१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

माओवादी, कांग्रेस र जसपाले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि प्रदेशसभाको अधिवेशन अन्त्य गरियो



बुटवल : लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख धर्मनाथ यादवलाई सिफारिस गर्ने निर्णय गरेको हो । सरकारको निर्णय अनुसार मंगलबार राति १२ बजेदेखि बैठक अन्त्य हुने सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिए । मुख्यमन्त्री शंकर पोख्रेलविरुद्ध माओवादी, कांग्रेस र जसपाले अविश्वासको प्रस्ताव ल्याउन सांसदहरूको हस्ताक्षर संकलन गरेको अवस्थामा प्रदेश सरकारले प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने निर्णय लिएको हो ।

यता लुम्बिनी प्रदेश सरकार परिवर्तनका लागि एमाले इतरका ३ दल सहमत भएका छन् । नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादीबीच छलफल भइरहेको छ । तीनै दल लुम्बिनी सरकार परिवर्तन गर्न सहमत भएका थिए । उनीहरूले सांसदहरूको हस्ताक्षर संकलन समेत सुरु गरेका छन् । माओवादी र कांग्रेसका सांसदहरूले हस्ताक्षर गरिसकेको र जसपाका सांसदहरूको हस्ताक्षर संकलनको कार्य जारी रहेको बताइएको छ । ८७ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका ४१, माओवादी केन्द्रका २०, नेपाली कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका १ सदस्य रहेका छन् । मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्ताव पारित हुन ४४ मत आवश्यक पर्छ ।

 


प्रतिक्रिया दिनुहोस !