१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने ५० हजार धरौटीमा रिहा, पुनरावेदन गर्ने नर्सहरुको तयारी



बाँके । ​ ड्युटीमा खटिएका स्वास्थ्यकर्मीलाई कुटपिट गर्नेलाई जिल्ला अदालत बाँकेले धरौटीमा रिहा गरेपछि नर्सिङ संघ बाँकेले पुनरावेदन गर्ने तयारी गरेको छ। आइतबार अदालतले अभियुक्तहरूलाई जनही ५० हजार धरौटीमा छाडेपछि नर्सिङ संघ बाँकेले पुनरावेदन दिने तयारी गरेको हो । नेपालगन्जका चिकित्सक र स्टाफ नर्समाथि केही दिनअघि सामूहिक आक्रमण गरेको थियो। उनीहरूविरुद्ध ज्यान मार्ने कसुरमा जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता भएको थियो। तर आइतबार जनही ५० हजार धरौटीमा रिहा गरेको थियो।

नर्सिङ संघ बाँकेका अध्यक्ष लक्ष्मी केसीले सोमबार कानुनी सल्लाहाकारसँग परामर्श गरेर उच्च अदालतमा पुनरावेदन गर्न लागिएको बताएकी छन् । उनका अनुसार ज्यान मार्ने उद्देश्यका साथ अस्पतालका चिकित्सक र नर्समाथि आक्रमण गर्ने दोषीलाई जिल्ला अदालतले धरौटीमा रिहा गर्नु शंकाको घेरा हो । साथै, अदालतप्रतिको विश्वासमा शंका पैदा भएको पनि उनले बताइन् । अदालत सत्ता र शक्तिबाट प्रभावित भएको भन्दै असन्तुष्टि व्यक्त गरिन्। यसकारण पीडितले न्याय पाउनुपर्ने भन्दै अदालतको आदेश शंकाको घेरामा रहेको भन्दै पुनरावेदन गर्ने उनले बताइन् ।

गत जेठ १३ गते तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरी दाङका ५४ वर्षीय डिल्लीबहादुर रावतको भेरी अस्पतालमा कोरोनाका कारण मृत्यु भएको थियो । त्यसपछि आक्रोशित बनेका मृतकका भाई मानबहादुर रावत, भरत रावत र छोरा लोकराज रावतलले उपचारमा लापरबाही भएको भन्दै ड्युटीमा खटिएका चिकित्सक र नर्सहरूमाथि कुटपिट तथा अस्पतालमा तोडफोड गरेका थिए। कुटपिट र तोडफोड गरेका उनीहरूलाई पक्राउसँगै ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको थियो। जिल्ला अदालत बाँकेका न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले आइतबार उनीहरू तीनै जनालाई जनही ५० हजार धरौटीमा छाडेको थियो ।


प्रतिक्रिया दिनुहोस !