घट्दै फोरजीका प्रयोगकर्ता « Supremekhabar
Edition
   ४ आश्विन २०७८, सोमबार
 |   Mon Sep 20 2021
Logo

घट्दै फोरजीका प्रयोगकर्ता



 काठमाडौ ।पछिल्लो समय नेपालमा  फोरजीका ग्राहक घट्न थालेका छन् । केही महिना महिना अगाडिसम्म उल्लेख्य मात्रामा थपिएका ग्राहक पछिल्लो समय घट्न थालेका हुन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को १० महिना (गत साउनदेखि जेठ मसान्तसम्म) को तथ्याङ्कअनुसार गत वैशाखको तुलनामा जेठमा प्रयोगकर्ता घटेको पाइएको हो ।

प्राधिकरणको तथ्याङ्कअनुसार वैशाख मसान्तसम्म ७६ लाख ९७ हजार ८६३ जना फोरजीका प्रयोगकर्ता रहेकामा जेठमा ७६ लाख ६४ हजार ४५९ पुगेको छ । गत वैशाखकोे तुलनामा जेठमा ३३ हजार ५०४ जनाले कमी आएको छ ।

नेपालमा तीन दूरसञ्चार सेवा कम्पनीले फोरजी सेवा सञ्चालन गरेका छन् । तीन कम्पनीमध्येमा सबैभन्दा धेरै ग्राहक एनसेलको  छ । दश महिनामा सो कम्पनीका फोरजीका ग्राहक ४८ लाख पाँच हजार पुगेको छ । गत चैत महिनामा ५० लाख १७ हजार १७० रहेको जनाइएको छ ।

सरकारी स्वामित्वमा सञ्चालित नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) नेपाल टेलिकमले २१ हजार बढी फोरजी प्रयोगकर्ता थपेको छ । वैशाखसम्म टेलिकमसँग २६ लाख ८६ हजार प्रयोगकर्ता रहेकामा जेठ महिनामा २७ लाख सात हजार ४२९ पु¥याएको प्राधिकरणले जनाएको छ ।

यसैगरी स्मार्ट टेलिकमका फोरजी प्रयोगकर्ता एक लाख ५१ हजार ७१५  पुगेको छ । गत वैशाखसम्म स्मार्टका प्रयोगकर्ता दुई लाख छ हजार ३९३ जना रहेका थिए । स्मार्ट टेलिकमका फोरजीका मात्र ग्राहक रहेका छन् ।

९१ प्रतिशत जनताको पहुँचमा इन्टरनेट

नेपालमा ९१ प्रतिशत जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवाको पहुँच पुुगेको पाइएको छ । प्राधिकरणले जनसङ्ख्या प्रक्षेपण (२०११–२०३०) लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा प्राधिकरणले  कूल जनसङ्ख्या दुई करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ ।

प्राधिकरणको तथ्याङ्कअनुसार जेठसम्म दुई करोड ७७ लाख छ हजार ७११ जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको छ । गत वैशाख महिनाको तुलनामा जेठमा तीन लाख ३१ हजार ४२२ बढी प्रयोगकर्ता थपिएका हुन् । गत वैशाखमा दुई करोड ७३ लाख ७५ हजार बढी प्रयोगकर्ता  थिए । उक्त तथ्याङ्कअनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ । जेठसम्म मोबाइल इन्टरनेटको हिस्सा ६५ दशमलव ६८ प्रतिशत छ ।

एक करोड २० लाख ५२ हजार बढीको पहुँचमा थ्रिजी इन्टरनेट पुगेको छ । यसमा सबैभन्दा धेरै  टेलिकमको ९५ लाख ९० हजार र एनसेलको २४ लाख ६२ हजार रहेको जनाइएको छ । गत वैशाखमा एक करोड १९ लाख ५६ हजार प्रयोगकर्ता रहेकामा जेठमा करिब ९६ हजार बढी थ्रिजीका प्रयोेगकर्ता थपिएका छन् । फिक्स ब्रोडब्याण्डको हिस्सा २५ दशमलव २७ प्रतिशत रहेको छ । यसमा एडिएसएलका सात लाख ८५ हजार र एफटिटिएच इन्टरनेट पाँच लाख ५६ हजार बढी रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !


दसैं लगायत चाडपर्व लक्षित ट्राफिक सुरक्षा योजना : मापसे अनुगमनमा कडाइ, सादा पोशाकमा प्रहरी



महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर सुरक्षा योजना बनाएको छ। ट्राफिक प्रहरीले चेकिङ कडाइ, यात्रु सहायता कक्ष लगायतका सुरक्षा योजना सार्वजनिक गरेको हो।

चाडपर्वमा हुने सवारी चाप व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा यात्रुलाई पर्न सक्ने विभिन्न समस्यालाई सम्बोधन गरी सहज यात्राको प्रबन्ध मिलाउन सुरक्षा योजना लागू गरेका हो।

योजनाको प्रभावकारी व्यवस्थापन गर्न थप जनशक्ति परिचालन, चेकमा कडाइ र नागरिक सहायता कक्षा स्थापना गरी सेवा प्रवाह गर्ने योजना रहेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) जनक भट्टराईले जानकारी दिए।

बसपार्क, टिकट काउन्टर, अन्य भिडभाड हुने स्थल तथा यात्राका क्रममा कोरोना सङ्क्रमण नियन्त्रणको लागि अपनाउनुपर्ने स्वास्थ्य मापदण्डको पालना भए नभएको चेक एव अनुगमन गर्ने, पूर्ण पालना गर्न लगाउने र सचेतना समेत जगाउने बताए।

दैनिक रूपमा ४३ ट्राफिक प्रहरी कार्यालयले दिनमा चार पटकसम्म तालिका बमोजिमको चेकिङ गर्दै आएको छ भने नाकाहरूमा २४ सैं घण्टा चेक हुने गरेको प्रहरीले जानकारी दिएको छ। चाडपर्वमा रमाइलो गर्ने बहानामा मादक पदार्थ सेवन गरी सवारी चलाउनेको सङ्ख्या बढ्ने र दुर्घटना हुनसक्ने कुरालाई मध्यनजर गर्दै रात्रिकालीन मात्र नभई दिनको समयमा समेत व्यापक रूपमा मापे चेक गरी कडाइ गरिने एसएसपी भट्टराईले बताए।

थानकोट, नागढुङ्गा, जगाती, फर्पिङ, साँखु, बालाजु बाइपास, मुड्खु, टोखा लगायतका बाट उपत्यका बाहिरिने सबै प्रकारका सवारी साधनहरूलाई नाकामा कडाइका साथ चेकिङ कडा पारिएको प्रहरीले जानकारी दिएको छ। मुख्यतया लामो दुरीका सवारी साधनमा क्षमता भन्दा बढी यात्रु राखे नराखेको, बढी भाडा लिए नलिएको, चालकले मापे गरे नगरेको, चालकको अवस्था, स्वास्थ्य मापदण्ड पालना भए नभएको चेक गर्ने महाशाखाले जनाएको छ।

महाशाखाले सार्वजनिक गरेको विशेष सुरक्षा योजनामा लामो दुरीका सवारी साधनमा २ जना चालक अनिवार्य रूपमा भए/नभएको ट्राफिक प्रहरीको एपबाट समेत चेक गर्ने उल्लेख छ ।

चाडपर्वका बेला किनमेल गर्ने र उपत्यका छाड्नेको बाक्लो उपस्थिति हुने एरियामा थप जनशक्ति परिचालन गर्ने महाशाखाको योजना रहेको छ। विशेषगरि बसपार्क एरिया, उपत्यका प्रवेश गर्ने नाकाहरू, सपिङ कम्प्लेक्स तथा व्यापारिक केन्द्रहरूमा किनमेलका लागी आउने मानिस तथा सवारी साधनको बढी भिडभाड हुने गर्छ, त्यस्ता स्थानहरूमा अतिरिक्त ट्राफिक प्रहरी जनशक्ति परिचालन गरिएको छ।

न्युरोड, ठमेल, कालीमाटी, कलङ्की, बल्खु, कोटेश्वर, गौशाला, चाबहिल, बौद्ध, बालाजु, बसपार्क लगायतका एरियामा बढी भिडभाड हुने कारण हुने विगतको अनुभवलाई मनन गर्दै त्यस्ता क्षेत्रमा थप जनशक्ती परिचालन गरी ट्राफिक व्यवस्थापन पार्किङ व्यवस्थापन मिलाइने भएको हो।

उपत्यकाको १४ स्थानमा यात्रु सहायता कक्षहरू सञ्चालन हुने भएको छ । नागढुङ्गा, कलङ्की, स्वयम्भू, माछापोखरी, नयाँ बसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, जागती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा सहायता कक्ष रहनेछन् ।

यात्रुलाई पाकेटमार तथा अन्य आपराधिक गतिविधि र सुरक्षा सम्बन्धी सू–सुचित गर्न, स्वास्थ्य प्रोटोकलको पालना गर्न, टिकट तथा भाडा ठगी लगायतका यात्रुहरूको गुनासो व्यवस्थापन गर्न, सहज यात्राको व्यवस्था समेत यात्रु सहायता कक्षले गर्ने महाशाखाले जनाएको छ।

यात्रुले स्पष्ट देखिने गरी टिकट काउन्टरमा अनिवार्य भाडा दररेट टाँस गर्न लगाउने, टिकट काट्ने व्यक्तिहरू तथा यातायातसँग सरोकार राख्ने व्यक्तिहरूको सहजै पहिचानका लागि परिचयपत्रको व्यवस्था मिलाउन समन्वय सहकार्य गरिने महाशाखाले उल्लेख गरेको छ।

नियमित ट्राफिक व्यवस्थापनमा मात्र नभई चाडपर्वको समयमा हुन सक्ने सवारी चाप, यात्रुसँग बढी भाडा लिइ हुने ठगी, यात्रुसँग हुने अमर्यादित व्यवहार, गन्तव्य नपुगी गाडीबाट ओराल्दिने, स्वास्थ्य मापदण्ड पालना नगर्ने जस्ता समस्या आउन नदिन ट्राफिक प्रहरी सजक र सक्रिय रहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस !

विद्युत खपत बढाउन कुलमान देश दौडाहामा, उत्पादित विद्युत खपत गर्न नसक्दा दैनिक रुपमा लाखौं रुपैयाँ खेर



नेपाल विद्युत प्राधिकरणले विद्युत् खपत बढाउने योजनाअन्तर्गत ठूला उद्योगहरुलाई मागेजति विद्युत उपलब्ध गराउन निर्धाणाधीन प्रसारण तथा वितरण लाइन र सबस्टेसन आयोजनाहरुको निर्माणलाई जतिसक्दो छिट्टो सम्पन्न गर्ने पहल सुरु गरेको छ ।

प्राधिकरणले विद्युत खपत बढाउन योजनावद्धरुपमा पूर्वाधार विस्तारलाई उच्च प्राथमिकतामा राखी अगाडि बढाएको छ ।

प्रसारण तथा वितरण लाइनको क्षमता अभावमा उद्योगीहरुलाई मागेअनुसार विद्युत उपलब्ध गराउन नसक्ने र उत्पादित विद्युत खपत गर्न नसकी वित्तीय नोक्सानी बेहोर्नु पर्ने अवस्था आएपछि प्राधिकरणले खपत बढाउने योजना अगाडि सारेको हो ।

अल्कालीन योजनाअन्तर्गत विद्युत माग गरेका उद्योगहरुलाई प्रसारण तथा वितरण लाइनको सुदृढीकरण तथा क्षमता विस्तार गरी तत्काल विद्युत दिने र निर्माणाधीन आयोजनाहरुको काम जतिसक्दो छिट्टो सम्पन्न गर्ने रहेको छ । दीर्घकालीन योजनाअन्तर्गत विद्युत खपत बढ्न सक्ने सम्भावित ठाउँहरुको पहिचाहन गरी प्रसारण तथा वितरणतर्फका लाइन तथा सबस्टेसन निर्माण सुरु गरिने छ ।

उद्योगीहरुले मागेजति विद्युत नपाएको गुनासो गरेपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार र आइतबार हेटौडा, सिमरा, विरगञ्ज, भरतपुर, परासी, भैरहवा औद्योगिक करिडोर क्षेत्रको स्थलगत अवलोकन गरी सञ्चालनमा रहेका र निर्माणाधीन प्रसारण तथा वितरण लाइन, सबस्टेसनहरुको अवस्थाका बारेमा जानकारी लिएका छन् । त्यस क्षेत्रमा संचालित र आगामी दिनमा खुल्ने उद्योगलाई पर्याप्त विद्युत् आपूर्ति गर्न प्रसारण लाइन र सबस्टेसन आयोजनाहरु निर्माणाधीन छन् ।

कार्यकारी निर्देशक घिसिङले आयोजना व्यवस्थापन तथा ठेकेदार, वितरण तथा ग्राहक सेवा केन्द्रका प्रमुखहरुसँग आयोजनास्थलमै छलफल गरी निर्माणमा देखिएका समस्या र समाधानका उपायकाबारेमा छलफल गरेका छन् । ‘एकतर्फ देशभित्र उत्पादित विद्युत खपत गर्न नसकी दैनिक रुपमा लाखौं रुपैयाँ खेर फालिरहेका छौं भने अर्कोतर्फ पूर्वाधार अभावमा उद्योगहरुलाई मागेजति विद्युत दिन सकिरहेका छैनौं, यस्तो पीडादायी अवस्थाको अन्त्य गर्न चाहन्छौं’, घिसिङले भने, ‘निर्माणाधीन आयोजनाहरु सम्पन्न भएपछि उद्योगहरुलाई मागेअनुसार विद्युत दिन सकिन्छ भने आम उपभोक्ताले गुणस्तरीय, विश्वसनीय विद्युत् पाउने छन्, चुहावट घटाउन घट्ने छ, प्रसारण क्षमता सुदृढ हुनेछ ।’ उनले विद्युत खपत बढाउनु पर्ने अहिलेको चुनौतीपूर्ण अवस्थामा आयोजनाहरुको काम समयमै सम्पन्न गरी सहयोग गर्न सम्बद्ध सबैलाई आग्रह गरे ।

सिमरा र विरगञ्ज क्षेत्रका उद्योगहरुको विद्युत आपूर्तिलाई विश्वसनीय बनाउन हेटौडा–परवानिपुर ६६ केभी डबल सर्किट प्रसारण लाइनमा नयाँ टावर थप गर्ने र पुरानो कन्डक्टर निकाली लाइनको क्षमता बढाउने काम भइरहेको छ । यो काम सम्पन्न भएपछि त्यस क्षेत्रमा थप विद्युत आपूर्ति दिन सकिने छ । निर्माणाधीन हेटौडा–ढल्केबर ४०० केभी प्रसारण लाइनबाट बाराको पिलुवा क्षेत्रमा नयाँ सबस्टेसन निर्माण गर्ने र अमलेखगञ्जमा रहेको सबस्टेसनबाट थप फिडर निकाली विद्युत आपूर्तिको सम्भावनाका विषयमा पनि घिसिङले छलफल गरेका छन् । यसका लागि अध्ययन गरी प्रस्ताव पेश गर्न उनले निर्देशन दिए ।

नपलपरासीको परासी क्षेत्रमा सञ्चालित उद्योगहरुलाई विद्युत आपूर्तिका लागि सुनवलमा १३२÷३३ केभी सबस्टेसन निर्माणाधीन छ । सबस्ेटसनको निर्माण आगामी चैतभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ‘सबस्टेसन सञ्चालनमा आएपछि त्यहाँबाट थप ९० मेगावाट विद्युत उद्योगहरुलाई दिन सकिन्छ भने आपूर्ति पनि विश्वसनीय हुने छ’, कार्यकारी निर्देशक घिसिङले भने । त्यस क्षेत्रमा सञ्चालित उद्योगहरुले क्षमता थप्न लागेको र नयाँ उद्यागहरु पनि खुल्न लागेकोले विद्युतको माग उच्च रहेको छ ।

रुपन्देहीको भैरहवा औद्योगिक करिडोरमा रहेका उद्योगहरुलाई विद्युत आपूर्तिका लागि बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन र मैनहिया १३२÷३३÷११ केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ । कोभिड–१९ का कारण चिनियाँ प्राविधिकहरु आउन नसक्दा सबस्टेसनको परीक्षण हुन सकेको छैन । सबस्टेसन सञ्चालनमा आएपछि थप ९० विद्युत आपूर्ति दिन सकिने छ ।

होङ्शी सिमेन्टलाई तीन महिनाभित्रमा विद्युत

चिनियाँ लगानीमा खुलेको होङ्शी सिमेन्टलाई तीन महिनाभित्रमा विद्युत् आपूर्ति दिन सकिने भएको छ । उद्योगका लागि निर्माण भइरहेको बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माणमा केही ढिला हुने भएपछि वैकिल्पिक व्यवस्था गरी विद्युत आपूर्ति दिन लागिएको छ । भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको बीच खण्डबाट ‘ट्यापिङ’ गरी होङ्शी सिमेन्टलाई विद्युत आपूर्ति दिन लागिएको हो ।

कार्यकारी निर्देशक घिसिङले उद्योगका पदाधिकारीहरुसँग छलफल गरी तीन महिनाभित्र विद्युत आपूर्ति दिन सकिने भएकाले सोही अनुसार आवश्यक तयारी गर्न आग्रह गर्नुभएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिमन्ट उद्योगसँग विद्युत् पुर्याउने घोषणा अनुसार यो लाइन बनिरहेको हो । लाइन नपुग्दा होङ्शी सिमेन्टले अहिले डिजेलमार्फत विद्युत् उत्पादन गरी प्रयोग गरिरहेको छ ।

उद्योगको क्षमता विस्तार गर्न लागेकाले होङशीलाई मात्रै करिब ८० मेगावाट विद्युत आवश्यक पर्ने बताइएको छ । वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान स्वीकृतिमा भएको ढिलाइ र निजी जग्गा प्राप्तिको समस्याका कारण बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनको निर्माण पूर्ण रुपमा सम्पन्न हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस !

सेयर बजारमा पहिरो,नेप्से परिसूचक ४ प्रतिशत घट्दै २७०० विन्दुभन्दा तल झर्यो



साताको पहिलो कारोबार दिन नेप्से परिसूचकले २७५०–२८०० विन्दुको बलियो टेवा क्षेत्रलाई तोडेर तल झरेको छ। यस दिन नेप्से परिसूचक ४ प्रतिशत घट्दै २७०० विन्दुभन्दा तल झरेको छ।

यस अघि नेप्सेले बारम्बार २७५०–२८०० क्षेत्रमा टेवा पाइरहेको थियो। त्यसैले, यस दिन पनि नेप्सेले सो क्षेत्रमा टेवा पाइ उकालो लाग्ने आंकलन लगानीकर्ताहरुले गरेका थिए। तर, लगानीकर्ताहरुको अपेक्षा विपरित नेप्सेले त्यहाँ टेवा पाउन सकेन। यद्यपि, कारोबार अवधिमा भने नेप्सेले सो टेवा विन्दु बारम्बार परीक्षण गरेको थियो।

सोमबार नेप्से परिसूचक ११४.०२ अंक घटेर २६९८.२४ विन्दुमा झरेको छ। नेप्से ४ महिनापछि २७०० विन्दुभन्दा तल झरेको हो। यस अघि गत बैशाख ३० गते नेप्से २७०० विन्दुभन्दा मुनि अर्थात २६८४.०१ विन्दुमा रहेको थियो। यस दिन सेन्सेटिभ इण्डेक्स १९.५१ अंक घटेर ५०६.२७ विन्दुमा पुगेको छ।

सोमबार बजारमा २२५ कम्पनीको १ लाख ७ हजार ५९६ पटकको कारोबारमा ८ अर्ब ४९ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

कारोबारमा आएका २२५ कम्पनीमध्ये यस दिन ९ कम्पनीको मात्र शेयरमूल्य बढेको छ। जसमध्ये ४ लघुवित्त कम्पनी रहेका छन् भने ३ ऋणपत्र रहेका छन्। यस दिन पोखरा फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, गुडविल फाइनान्स, घलेम्दी हाइड्रोपावर, हिमालयन उर्जा, आइसीएफसी फाइनान्स र युनाइटेड इदी मार्दीको शेयरमूल्य १० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४० करोड ६५ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

सोमबार पनि १३ वटै उपसमूहका परिसूचक घटेका छन्। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ८.५६ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन विकास बैंक र जलविद्युत उपसमूहको परिसूचक ६ प्रतिशतभन्दा बढी घटेको छ भने जीवन बीमा उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी घटेको छ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: