२० बैशाख २०८१, बिहीबार
 |   Thu May 2 2024
Logo

वीरगञ्ज भन्सारका कर्मचारीलाई प्रहरीले कुट्यो



काठमाडौं । वीरगञ्ज भन्सार कार्यालय, पर्साका एकजना कर्मचारी गएराति प्रहरीबाटै कुटपिटमा परेका छन् । सोमबार मध्यराति साढे ११ बजे ड्यूटीमा रहेका बेला सिभिल प्रहरी हौं भन्दै आएका व्यक्तिले कार्यालय सहयोगी बमबहादुर विशंखेलाई दुर्व्यवहार गरेका हुन् । भन्सार कार्यालयका अनुसार हरेक दिन राति १० बजेपछि वीरगञ्ज भन्सारको बेरियर बन्द गरिने गर्छ ।

तर सोमबार बेलुकी निर्धारित समयभन्दा डेढ घन्टा पछाडि चार/पाँच जना आएर वेरियर खोल्न लगाउँदै कार्यालय सहयोगीलाई दुर्व्यवहार गरेका थिए । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अरुण पोखरेलका अनुसार उनीहरुले कार्यालय सहयोगी विशुंखेले सोधपुछ गर्न खोज्दा उल्टै लछारपछार र दुव्यर्वहार गरेको पाइएको छ ।

विशंखेले कार्यालयमा निवेदन दिँदै कार्यालयमा रहेका सीसी टीभी फुटेजलाई पनि हेरेर घटनामा संलग्नलाई कानून अनुसार कारबाही गर्न माग गरेका छन् । ‘निवेदनका आधारमा कर्तव्यपालनको सिलसिलामा ड्यूटीमा रहेका कर्मचारीलाई हातपात गर्नेलाई आवश्यक कारबाही गर्न जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्सामा लेखी पठाउने निर्णय गरेका छौं’ पोखरेलले भने ।

भन्सारका कर्मचारीहरुका अनुसार सीसी टीभीभन्दा बाहिरको रेञ्जमा लगेर पनि विशंखेमाथि कुटपिट भएको थियो । ‘पछि सशस्त्र प्रहरीले सहयोग नगरेको थियो भने विशंखे झन् गम्भिर घाइते हुने अवस्था थियो’ एक अधिकारी भन्छन् ।


प्रतिक्रिया दिनुहोस !