६ जेष्ठ २०८१, आईतवार
 |   Sun May 19 2024
Logo

कतार र इजिप्टको युद्धबिराम प्रस्ताव हमासद्वारा स्वीकार, रफाहका बासिन्दाले मनाए खुसियाली



एजेन्सी । हमास लडाकु समूहले इजरायलसँगको सात महिना लामो युद्ध रोक्न इजिप्ट र कतारको युद्धबिराम प्रस्तावलाई स्वीकार गरेको बताएको छ। हमासले सोमबार एक विज्ञप्ति जारी गर्दै यसका सर्वोच्च नेता इस्माइल हनियाहले कतारका प्रधानमन्त्री र इजिप्टका गुप्तचर मन्त्रीसँग टेलिफोन वार्तामा यो खबर दिएको बताइएको छ।

दुई मध्यपूर्वी राष्ट्र कतार र इजिप्टले इजरायल र हमासबीच महिनौँदेखिको वार्ताको मध्यस्थता गर्दै आएका छन्। हमासको यस वक्तव्यलाई लिएर इजरायलबाट तत्काल कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन। इजरायलले सैन्य कारबाहीअघि प्यालेस्टाइनीहरूलाई दक्षिणी गाजा सहर रफाह खाली गर्न आदेश दिएपछि हमासको यो घोषणा आएको हो। इजरायलले रफाह हमासको अन्तिम गढ भएको दाबी गरेको छ।

हमासको घोषणाबाट रफाहका बासिन्दा खुसियाली मनाइरहेका छन्। हमासको प्रस्तावको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। तर केही दिनयता इजिप्ट र हमास नेताहरूले भनेका छन् कि युद्धबिराम धेरै चरणमा हुनेछ, जसमा हमासले गाजाबाट इजरायली सेना फिर्ताको बदलामा बन्धकहरूलाई रिहा गर्नेछ।

तर यो प्रस्ताव युद्ध अन्त्य र बन्धक रिहाइको माग पूरा गर्ने चरणसम्म पुग्छ कि पुग्दैन, अहिले नै भन्न नसकिने एजेन्सीहरूले उल्लेख गरेका छन्।


प्रतिक्रिया दिनुहोस !