१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

कोरोनाबाट बच्न आयुर्वेदिक औषधि



काठमाडौं : कोरोना सङ्क्रमणको दोस्रो लहरले आतङ्कित भएको बेला रोग लाग्नै नदिने उपायतिर धेरैको ध्यान गएको छ । शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन खानपान, जडीबुटी र आयुर्वेदिक औषधिको प्रयोगमा जोड दिन आयुर्वेद चिकित्सकहरूको सुझाव छ । यसका लागि जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि सेवन गर्न राजधानीको नरदेवीस्थित केन्द्रीय आयुर्वेद चिकित्सालय निर्देशक डा. प्रदीप केसी जोड दिन्छन् ।

तर हाल होम आइसोलेसनमा बसेका, सामान्य लक्षण भएकाहरूले यस्ता औषधिको सेवन गर्नु उपयुक्त हुने उहाँको भनाइ छ । यो औषधि सेवनले उनीहरूलाई गम्भीर अवस्थामा पुग्नबाट रोक्न मद्दत गर्छ । चिकित्सालयले कोरोना भाइरसको सङ्क्रमण वा रोगबाट स्वस्थ राख्न रोग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि विभिन्न १२ जडीबुटी मिश्रित तीन प्रकारका औषधि उत्पादन गरेर वितरण गरिरहेको जानकारी दिए ।

उनका अनुसार विभिन्न जडीबुटीबाट बनाइएका जेष्ठवासादि, गुडुची र यष्ठिमधु मिश्रित चूर्ण तयार गरी बिरामीलाई दिने गरेको छ । मौसमी रुघाखोकीका बिरामीलाई लक्षित गरी वर्षौंदेखि उत्पादन गरिँदै आएका चूर्ण हाल कोरोनाका बिरामीलाई निःशुल्क वितरण गर्दै आएको जानकारी दिए। “कोरोना सङ्क्रमितमा देखिने लक्षण र समस्या समाधान गर्न यो औषधि सेवन गर्नु फाइदाजनक छ ।

नरदेवीले हाल प्रयोग भएकाबाहेक ग्यास्ट्रिक, जन्डिस, कलेजो, पाचन प्रणालीमा खराबी, जोर्नी दुख्ने, शरीर सुन्निने समस्या तथा मालिस गर्ने तेललगायत विभिन्न २६ प्रकारका औषधि उत्पादन गर्दै आएको छ । यस मिश्रणमा असुरो, तालिसपत्र, पर्यटक, प्रियङ्गु, नागकेशर, जातिफल, ल्वाङ, सुकुमेल, दालचिनी, वंशोलोचन, गुर्जो, जेठीमधुजस्ता जडीबुटीहरू अधिक मात्रामा छन् । यो खबर गोरखापत्र दैनिकमा छ ।


प्रतिक्रिया दिनुहोस !