१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

छाङरु र तिङ्कर पुग्ने बाटो अवरुद्ध (फोटो सहित)



दार्चुला । दार्चुलाको त्रिदेशीय सीमाक्षेत्र जोड्ने बाटो पूर्णरुपमा अवरुद्ध बनेको छ । बाटो अवरुद्ध भएसँगै त्रिदेशीय सीमा क्षेत्रका गाउँहरु छाङरु र तिङ्करको दार्चुला सदरमुकाम खलंगाबाट सम्पर्क विच्छेद भएको छ ।

असार महिना सुरु भए यता भएको बर्षादका कारण ब्यास गाउँपालिका–१ जोड्ने बाटो क्षतविक्षत बनेको ब्यास गाउँपालिका–१ का वडाध्यक्ष असोकसिह बोहराले जानकारी दिनुभयो । भौगाेलिक कठिनाइले दुम्लिङदेखि छाङरु जोड्ने बाटो अधिकाशं ठाउँमा महाकाली नदी किनारै किनार लगिएको छ । भारतले धार्चुला–लिपुलेक सडक निर्माण गरिरहेकाले हाल महाकाली नदीमा माटो र ढुङ्गा भरिएको छ । यसले महाकाली नदी थुनिने र नेपाल तर्फको बाटोमा क्षति हुने गरेको उहाँले बताउनुभयो ।

सीमाक्षेत्र जोड्ने नेपालतर्फको बाटो पूर्णरुपमा अवरुद्ध भएकाले नेपालको बाटो भएर छाङरु र तिङ्कर आवतजावत गर्न सम्भव नरहेको वडाध्यक्ष बोहराले बताउनुभयो । त्रिदेशीय सीमाक्षेत्र जोड्ने बाटो अवरुद्ध हुँदा मानिसहरुको आवतजावतका साथै खाद्यान्न तथा निर्माण सामग्री ढुवानीमा समेत समस्या भएको छ । छाङरु र तिङ्कर गाउँमा सात महिनादेखि सञ्चार सेवा पनि अवरुद्ध छ । हिमपातका कारण बिग्रिएको सञ्चार सेवा हालसम्म सुचारु नभएको स्थानीयको गुनासो छ ।- फोटो सहित गोरखापत्र अनलाइनबाट साभार गरिएको


प्रतिक्रिया दिनुहोस !