Monday, March 17, 2025

ट्रेन्डिङ :

केहिदिनमा मन्त्रिपरिषद् विस्तार हुदै, गृहमा महेश बस्नेतको सम्भावना बलियो

spot_img
spot_img

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षलाई सरकारमा सहभागी गराएका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदलाई पूर्णता दिन गृहकार्य अगाडि बढाएका छन् । बालुवाटार स्रोतका अनुसार बुधबार वा बिहीबारभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने सम्भावना छ ।

शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन हुँदा एमालेकै अर्का नेपाल समुहलाई समेट्न भन्दै प्रधानमन्त्री ओलीले सात मन्त्रालय आफैसँग राखेका थिए । पार्टी एकताको आह्वान गर्दै ६ बुँदे प्रस्ताव पनि अघि सारेका थिए । तर नेपाल समूहले दुराशयक्त भन्दै ओलीको सहमति प्रस्तावलाई अस्वीकार गरेको छ । अन्तिम प्रयास गर्दा पनि नेपाल समूह एकताका लागि तयार नभएको बताउने ओली निकट एक नेता, मन्त्रिपरिषदलाई पूर्णता दिनेतर्फ प्रधानमन्त्री अघि बढेको बताउँछन् । उनका अनुसार माधव नेपाल समूहसँग एकताको सम्भावना न्यून भएको निष्कर्षसहित मन्त्रिपरिषद् पूर्णता दिनेतर्फ प्रधानमन्त्री ओली अगाडि बढेका छन् ।

जसपाका दश जना समेट्दै १७ सदस्यीय मन्त्रिपरिषद् बनाएका प्रधानमन्त्री ओलीले अब आठ जना मात्रै थप गर्न पाउँछन् । प्रधानमन्त्रीसँग रक्षा र गृहसहित ७ मन्त्रालय छ ।

स्रोतका अनुसार, गृहसहित सातै मन्त्रालय पूर्वमाओवादीले पाउनुपर्ने माग प्रधानमन्त्रीसँग राखिएको छ । तर प्रधानमन्त्री ओलीले भने दुईदेखि तीन जनालाई मात्र समेट्ने बताएका छन् । ‘सम्भवतः बादल कमरेडको भागमा दुई जना मन्त्री पर्ला’, बालुवाटार निकट स्रोत भन्छ ।

बदलिदो राजनीतिक समीकरणका कारण २० सांसद रहेको जसपाका ठाकुर पक्षलाई १० मन्त्री दिनुपरेकाले पनि प्रधानमन्त्रीलाई मिलाउन सजिलो भइरहेको छैन । गुट फेरेर आएकामध्ये रघुवीर महासेठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बनेका छन् भने शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसंख्या मन्त्री भए ।

माधव नेपाल समूहसँग कुरा मिलेमा गृह वा अर्थसहित केही मन्त्रालय दिने प्रधानमन्त्री ओलीको तयारी थियो । नेपाल समूहमा रहेर पार्टी एकताका लागि वार्तारत सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराई लगायत नेता ओलीको रोजाइमा थिए । तर तत्काल यो सम्भावना टरेको बालुवाटार निकट नेताहरू बताउँछन् ।

अब प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले आफू निकट नेताहरूबाटै मन्त्री चयन गर्नेछन् । तर अर्थमन्त्री विष्णुप्रसाद पौडेलपछि रघुवीर महासेठ दोस्रो वरियताको उपप्रधानमन्त्री बनिसकेकाले जुनियर नेतालाई मन्त्री बनाउने गृहकार्य भइरहेको छ ।

त्यसमध्ये गृह मन्त्रालयमा धेरै नेताको चासो छ । प्रधानमन्त्री ओलीलाई दबाव पनि यही मन्त्री चयनमा देखिएको छ । ओलीलाई यो तहको राजनीतिक उचाइ दिलाउन साथ दिने नेताहरूले गृहमा दाबी गरेको स्रोतको भनाइ छ ।

त्यसमध्ये पनि जसपा विभाजन गराउँदै सरकारमा सहभागी गराउनेसम्मको राजनीतिक कोर्समा देखिने गरी संलग्न भएका पूर्वमन्त्री महेश बस्नेतको बलियो दावी छ । उनीप्रति ओली पनि सकारात्मक रहेको बताइन्छ । बस्नेतसँगै खगराज अधिकारी र कर्णबहादुर थापा पनि गृहमन्त्रीको दौडमा छन् । अधिकारी गण्डकी प्रदेश र थापा सुदूरपश्चिमका हुन् । अहिलेको मन्त्रिपरिषद्मा प्रदेश–२ बाट एघार जना मन्त्री रहेकाले भौगोलिक सन्तुलन कायम गर्न बस्नेत नभएर अधिकारी वा थापा मन्त्री बन्नुपर्ने लविङ ओली समूहमा भइरहेको छ । अधिकारी र थापा दुवै ओलीलाई साथ दिँदै आएका नेता हुन् ।

अधिकारी, थापा, बस्नेतबाहेक प्रधानमन्त्री ओलीलाई लगातार साथ दिँदै आएका नेताहरूले मन्त्रीको आकांक्षा राखेका छन् । सार्वजनिक खपतका निम्ति मन्त्रीको लालसा नराखेको बताउने गरेपनि विशाल भट्टराई, राजेन्द्र गौतम, नारादमुनि राना, शान्ता चौधरी, निरुदेवी पाल, विमला राई पौडेल, किसान श्रेष्ठ, राजेन्द्र राई, कृष्णभक्त पोखरेल, ध्रुव शाही, पार्वती विशुंखेलगायत मन्त्री बन्ने दौडमा छन् ।

अहिले गृह, रक्षा, उद्योग वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपंक्षी विकास, वन तथा वातावरण, संघीय ममिला तथा सामान्य प्रशासन र सञ्चार तथा प्रविधि मन्त्रालय रिक्त छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?