नेकपा एमालेका स्थायी कमिटी सदस्यहरु योगेश भट्टराई र गोकर्ण विष्टले आफूलाई पुनः पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्धको मोर्चामा उभ्याएका छन्। बुधबार माधवकुमार नेपाल तथा झलनाथ खनाल सहित १५ स्थायी कमिटी सदस्य (दुई पदेन सदस्यसहित) ले जारी गरेको विज्ञप्तिमा उनीहरुको समेत नाम समावेश छ।
पछिल्ला केही दिन उनीहरु दुवै समूहतिर नखुली मौन बसेका थिए।
राष्ट्रपतिले प्रधानमन्त्रीमा परेका दुवै दाबी अस्वीकार गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्दै निर्वाचनको सिफारिस गरेका थिए। त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने बेला पनि भट्टराईले हस्ताक्षर गरेका थिएनन्। विष्टले पनि हस्ताक्षर गरेका थिएनन्। सर्वोच्चमा नेपाल पक्षका २३ सांसदको मात्रै हस्ताक्षर छ। हस्ताक्षर गर्नेमध्ये ११ जनालाई ओलीले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिसकेका छन्। अन्य १२ जनालाई पनि स्पष्टीकरण सोधेका छन्।