रसुवा । सशस्त्र प्रहरी बल नेपाल बीओपी टिमुरे रसुवाले झण्डै डेढ करोड रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। भन्सार छली सीमा इलाकाको अस्थायी ड्राइपोट रसुवामा राखिएको अवस्थामा बिहीबार बीओपी टिमुरे रसुवास्थित सशस्त्र प्रहरी निरीक्षक नारायण गुरुङ कमान्डको संयुक्त टोलीले सो सामान बरामद गरेको हो।
अवैध रुपले चोरीपैठारी गरी ल्याइएको सामानमा महँगा मदिरा, चुरोटलगायत छन्। सशस्त्र प्रहरी बल नेपाल बीओपी टिमुरे रसुवालाई सो अवैध सामानबारे गोप्य सूचना प्राप्त भएपश्चात् सशस्त्र प्रहरी निरीक्षक गुरुङ नेतृत्वको संयुक्त टोली त्यस ठाउँमा खटिएको थियो।
बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय टिमुरेमा बुझाइएको छ। निर्वाचनको मौका छोपी हुन सक्ने अवैध क्रियाकलाप रोक्न उत्तरी सीमा नाकामा समेत सशस्त्र प्रहरी बल नेपालले विशेष निगरानी गरिरहेको छ।