 

मलम्परावासीले पुख्र्यौली नाचेर महेन्द्र आधारभूत विद्यालय सञ्चालन गर्न २२ वर्षदेखि रकमको जोह गर्दै आएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर छन्त्यालका अनुसार छन्त्याल समुदायमा जेठा छोराको हर्षबढाइँ गर्न पुर्पुरो, विवाह, छेवर, व्रतबन्धलगायतका धार्मिक कार्यमा पुख्र्यौली नाच्ने प्रचलन छ । कक्षा ८ सम्म सञ्चालित उक्त विद्यालयमा तीन जना शिक्षकको तलब भत्ता र अन्य खर्च चलाउन नाचेर रकम सङ्कलन गर्ने गरिएको छ । शिक्षक र कर्मचारी गरेर विद्यालयमा नौ जना कार्यरत छन् । 

उहाँले भन्नुभयो, “हामीलाई विद्यालय चलाउन धेरै नै दुःख छ । कक्षा ५ सम्म सरकारी दरबन्दीका शिक्षक छन् । त्यसभन्दामाथि कक्षा ८ सम्म हामीले गाउँमा विभिन्न सांस्कृतिक कार्यक्रम, विवाह, व्रतबन्ध, छेवरलगायत धार्मिक कार्यमा पुख्र्यौली नृत्य मारुनी नाचेर रकम सङ्कलन गर्दै आएका छौँ ।” उहाँका अनुसार पुख्र्यौली नाचेर वार्षिक चारदेखि छ लाख रुपियाँसम्म सङ्कलन हुने गरेको छ । विद्यालय चलाउने हाम्रो अन्य आयस्रोत छैन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छन्त्यालका अनुसार गाउँदेखि टाढा रहेको मल्कवाङको विद्यालयमा मलम्पारका बालबालिका जान सक्दैनन् । त्यसैले दुःख गरेरै विद्यालयमा कार्यरत तीन जना शिक्षकलाई मासिक पारिश्रमिकको जोहो गर्न पुख्र्यौली नाचेर रकम सङ्कलन गरिँदै आएको हो ।

पुख्र्यौली नाचेबापत परिवारले समूहलाई क्षमता अनुसार केही रकम दिने गर्छन् । दिनभर सोरठी भाकामा नाच देखाएपछि पुख्र्यौली समूहले आयोजक घरपरिवारबाट सम्मान र दान ग्रहणपछि परिवारलाई एकै ठाउँमा राखेर गीतको भाका, नाचको रौनक र फूलपाती दिएर आशिष् दिने प्रचलन छ ।  

©️गोरखापत्र अनलाइन


प्रतिक्रिया दिनुहोस !