७ जेष्ठ २०८१, सोमबार
 |   Mon May 20 2024
Logo

मुख्यमन्त्रीमा कार्कीले आज दाबी पेश गर्दै, काम चलाउ बनेका केदार कार्की अदालत जाने तयारीमा



विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की दाबी पेश गर्दैछन् । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान गरेपछि एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्कीले दाबी पेश गर्न लागेका हुन् । उनी यसअघि दुई पटक मुख्यमन्त्री भइसकेका छन् । २४ पुस २०७९ पहिलो पटक माओवादी केन्द्र, जसपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले केन्द्रमा सत्ता समीकरण फेरिएपछि १४ असार २०८० मा राजीनामा दिए ।

सर्वोच्च अदालतको परादेशपछि २२ भदौ २०८० मा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका कार्कीले २० असोजमा राजीनामा दिए । केन्द्रमा पुनः एमाले र माओवादी केन्द्रको गठबन्धन बनेपछि कार्की तेस्रो पटक मुख्यमन्त्री बन्न लागेका हुन् । दाबी पेश गरेलगतै समर्थकको सनाखत गराएर प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । कार्कीलाई एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थन छ ।

प्रदेश प्रमुखले नयाँ सरकार आह्वान गरेपछि कामचलाउ बनेका मुख्यमन्त्री केदार कार्की भने सर्वोच्च अदालत जाने तयारीमा छन् । नेपाली कांग्रेसका ८ सांसदसहित विद्रोह गरेका केदार कार्कीलाई एमालेका ३९ सांसदले समर्थन गरेको थियो । त्यसबेला पनि प्रदेश प्रमुख खापुङले सांसदको हस्ताक्षर सनाखत गरी कार्कीलाई नियुक्ती दिएका थिए ।


प्रतिक्रिया दिनुहोस !