१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

को हुन् गम्भीर अपराध गर्ने नेपाली ? जसले ४६ अर्ब बढी स्विस बैंकमा लुकाए, ३ जनाको नाम खुल्यो



काठमाडौं : गम्भीर अपराध तथा गैरकानुनी कार्यबाट आर्जित रकम बचत गरिदिने र उच्चस्तरीय गोपनीयता राख्ने स्विस बैंकमा नेपालीको मौज्दात रकम बढेको छ । स्विस नेसनल बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार स्विट्जरल्यान्डका बैंकमा सन् २०१९ को तुलनामा २०२० मा नेपालीको बचत दोब्बर भएको छ । नेपालीको बचत सन् २०१९ सम्ममा १७ करोड ५८ लाख ६५ हजार २ सय ४१ स्विस फ्र्यांक (हालको विनिमय दरअनुसार २२ अर्ब ७३ करोड ४० लाख ९९ हजार ८ सय १० रुपैयाँ) थियो । सन् २०२० मा बचत ४६ अर्ब ६४ करोड ३५ लाख ३१ हजार २ सय ५१ रुपैयाँ पुगेको छ । यो बचत कसको र कति जना नेपालीको हो भन्नेबारे स्विस बैंकले सार्वजनिक गर्दैनन् । स्विस बैंकले बचतकर्तालाई उच्चस्तरको गोपनीयता कायम गरिदिन्छन् र कमस्तरको वित्तीय जोखिमको व्यवस्था गरेका छन् । गम्भीर प्रकारका अपराध, करछली, भ्रष्टाचार, मानव तथा हतियार बेचबिखनलगायत गैरकानुनी कार्यबाट आर्जित रकम राखिदिने गरेको आरोप स्विस बैंकमाथि छ ।

नेपालीको बचत सन् २०१७ पछि लगातार दुई वर्ष घटेको थियो । स्विस नेसनल बैंकले सार्वजनिक गरेको विवरणअनुसार सन् २०१७ सम्म नेपालीको बचत ४१ अर्ब ७३ करोड ९२ लाख २३ हजार २०५ रुपैयाँ थियो । २०१८ मा ३२ अर्ब १६ करोड ५ लाख ८७ हजार ८ सय ४८ रुपैयाँमा झर्‍यो । २०१९ मा अझ घटेर २२ अर्ब ७३ करोड ४० लाख ९९ हजार ८ सय १० रुपैयाँमा पुग्यो । २०२० मा भने दोब्बर भएको हो । यो रकम ब्याजसहितको हो ।

स्विस नेसनल बैंकले नेपालसहित विश्वभरका नागरिकको के कति मौज्दात छ भनेर सन् १९९६ देखिको विवरण सार्वजनिक गरेको छ । द्वन्द्व सुरु भएकै वर्ष १९९६ देखि २०२० सम्म नेपालीले ६६ अर्ब १९ करोड २६ लाख रुपैयाँ जम्मा गरिसकेको देखिन्छ । तर हालको मौज्दात त्यति नहुनुले नेपालीले बचत राख्ने र झिक्ने गरिरहेको देखाउँछ । स्विस बैकमा बचत गर्दा आयस्रोत खोजिँदैन र बचतकर्ताको विवरण गोप्य रहन्छ । त्यसैले स्विस बैंकलाई गैरकानुनी आर्जन राख्न सुरक्षित भनेर विश्वभर नै चिनिन्छ ।

नेपालको सन्दर्भमा स्विस बैंकमा बचत मुख्य दुई दृष्टिकोणले गैरकानुनी रहेकाले यसबारे सरकारले गम्भीर अुनुसन्धान गर्नुपर्ने अधिकारीहरू बताउँछन् । पहिलो– पारदर्शिता कमजोर भएको स्विस बैंकमा बचत गर्नु नै सम्पत्ति शुद्धीकरणको शंका गर्दै अनुसन्धान कार्य अगाडि बढाउनु पर्ने र दोस्रो– विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन–२०२१ मा नेपाली नागरिकले विदेशमा बैंक खाता खोल्न, कम्पनी तथा फर्ममा लगानी गर्न नपाउने व्यवस्था छ । यसविपरीत कार्य गरे बिगोबमोजिमको जरिवाना, ६ महिना कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

हालसम्म स्विस बैंकमा रकम जम्मा गरेकामध्ये तीन जना नेपालीको नाम मात्रै सार्वजनिक भएको छ । सन् २०१९ जनवरीमा खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल ‘द इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट्स’ र नेपालस्थित खोज पत्रकारिता केन्द्रले सार्वजनिक गरेको विवरणअनुसार स्विस बैंकले बचतकर्तामा लन्डनमा बस्दै आएकी नेपाली नागरिक मिनु शाह छिब्बर र उनका दुई छोरा पनि हुन् । बानेश्वरस्थित गंगादेवी टोलमा घर ठेगाना उल्लेख गरेर स्विस बैंकमा उनीहरूले पैसा जम्मा गरेका हुन् । मिनुको स्थायी ठेगाना ललितपुरको कुपण्डोल हो, जहाँ उनको ‘छिब्बर निवास’ नै छ ।

मिनु र उनका दुवै छोराले सन् २००६ ०७ मा ७८ लाख ५० हजार ९ सय ९१ का दरले (२ अर्ब ६१ करोड ४३ लाख ८० हजार रुपैयाँ) बचत गरेको विवरण सार्वजनिक भएको थियो । स्विस नेसनल बैंकले पछिल्लोपटक सार्वजनिक गरेको विवरणअनुसार त्यहाँका बैंकमा २ सय २४ वटा मुलुकका नागरिकको रकम मौज्दात छ । तर बैंकले कुनै पनि प्रयोजनका लागि कुनै पनि निकायलाई खातावालको विवरण दिँदैन । सम्पत्ति शुद्धीकरणको मामिलामा पारदर्शी र कठोर हुनेबारेमा विश्वभर एजेन्डा बनेपछि स्विस बैंकमाथि विवरण सार्वजनिक गर्न दबाब बढेको छ । त्यसपछि थप दबाब बढेपछि स्विस नेसनल बैंक केही विवरण सार्वजनिक गर्न र पारदर्शिताको विषयमा केही लचिलो भएको छ । स्विस बैंकले ‘तानाशाह, भ्रष्ट नेता, करछली गर्ने व्यापारी, हतियार तथा लागूऔषध कारोबारीको रकम जम्मा गरी नाफा कमाउने काम गरेको’ आईसीआईजेको दाबी छ ।


प्रतिक्रिया दिनुहोस !