१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

चुरे संरक्षणको रक्षार्थ आफैं निर्णय लिने प्रदेश २ मुख्यमन्त्रीको चेतावनी



काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बजेट वक्तव्यलाई सच्याउन संघीय सरकारको ध्यानाकर्षण गराएका छन् । केन्द्र सरकारले व्यापार घाटा न्यूनीकरण गर्न खानीजन्य ढुंगा, गिटी र बालुवा निर्यात गर्ने निर्णय नसच्याए आफूले नै आवश्यक कदम चाल्ने मुख्यमन्त्री राउतले चेतावनी समेत दिएका छन् ।

बिहीबार विज्ञप्ति निकाल्दै मुख्यमन्त्री राउतले बजेट वक्तव्यलाई सच्याउन संघीय सरकारको ध्यानाकर्षण गराएका हुन् । विज्ञप्तिमा भनेका छन्, ‘नेपाल सरकारको बजेट वक्तव्यलाई सच्याउन हुन आग्रह गर्नुको साथै यस्तो कार्य तत्काल नरोकिए तराईरमधेसको चुरे संरक्षण र प्राकृतिक सम्पदाको रक्षार्थ प्रदेश सरकारले आवश्यक निर्णय लिनेछ ।’

प्रदेश २ को सप्तरीदेखि पर्सासम्म फैलिएको चुरे पहाड यस प्रदेशको कवचको रूपमा रहेको र जनता प्रतिवर्ष बाढी पहिरो, पानीको समस्या र कृषि उपज समेतको समस्याबाट प्रताडित हुँदै आएको विज्ञप्तिमा उल्लेख छ ।

राउतले नेपाल सरकारको निर्णयलाई अदूरदर्शी निर्णयको संज्ञा दिएका छन् । ढुंगा, गिटी, बालुवा उत्खनन गर्ने योजनाले देशकै अन्न भण्डारको रूपमा रहेको प्रदेश २ को सम्पूर्ण भू-भाग मरुभूमिकरण भई शतप्रतिशत जनताको बिल्लीबाठ हुने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !