१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

साइबर सुरक्षामा नेपालको फड्को



काठमाडौँ । विश्वव्यापी साइबर सुरक्षाको तुलनामा नेपालले आफ्नो स्तर सुधार गरेको छ । अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्गठन (आईटीयू)ले हालै सार्वजनिक गरेको साइबर सुरक्षा सूचक २०२० प्रतिवेदनअनुसार नेपाल ९४औँ स्थानमा रहेको छ । आईटीयूले सन् २०१८ मा सार्वजनिक गरेको यस्तै प्रतिवेदनमा नेपाल १०९औँ स्थानमा थियो अर्थात् नेपाल दुई वर्षको अन्तरमा यस्तो सूचकमा १५ स्थान माथि उक्लिएको छ ।

प्रतिवेदनले नेपालमा साइबर सुरक्षासँग सम्बन्धित कानुनी व्यवस्थामा सुधार आएको उल्लेख गरेको छ । जुन सूचकमा नेपालले १५.६१ अङ्क हासिल गरेको छ । साइबर सुरक्षा जाँचका लागि प्रयोग गरिएका अन्य सूचकमध्ये क्षमता विस्तारमा ९.६०, सङ्गठनात्मक मापदण्डमा ९.५८ र प्राविधिक मापदण्डमा केवल ५.९४ अङ्क प्राप्त गरेको छ । साइबर सुरक्षाको सन्दर्भमा सरकारले पछिल्लो समय विभिन्न पहल पनि गरिरहेको छ । हालै मात्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले साइबर सुरक्षा नीतिको मस्यौदा सार्वजनिक गरिसकेको छ । उक्त मस्यौदाउपर सरोकारवालाबाट सुझाव सङ्कलन गरिसकेको अवस्था छ ।

त्यस्तै दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले पनि साइबर सुरक्षा विनियमावली तयार गरेर कार्यान्वयनमा ल्याएको छ । यसबाहेक साइबर सुरक्षासँग सम्बन्धित सूचना सम्पे्रषण तथा आवश्यक कानुनको मस्यौदा निर्माणमा पनि प्राधिकरणले पहल गरिहेको छ । सरकारले साइबर सुरक्षा तथा चुनौतीसँग जुध्न आकस्मिक सहायता समूहसमेत गठन गरेको छ ।

प्रतिवेदनअनुसार सार्क क्षेत्रभित्र मात्र भने नेपाल केही कमजोर देखिएको छ । सार्क क्षेत्रमा नेपाल पाँचौँ स्थानमा रहेको छ । सूचीको सबैभन्दा अगाडि रहेको भारत विश्वभर दसौँ स्थानमा परेको छ । त्यसपछि बङ्गलादेश ५३, पाकिस्तान ७९ र श्रीलङ्का ८३औँ स्थानमा रहेका छन् । नेपालपछि रहेको भुटान १३४औँ स्थानमा छ भने अफगानिस्तान १७१औँ स्थानमा छ । साइबर सुरक्षाको यो सूचीमा १८२ वटा देश समेटिएका छन् । विश्वभर सबैभन्दा राम्रो साइबर सुरक्षा रहेको मुलुकमा रूपमा संयुक्त राज्य अमेरिका सबैभन्दा अगाडि छ । त्यसपछि बेलायत, साउदी अरब, इस्टोनिया र दक्षिण कोरिया क्रमशः दोस्रोदेखि पाँचौँ स्थानमा रहेका छन् ।

यमन, भ्याटिकन, माइक्रोनेसिया प्रतिवेदनको सबैभन्दा पुछारमा रहेका छन् तर यी देशबाट तथ्याङ्क सङ्कलन नभएको प्रतिवेदनमा स्पष्ट उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !