१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

रोजेर दार्चुला, खोजेर जुम्ला



ध्रुवहरि अधिकारी

प्र.जि.अ.को रूपमा दार्चुला प्रवेश गर्दा कपालको रौंँ एउटा पनि फुलेको थिएन, अढाई वर्षपछि सरुवा भई जिल्ला छोड्दा तिल–चामले भइसकेको थिएँ । नेपालको प्रशासनमा काम गरेर तक्मा पाइँदैन, हाकिमको दया र तक्मा समितिमा पहुँच पुग्नेको मात्र उद्धार हुन्छ !

घर बिर्साउने स्वागत र कहिल्यै नबिर्सने बिदाइ शाही नेपाली सेनाको ब्यारेकमा पाइयो ।

२०३६ साल कार्तिकदेखि २०३८ साल चैतसम्म सुदूर पश्चिमाञ्चलको पनि दुर्गम जिल्ला दार्चुलामा प्रमुख जिल्ला अधिकारी भएर काम गरेका राष्ट्रसेवक द्वारिकानाथ ढुङ्गेल (विद्यावारिधि) सँग उतिखेरको श्री ५ को सरकारको सचिवको जिम्मेवारीसमेत सम्हालेको अनुभव छ । तर चर्चा गरिन लागेको पुस्तकमा ढुङ्गेल जिल्लास्तरीय प्रशासनका विषयहरूमा सीमित भेटिनु हुन्छ । हुन सक्छ, अन्य तह र विधाका अनुभव पछि लेखिने अरू कृतिका लागि सँगालेर राखिएको छ ।

राजपत्राङ्कित द्वितीय श्रेणीको अधिकृत (उप–सचिव) मा साबिकको गृह पञ्चायत मन्त्रालयमा कार्यरत छँदाताका ढुङ्गेललाई प्रमुख जिल्ला अधिकारी (सीडीओ) भएर दार्चुला जाने रहर भएछ । दुर्गम क्षेत्रमा बस्दा कार्यसम्पादन मूल्याङ्कनमा बढी नम्बर पाई वृत्तिविकासमा मद्दत पुग्ने आकर्षण हुनु र भारततर्फबाट मोटरबाटोको सुविधा उपलब्ध हुनेजस्ता कुराको सन्दर्भ आफ्नो ठाउँमा छ । तर त्यस बखतको परिवेश विचार गर्दा ढुङ्गेलले दार्चुला छानेर चुनौतीयुक्त जिम्मेवारी लिन खोजेकै हो भन्नुपर्छ । यसरी ‘रोजेर’ दार्चुला जाने ढुङ्गेलको प्रसङ्ग हेर्दा ‘मागेर’ जुम्ला जाने न्यायाधीशको सम्झना हुन्छ । केही महिनाअघि भूपू प्रधान न्यायाधीश मीनबहादुर रायमाझीको संस्मरण पढ्दा थाहा भयो, उहाँले पनि पोखराबाट काठमाडौँ आउने प्रयास नगरीकन जुम्ला सरुवा हुने प्रस्ताव सकार्नु भएको रहेछ । (न्यायपालिकमा चार दशक : मेरा सम्झना)

नीलो र पहेंँलो

ढुङ्गेल र रायमाझीमा एक अर्को समानता के भेटियो भने उहाँहरू दुवैले २०३७ साल वैशाखमा ‘राष्ट्रिय जनमतसङ्ग्रह’ गराउने थप जिम्मेवारी पाउनु भएको रहेछ । हुन त राजा वीरेन्द्रबाट २०३६ साल जेठ १० गतेको घोषणामा मुलुकले अँगाल्ने राजनीतिक प्रणालीबारे निष्पक्ष रूपले जनताको राय बुझ्ने वाचा भएको थियो तर घोषणाको केही महिनाभित्रैमा भाइ‍–भारदारहरूको सल्बलाहटका कारण होला, स्थिति भिन्न हुँदै गयो । बहुदलीय प्रणाली र सुधार सहितको (निर्दलीय) पञ्चायतमध्ये मतदाताले एक रोज्न पाउने राजाको घोषणा त्यत्ति सबल रहन पाएन । यसबारे जुम्लाका न्यायाधीश रायमाझीको पुस्तकमा भेटिने यो अंश पाठकलाई सान्दर्भिक लाग्न सक्छः– ‘शुरुमा श्री ५ निष्पक्ष रूपमा जनमत बुझ्न प्रयत्नरत देखिए पनि पछि पञ्चहरूले यसो हुन दिएनन् । श्री ५ लाई पञ्चायत पक्षमा अघि सारिछोडे । राजालाई पञ्चायत पक्षमा र विश्वेश्वरप्रसाद कोइरालालाई बहुदल पक्षमा उभ्याए ।’

दार्चुलामा प्रजिअ ढुङ्गेलले देखे–बेहोरेका कुरा पनि उस्तै–उस्तै देखिन्छन् । अझ बढी छन्, किनभने प्रजिअले अञ्चलमा अञ्चलाधीश र केन्द्रमा गृह मन्त्रालयको निगरानीमा काम गर्नुपथ्र्यो । थपमा दरबारको अप्रत्यक्ष दबाब हुन्थ्यो । चर्चित पुस्तकमा बहुदलपक्षका लागि तोकिएको रङ ‘नीलो’ को प्रयोगमा समेत पञ्चहरूको कसरी चियो–चर्चो हुने गथ्र्याे त्यसको उल्लेख राम्रैसँग भएको छ । नीलो लुगा लगाउने, झ्यालमा नीलो रङको पर्दा हाल्ने चलनको समेत अर्थ लाग्ने गर्दथ्यो । निर्दलीय प्रणाली रोज्नेहरूलाई ‘पहेँलो’ रङ परेको थियो । एउटा रोचक घटना ः प्रजिअलाई कारण पछि थाहा भएछ, मतदानभन्दा केही दिनअघि आफूले मालिकार्जुनमा गराएको पूजा त निर्दल पक्षको विजयका लागि पो रहेछ ! लागेको खर्च भने पछि सोध भर्ना गरिएछ ।

जग–जाहेर छ, जनमतसङ्ग्रहमा २४ लाख मत पाएर निर्दल पक्ष विजयी भयो र २० लाख मत पाउने बहुदल पक्ष पराजित भयो । बीपीले परिणाम ‘अप्रत्याशित’ भए पनि चुनावमा सहभागी भइसकेपछि त्यसलाई मान्यता दिनैपर्छ भनेर अडान लिनुभयो । र, पक्षपातविरुद्धको आक्रोशलाई जनस्तरमा भड्किन दिनुभएन ।

भारत र चीन

ढुङ्गेल प्रजिअ भएको दार्चुलाको पश्चिम भारत र उत्तर चीन (तिब्बत) परेको हुनाले अहिले उहाँको कलमबाट हामीलाई दुवैतर्फको स्थलगत अवस्था जान्न सहज भएको छ । प्रजिअ दरबन्दीको हिसाबले गृह मन्त्रालयको कर्मचारी भए पनि कार्यस्थलमा छँदा निजले सिमाना निरीक्षणलगायत परराष्ट्रसँग सम्बन्धित काम पनि गरेको देखिन्छ । पढालेखा प्रजिअ हुनाले भारत र चीन दुवैतिरका समकक्षीहरूसँगका उपयोगी भेटवार्ता गर्न सफल भएको देखिन्छ; अनुमान गर्न सकिने कुरो हो । त्यसैगरी, कालापानी–लिपुलेक–लिम्पियाधुरा सम्बन्धमा हाल भारतका केही गतिविधिले सिर्जना गरेका विवादलाई सही सन्दर्भमा बुझ्न ढुङ्गेलले उस बखत गरेको विकट इलाकाहरूको पैदलयात्रा अहिले निकै कामलाग्ने भएको छ । हो, तिब्बतमा पर्ने मानसरोबरमा स्नान गर्दाको पुण्य लेखकको निजी उपलब्धि भयो होला, तर त्यस क्रममा दार्चुलाको सामाजिक, आर्थिक धरातल ठम्याएर पुस्तकमा सचित्र विवरण समावेश गरिदिएबाट हुने लाभ त सबैका लागि भएको छ । ‘नजरी नक्सा’ ले मात्र पनि चेतनशील नागरिकलाई सजग तुल्याउन सक्छ । जे होस्, चार दशक पहिलेका घटना÷दुर्घटनाहरूको वर्णन पढ्ने पाठकले लेखकको स्मरणशक्ति प्रशंसायोग्य मान्ने नै भए । अर्जुनमणि दीक्षित, विमल कोइराला र प्राध्यापक त्रिरत्न मानन्धरबाट गरिएको सह्रनी मन्तव्य पुस्तकमै पाइन्छ ।

मुलुकको पश्चिमी सिमानाको प्रसङ्ग आउँदा सुगौली सन्धि (सन् १८१६) को उल्लेख हुनेगर्छ । लेखक ढुङ्गेलले साबिकको ब्रिटिश इष्ट इण्डिया कम्पनी र नेपाल बीच भएको त्यस सन्धिको धारा ५ ले नेपालले काली नदीपारिका भूभागमा दाबी–विरोध गर्न नपाउने किटान गरेको छ भनेर लेख्नु स्वाभाविकै भयो । अर्थात् कालीनदी नेपालको हो, त्यसभन्दा पश्चिमतिर मात्र नेपालको हक–दैया नलाग्ने हो । तर अब कालीनदीको मुहान (उद्गमस्थल) कुन हो त्यो छुट्याउनु अनिवार्य हुन आउँछ– लिम्पियाधुरा हो कि कालापानी नजिक भारतीय पक्षले देखाउने गरेको नपत्याउँदो खोल्सो ? तर यस्तो संवेदनशील पक्षको टुङ्गो नै नलगाईकन गणतन्त्र भारतसँग लोकतान्त्रिक सरकारले महाकाली सन्धि ग¥यो । समस्याको जड यहींँ छ । ‘अब नेपालमा पश्चिमबाट सूर्य उदाउने भयो’ भन्ने जस्ता शब्दावलीहरू प्रयोग गरेर जनतालाई भ्रममा पार्ने सन्धिताकाका जलस्रोतमन्त्री पशुपतिशमशेर राणा उद्गमस्थलबारे अद्यापि मौन छन् । बरु आफू जलस्रोत सचिव छँदा यस्तो कार्य हुन गएकोमा ढुङ्गेललाई नै पछुतो लागेको रहेछ । मुहानको टुङ््गो नलाग्दै सन्धि गरिनु हुन्थेन, यसबापत मेरो भागमा पर्ने दोष स्वीकार गर्छु भनेर लेखकले केही महिनाअघि ‘योहो टेलिभिजन’का जीवराम भण्डारीसँगको अन्तर्वार्तामा भनेको कुरा कतिपय दर्शक/पाठकलाई हेक्का होला ।

पढाइको प्रभाव

कृषि–अर्थशास्त्रका विज्ञहरू भन्ने गर्छन्– लेखपढ जानेको कृषकले खेतबारीको उत्पादन लेखपढ नजानेको किसानको दाँजोमा राम्रोसँग बढाउँछ किनभने उसले पानी, मल, बीउ, कीटनासक सबैको तजबीज गर्न जानेको हुन्छ । त्यस्तै, जिल्ला प्रशासनबारे पढेको, पढाएको व्यक्ति सीडीओ हुँदा त्यसबाट ‘उत्पादकत्व’ तुलनात्मक रूपमा बढ्नु अपरिहार्य छ । प्रजिअ ढुङ्गेलको दार्चुला सरुवालाई यसै कोटिमा राख्नु उचित होला । अध्ययन, अनुसन्धानका सान्दर्भिक पाटा र सन्दर्भसूची पुस्तकभरि नै भेटिन्छन् । त्यसैले यो ग्रन्थ सङ्ग्रहणीय हुन पुगेको छ ।

विवेच्य पुस्तकको ‘लेखक परिचय’ पृष्ठमा ढुङ्गेल कुनै बखत नेपाल नेशनल कलेज (हालको शङ्करदेव क्याम्पस) मा अध्यापनकार्यमा रहेको कुरा उल्लेख छ । नागरिकशास्त्र÷राजनीतिशास्त्र पढाउने ढुङ्गेल सरको कक्षामा रहने विद्यार्थीको समूहमा एकताका म पनि थिएँ । उहाँ कालान्तरमा प्रजिअ हुनुभयो, अर्का गुरु राममणि रिसाल त अझ अघि नै त्यस जिम्मेवारीमा पुग्नुभएको थियो । त्यसअघि अङ्ग्रेजीका शिक्षक इन्द्रनारायण पाण्डेले पनि प्रजिअ भएर काम गरेको सुनेको छु । रिसाल गुरुले चितवनमा प्रजिअ छँदा अमेरिकी प्रथम महिला हिलारी क्लीन्टनलाई स्वागत गर्नुभएको रहेछ; फोटो देखेको थिएँ । भन्नु परोइन, अध्यापन प्राध्यापनको पृष्ठभूमिबाट आउने प्रशासकले लेखेका पुस्तकमा फराकिलो परिवेश समेटिएका हुन्छन् । चर्चित पुस्तकको हकमा यही कुरा चरितार्थ हुन्छ । क्रियाशील जीवनको थालनी पत्रकारिताबाट गरेका सज्जनहरू पनि कालान्तरमा उम्दा लेखक हुन सक्छन् । मदनकुमार भट्टराईका परराष्ट्र विषयक दुई कृति यस सन्दर्भका दृष्टान्त हुन् ।

अन्त्यमा

वि.प्र.कोइराला (बीपी) ‘राष्ट्रिय मेल–मिलाप’ को नारा लिएर भारतको निर्वासनबाट स्वदेश फर्किने निर्णय भएअनुसार तयारी चलिरहेको थियो । २०३३ साल असोज–कार्तिकतिरको प्रसङ्ग हो । बीपी, गणेशमान, शैलजा र जगन्नाथ आचार्यहरूको टोली विहारको एकचोटि लहरियासराय पुगेको थियो । ‘सर्किट हाउस’ नामक अतिथि गृहमा बसेका बीपीसँग त्यसताक त्यता अध्ययनरत नेपाली विद्यार्थीहरूले भेटघाटको अवसर पाउने भएका थिए । हुन त त्यसको जानकारी धेरैले पाएका थिए, तर त्यहाँ भेला हुने बेलामा ४÷५ जना मात्र भएछन् । सम्भवतः कतिपयलाई बागी (विद्रोही) नेतालाई भेट्दा छात्रवृत्तिलगायतका सुविधाबाट वञ्चित हुनुपर्ने पो हो कि भन्ने लागेको हुँदो हो ।

तर दरभङ्गामा डाक्टरी (एम्बीबीएस्) पढिरहेका उदयकुमार सिंह, अरुणकुमार झा, उग्रनारायण पाठक, लक्ष्मीराज पाठकहरूले अन्तक्र्रियाको अवसर नछुटाउने निधो गरे; गए । निर्धारित समय १५ मिनेट मात्र थियो तर त्यो तन्किएर ४५ मिनेटभन्दा बढीको भयो किनभने बीपीलाई नै त्यो छात्र–संवाद रुचिकर लागिरहेको थियो । त्यस क्रममा एउटा प्रश्न आयो ः देशमा राजाको हुकुमी शासन छ, जताततै भ्रष्टाचार मौलाएको सुनिन्छ । स्वच्छ, प्रतिबद्ध मानिस पाउनै पनि गाह्रो छ । तसर्थ तपाईंहरूले अवसर नै पाए पनि काम कसरी गर्न सक्नुहोला ? के चाहिँ सकारात्मक परिवर्तन ल्याउनु होला त ? यस्तो सन्देहप्रति बीपीको उत्तर ः ‘परिस्थितिमा परिवर्तन ल्याउन मलाई धेरै मानिसको आवश्यकता नै पर्दैन– जम्मा ७५ जना भए पुग्छ ।’ त्यस बेला बीपीको ध्यान देशका ७५ जिल्ला र तिनमा कार्यरत ७५ सीडीओमा लक्षित भएको बुझ्न गाह्रो थिएन । यति थोरै सङ्ख्याका मानिस मात्र स्वच्छ र कर्तव्यनिष्ठ भए पनि सिङ्गै देशका लागि सुरक्षा र समृद्धिको सिलसिला बस्न सक्छ भन्ने बीपीको सोच रहेछ । डाक्टर यु.एन्.पाठकबाट बीपीको यस कथनलाई अहिले पनि पुष्टि गर्न सकिन्छ । लाग्छ, बीपीको परिकल्पनामा परेका सीडीओ ढुङ्गेल र ढुङ्गेलजस्तै नेपाली पात्रहरू हुन् ।


प्रतिक्रिया दिनुहोस !