१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

अलैँचीकाे मूल्य निरन्तर घटेपछि विरुवा उत्पादक किसान मारमा



चन्द्र पन्दाक
ताप्लेजुङ- ताप्लेजुङमा अलैँचीको मूल्यको असर बिरुवा (नर्सरी) उत्पादनमा पनि पर्न थालेको छ । पछिल्ला केही वर्ष यता निरन्तर गिरावट आएको अलैँचीको मूल्यको प्रत्यक्ष असर बिरुवा उत्पादन तथा बिक्री वितरणमा पर्न थालेको हो । जिल्लामा प्रमुख नगदेबालीको रुपमा अलैँची खेती गर्ने गरिन्छ । नगदेबाली अलैँची मुख्य आम्दानीको स्रोत भएपछि जिल्लामा करिब ७५ प्रतिशत बढी किसानले अलैँची खेती गर्दै आएका छन् । अलैँचीको मूल्य पनि सोचेभन्दा राम्रो आएपछि यहाँका किसानले इलाम लगायतका ठाउँबाट बिरुवा खरिद गरेर खेती बिस्तार गर्नतिर लागेका थिए । खेती बिस्तारसँगै जिल्लामा बिरुवाको माग पनि बढ्न थालेपछि पछिल्लो समय जिल्लाभित्रै अलैँची बिरुवा उत्पादन गर्न थालिएको थियो ।

जिल्ला बाहिरबाट बिरुवा ल्याएर खेती गर्नुपर्ने अवस्थाका कारणले पनि अलैँची नर्सरी (बिरुवा उत्पादन) मा समेत किसानले लगानी गर्न थालेका थिए । तर, पछिल्लो केही वर्षयता अलैँचीको मूल्य ह्वात्तै घटेपछि नर्सरी तथा बिरुवा उत्पादनमा गरिएको लगानी डुबेको किसानले बताएका छन् । पछिल्लो समय बर्सेनि अलैँचीको मूल्य घट्ने क्रमले किसानले खेती बिस्तार गर्न छोडेका हुन् ।

अलैँचीको मूल्य नपाएका कारण किसानले अलैँची खेती बिस्तार गर्न छोडेपछि बिरुवा बिक्री नभएको र बिरुवा उत्पादनमा गरिएको लगानी डुबेको लगानीकर्ताको दुखेसो छ । निरन्तर मूल्य गिरावट हुँदै गएपछि किसानले अलैँची खेती गर्न छोडेका र खेती नगर्दा बिरुवा बिक्री नभएपछि अलैँची मूल्यको असर बिरुवा उत्पादनमा प्रत्यक्ष रुपमा परेको बताइएको छ ।

सदरमुकाम फुङ्लिङमा नर्सरीमार्फत अलैँची बिरुवा उत्पादन गर्दै आउनुभएका सिरिजङ्घा गाउँपालिका वडा नं. ५ पेदाङका बिमल भण्डारीले अहिले करिव ८० प्रतिशतले बिरुवाको व्यापार घटेको बताउनुभयो । बिरुवाको माग बढ्दै गएपछि जग्गा भाडामा लिएर नर्सरीमा लगानी गर्न सुरु गर्नुभएका भण्डारीले उत्पादित बिरुवा बिक्री नभएपछि घाटा भएको जानकारी दिनुभयो । उहाँले गोलसाई, रामसाई, भर्लाङ लगायत विभिन्न जातको अलैँची बिरुवा नर्सरीमार्फत उत्पादन गरेर बिक्री गर्दै आउनुभएको थियो ।

यस्तै व्यावसायिक रुपमा नर्सरीमार्फत अलैँची बिरुवा उत्पादन गर्दै आउनुभएका फक्ताङ्लुङ गाउँपालिका–५ तापेथोकका भिङ्मारे लिम्बूले पनि आफूले हुर्काएको उत्पादन गरेको बिरुवा बिक्री नभएपछि लगानी डुबेको बताउनुभयो । सदरमुकाममै जग्गा भाडामा लिएर नर्सरीमा लगानी गर्दै आउनुभएका लिम्बूले उत्पादन भएको बिरुवा समयमा बिक्री नभएपछि नर्सरीमै फुलेको र मर्न थालेपछि उखेलेर फाल्नुपरेको बताउनुभयो ।

उता आठराई त्रिवेणी गाउँपालिका–३ हाङ्पाङका किसान जनार्दन प्रसाईंले पनि नर्सरीबाट बिरुवा उत्पादन गरेर राम्रो आम्दानी गर्दै आउनुभएको थियो । एकैवर्ष लाखौं अलैँची बिरुवा बिक्री गरेर आम्दानी लिँदै आउनुभएका प्रसाईंले अहिले बिरुवा बिक्री हुन छोडेको बताउनुभयो । बिरुवा बिक्री नभएपछि नर्सरीमै बिरुवा फुल्न र मर्न थालेको उहाँले सुनाउनुभयो । यसरी उहाँहरु जस्तै जिल्लाका विभिन्न क्षेत्रमा नर्सरी उत्पादनमा लगानी गर्दै आएका किसान तथा लगानीकर्ता लगानी डुबेको भन्दै दुखेसो पोख्दै आउनुभएको छ । ताप्लेजुङमा उत्पादन हुने बिरुवा जिल्लाभित्र मात्र नभई पश्चिम नेपालका जिल्लाहरु सिन्धुपाल्चोक, बाग्लुङ, चितवन लगायतमा बिक्री गर्ने गरेको बिरुवा उत्पादक किसानले बताएका छन् ।

ताप्लेजुङमा चार हजार ३०२ हेक्टर क्षेत्रफलमा अलैँची खेती गर्ने गरिएको कृषि ज्ञान केन्द्र पाँचथरले जनाएको छ । जिल्लाको नौ स्थानीय तहका ६१ वडामध्ये फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोला बाहेक सबै वडामा अलैँची खेती गर्ने गरिएको छ । बितेका कुनै वर्ष प्रतिमन (४० किलाग्राम) एक लाख २० हजार रुपियाँ सम्ममा पनि अलैँचीको कारोबार भएको थियो । त्यसपछि प्रतिमन ५० हजारभन्दा बढी मूल्य लामो समयसम्म कायम रहेकोमा पछिल्लो तीन÷चार वर्षयता प्रतिमन ३० हजार रुपियाँभन्दा कम मूल्यमा कारोबार हुँदै आएको छ । हिजोआज अलैँचीको स्थानीय बजार मूल्य प्रतिमन २२ देखि २५ हजार रुपियाँसम्म रहेको व्यवसायीले बताएका छन् ।- गोरखापत्रबाट


प्रतिक्रिया दिनुहोस !