७ जेष्ठ २०८१, सोमबार
 |   Mon May 20 2024
Logo

सूर्यदर्शन सहकारीको पूरक अनुसन्धान भन्यो-गृहमन्त्री लामिछानेले १ करोड लिएको देखियो



पोखरा । सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलनको घटनामा गरिएको पूरक अनुसन्धानमा पनि गृहमन्त्री रवि लामिछानेको नाम जोडिएको छ । उनको नामबाट १ करोड रुपैयाँ कर्जा लिएको देखिएको हो । पूरक अनुसन्धानका क्रममा तयार गरिएको रिपोर्टमा कर्जाको आन्तरिक पत्र र जनरल भौचरको कागजात उल्लेख गरिएको छ । उक्त विवरण अनुसार १ करोड रुपैयाँ कर्जाको निवेदन लामिछानेले दिएको र उक्त रकम गोर्खा मिडिया कम्पनीमा गएको देखिन्छ । यसबारे थप अनुसन्धान आवश्यक रहेको छानबिन समितिले जनाएको छ ।

रिपोर्ट अनुसार गोर्खा मिडिया नेटवर्क प्रालिसँग सम्बन्धित तथा उक्त कम्पनीको नाममा भुक्तानी भएको कर्जा ५ करोड ५८ लाख रुपैयाँ देखिन्छ । यस्तै, नेचर नेष्टसँग प्रत्यक्ष सम्बन्धित तथा उक्त कम्पनीको नाममा १ करोड ७८ लाख, नेचर हर्वसमा २ करोड ५३ लाख, गोर्खा ग्रुप मल्टी इन्भेष्टमा १ करोड १ लाख रुपैयाँ गएको देखिन्छ ।

एमालेका नेता तथा सहकारीको सञ्चालक समिति सदस्यसमेत भइसकेका पोखराका व्यवसायी शिव बहादुर गुरुङउर्फ महेन्द्र भोटेसँग जोडिएको कर्जा १७ करोड ७ लाख ८३ हजार देखिएको छ भने कर्मचारी पेस्की खाता मार्फत २२ हजार १ सय रुपैयाँ खर्च गरेका छन् । १७ करोड ८ लाख रुपैयाँमा उनै भोटे जिम्मेवार हुनुपर्ने रिपोर्टमा उल्लेख छ ।

गण्डकी प्रदेशका पूर्व सांसदसमेत रहेका एमाले नेता राजीव पहारीको नाममा पनि कर्जा देखिएको छ । उनले १५ लाख रुपैयाँ सहकारीलाई तिर्न बाँकी देखिएको हो । हेमन्त अधिकारीसँग प्रत्यक्ष सम्बन्धित कर्जा २ करोड ३१ लाख तथा कर्मचारी पेस्की १ लाख ७० हजार गरी २ करोड ३३ लाख, नेत्रपाणी बास्तोलासँग जोडिएका २१ लाख ७५ हजार रुपैयाँ कर्जा छ । यस्तै, स्वर्ण लक्ष्मी सहकारी काठमाडौँबाट १ करोड ३ लाख पाउनुपर्ने देखाएको छ ।

उक्त अवधिमा संस्थाका ४३३ वटा कर्जा खातामा १ अर्ब ३१ करोड ५३ लाख रुपैयाँ मौज्दात देखिन्छ भने अधिकांश कर्जामा, कर्जा लगानीका लागि गरिने न्यूनतम प्रक्रिया गरिएको छैन । समितिले शङ्कास्पद तथा दुरुपयोग भएका कर्जाको विवरण नै प्रतिवेदनमा समावेश गरिदिएको छ ।

विभिन्न कार्यकालमा अध्यक्ष भएर काम गरेका व्यक्तिको कार्यकालको पूरा कारोबार प्रतिवेदनमा उल्लेख छ । ज्ञान बहादुर बम्जन अध्यक्ष रहँदा १ करोड ५४ लाख ४९ हजार प्रक्रिया नपुगी कारोबार भएको देखिएको छ । यस्तै, गितेन्द्र बाबु राईसँग प्रत्यक्ष सम्बन्धित कर्जा ११ करोड ८५ लाख ५६ हजार छ भने उनी अध्यक्ष भएको बेलामा प्रवाह गरिएका कर्जा रकम १७ करोड ४६ लाख ७४ हजार र कर्मचारी पेस्की खातामार्फत प्रयोग गरी मौज्दातमा रहेको पेस्की २७ लाख १८ हजार चलाएका छन् । राईले मौज्दात नभएको बचत खातामा ब्याज खर्च देखाइ ३८ लाख ७२ हजार प्रयोग गरेका छन् । राईको कार्यकालमा भएको २९ करोड ९८ लाख २० हजार रुपैयाँको कारोबारमा उनी नै जिम्मेवार हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

सूर्यदर्शनले कानुन विपरीत विभिन्न ठाउँका सहकारी संस्था बिच अन्तरसहकारी कारोबार गरेको देखिएको छ भने स्थिर सम्पत्ति शीर्षकमा रहेका भवन र जग्गाका नाममा खाता रहको भेटिएको छ । उक्त खाता अनुसार सम्पत्तिचाहिँ देखिएको छैन । संस्थाका नाममा कार्यालय भवन खरिद गर्न २०७८ कात्तिकमा ७ करोड २५ लाख निकासाको निर्णय गरेको छ । तर भवन खरिदको आधिकारिक कागजात संस्थासँग छैन ।

सहकारीमा १८ हजार ७ सय बचतकर्ता छन् भने ४३३ जना ऋणीसँग कारोबार भएको छ ।’ २०८० भदौ २१ गते सम्मको लेखा प्रणाली सफ्टवेयर अनुसार १८ हजार ७०० जना बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख बचत रहेको देखिन्छ ।

सहकारीको पूरक अनुसन्धान प्रतिवेदन प्रहरीलाई हस्तान्तरण गरिएको छ । पोखराका मेयर धनराज आचार्यले कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्मालाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् । झण्डै ३५ सय पृष्ठ लामो प्रतिवेदन ९ वटा किताबमा लिपिवद्ध गरिएको छ । छानबिनको समयमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी) पनि संलग्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय