६ जेष्ठ २०८१, आईतवार
 |   Sun May 19 2024
Logo

नेपालमा पनि बढ्दै छ विद्युतीय कारोबार



काठमाडौं । कोरोना नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण विद्युतीय कारोबार बढ्दै गएको छ । खासगरी बैंक तथा वित्तीय संस्था, बीमा क्षेत्र र धितोपत्र बजारसम्मले विद्युतीय सेवा र कारोबारलाई उच्च प्राथमिकतामा दिन थालेका छन् । बैंक तथा वित्तीय संस्थाका कार्यालय र शाखा खुला रहने भएपनि अत्यावश्यक कामबाहेक कार्यालयमा भिडभाड नगरी विद्युतीय कारोबारलाई प्राथमिकता दिएका हुन् ।

नेपाल बैङ्कर्स एसोसिएसनले ग्राहकलाई घरबाटै कारोबार गर्न आग्रह गर्दै आएको छ । मोबाइल तथा इन्टरनेट बैंकिङ मार्फत एक खाताबाट अर्कोमा रकम स्थानान्तरण, मौज्दात हेर्ने, विभिन्न किसिमका भुक्तानीलगायतका कार्य गर्न सकिने एसोसिएसनले जनाउँदै आएको छ ।

इमेलबाट मुद्दती खाता नवीकरण

सामान खरिद गर्दा उपलब्ध भएसम्म कार्डको प्रयोग तथा क्युआर कोडमार्फत भुक्तानी गरी सकेसम्म नगद कारोबार कम गर्न पनि एसोसिएसनको आग्रह छ । निषेधाज्ञा अवधिभर मुद्दती खाता नवीकरणसमेत सम्बन्धित बैंकलाई इमेल मार्फत अनुरोध गर्न सकिने जनाउँदै एसोसिएसनले कुनै परिस्थितिवस इमेल गर्न नसकिएको खण्डमा निषेधाज्ञा समाप्त भएको सात दिनपछि सम्म मुद्दती परिपक्व भएको मितिबाट नै लागू हुने गरी नवीकरण गर्न सकिने व्यवस्था गरेको छ ।

अघिल्लो वर्ष पनि बन्दाबन्दीयता सर्वसाधारण अनलाइनमा केन्द्रित हुँदा अनलाइन प्रयोगकर्ताको ह्वात्तै बढेको स्मरण गर्दै राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल अहिलेको विषम परिस्थितिमा पनि अनलाईन कारोबारमा जोड दिनुको विकल्प नरहेको बताउनुहुन्छ ।

राष्ट्र बैंकले डिजिटल कारोबारलाई विस्तार गर्ने क्रममा पछिल्लो समय ‘क्यूआर कोड’ को माध्यमबाट डिजिटल बैंकिङका लागि अभियानकै रुपमा विस्तार गरिरहेको उहाँ बताउनुहुन्छ ।

भुक्तानी प्रक्रियामा डेबिट÷क्रेडिट कार्डको प्रयोग गर्दा नेपाली पैसा विदेशिने भएकाले क्युआर कोडमार्फत भुक्तानी गर्दा नेपालको पैसा नबाहिरिने भन्दै उहाँले अहिलेको विषम परिस्थितिमा पनि यसको महत्व भएको उहाँको भनाइ छ ।

हातमा स्मार्टफोन र इन्टरनेटको पहुँच पुगेपछि नगद नचाहिने भन्दै उहाँ एटीएम बुथ खोज्दै हिँड्ने र कोरोना लाग्ला कि भन्ने त्रासबीच नगद झिक्नु नपर्ने भएपछि त यसले देशको विद्युतीयकरण (डिजिटाइजेसन) प्रक्रियामा योगदान दिने बताउनुहुन्छ ।

निःशुल्क भएन एटीएम

विद्युतीय भुक्तानीलाई उच्च प्राथमिकता दिए पनि अन्तर बैंक एटीएम भुक्तानी भने अघिल्लो पटक जस्तै निःशुल्क छैन । नेपाल राष्ट्र बैंक अन्तर बैंक भुक्तानी प्रणाली विभागका निर्देशक निश्चल अधिकारी अहिले पूर्ण बन्दाबन्दी नभएको र मान्छेको आवागमन पूर्ण रुपमा निषेधित नभएको हुँदा गत सालको जस्तो निःशुल्क नगरिएको बताउनुहुन्छ । सरकारले पूर्ण रुपमा बन्दाबन्दी ग¥यो र सम्पूर्ण जनजीवन ठप्प भई बैंकहरु नै बन्द गर्नुपर्ने अवस्था आएमा यस्तो कारोबार निःशुल्क गर्नेतर्फ सांच्न सकिने उहाँको भनाइ छ

अघिल्लो कोभिडका बेला अन्तर बैंक एटीएम कारोबार गर्दा छुट दिइए पनि त्यसलाई परिमार्जन गरी अन्तरबैंक कारोबार गर्दा प्रति महिना दुई वटा कारोबार निःशुल्क गरिएको छ । तेस्रो कारोबार गरिएको खण्डमा भने सुरुदेखिकै कारोबारमा शुल्क लाग्ने गरेको ग्राहकले बताएका छन् । भुक्तानी प्रणाली विभागका अनुसार दुई वटाभन्दा बढी कारोबारको हकमा बैंक तथा वित्तीय संस्थाले प्रतिकारोबार बढीमा २० रुपियाँसम्म शुल्क लिन सक्छन् ।

मर्चेन्ट बैंक पनि अनलाइन

नेपाल मर्चेन्ट बैंकर एसोसिएसनले पनि निषेधाज्ञा अवधिभर अनलाइन सेवालाई प्राथमिकतामा राख्न सबै सदस्य तथा ग्राहकहमा अनुरोध गरेका छ । अनलाइन कारोबारका क्रममा मेरो सेयर वा इडिआईएस सम्बन्धी केही समस्या आइपरेमा कम्पनीको फोन नम्बर तथा वेबसाइटमा उपलब्ध इमेल र मोबाइल नम्बरमा सम्पर्क गरी आफ्नो समस्या समाधान गर्न सकिने एसोसिएसनले जनाएको छ ।

सेयर खरिदबिक्री सम्बन्धी कार्यलाई अनलाइनमार्फत गर्न तथा सेयर बिक्री गर्दा इडिआइएस मात्र प्रयोग गर्न पनि एसोसिएसनले आग्रह गरेको छ ।

धितोपत्र सेवा पनि घरबाटै

धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले पनि ब्रोकर, मर्चेन्ट बैंक तथा बजारका सरोकारवाला पक्षलाई घरबाटै सेवा सञ्चालन गर्न गराउन निर्देशन दिएको छ ।

बोर्डले सिस्टम सपोर्ट र सूचना प्रविधि सम्बन्धी कार्य घरैबाट गर्न सम्बद्ध पक्षलाई निर्देशन दिँदै प्रणाली सञ्चालनका लागि कार्यालयमा तीन जनाभन्दा बढी कर्मचारी नखटाउन पनि बोर्डले आग्रह गरेको छ ।

गुनासो तथा समस्या समाधानका लागि प्रयोग भइरहेको कार्यालयको फोनलाई कल डाइभर्ट गरी घरैबाट यस्तो सुविधा उपलब्ध गराउने व्यवस्था गर्न र थप मोबाइल नम्बरहरु उपलब्ध गराउन पनि बोर्डको आग्रह छ ।

साना लगानीकर्ताहरुले दैनिक घरखर्च वा औषधी उपचारको लागि सेयर बेचेको अवस्थामा लगानीकर्ताको अनुरोधमा सम्बन्धित ब्रोकरले सम्भव भएसम्म आवश्यकता अनुसारको रकम तत्काल उपलब्ध गराई सहयोग गर्न बोर्डले आग्रह गरेको छ ।

बीमा पनि अनलाइन

बीमा समितिले काठमाडौं उपत्यकामा बीमा कम्पनीका शाखा कार्यालयहरु बन्द गर्न र धेरैभन्दा धेरै काम अनलाइनमार्फत गर्न अग्रह गरेको छ ।
बीमाशुल्क विद्युतीय माध्यमबाट सङ्कलन गर्ने व्यवस्था मिलाउन र त्यसका लागि विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको मोबाइल बैंकिङ, इबैकिङ तथा अनलाईन सेवा प्रदायकमार्फत समेत भुक्तानी गर्न सकिने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।

निर्जीवन बीमा कम्पनीले पनि तत्काल सिर्जना हुने दाबी भुक्तानीको लागि विद्युतीय माध्यमबाट समेत निवेदन प्राप्त भएमा निषेधाज्ञाको अवधि सामाप्त भएपछि तत्काल सर्भेयर खटाएर क्षतिको यकिन गरी दाबी भुक्तानी गर्नुपर्ने निर्देशन समितिको छ ।- गोरखापत्रअनलाईनबाट 


प्रतिक्रिया दिनुहोस !