काठमाडौं । बाजुरामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना अनिश्चित बनेको छ। जिल्लाका विभिन्न मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेले एकअर्कालाई बुथ कब्जा गरी फर्जी मत खसाएको भन्दै निर्वाचन आयोगमा उजुरी परेपछि मतगणना अनिश्चित बनेको हो।
निर्वाचनका बेला एमालेले आफ्नो पहुँच भएको मतदान केन्द्रमा बुथ कब्जा गर्दै मतदानमा सहभागी नभएका र विदेश गएका तथा मृत्यु भएकाको समेत मत हालेको आरोपसहित कांग्रेसले पाँच मतदानस्थलका १७ मतदान केन्द्रमा पुनः निर्वाचन गर्न माग गर्दै उजुरी दिएको छ।
यस्तै नेपाली कांग्रेसको पहुँच भएको मतदान केन्द्रमा बुथ कब्जा गरी विदेश भएका, जागिरको सिलसिलामा जिल्ला बाहिर रहेका र मृत्यु भएकाको समेत मत हालेको आरोपमा एमालेले पनि १७ मतदान केन्द्रमा पुनः निर्वाचनको माग गर्दै आयोगमा उजुरी दिएको छ। कांग्रेस र एमालेले पुनः निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुरामा उजुरी दिएपछि आयोगले बनाएको छानविन समिति टोली बाजुरामा पुगेको छ।