१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

खाद्य प्रविधि तथा गुण नियन्त्रणको वार्षिक प्रगति विवरण



काठमाडौ ।कृषि तथा पशुपन्छी विकास मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले गत आर्थिक वर्ष २०७७/०७८ मा जिल्लाका चारवटा उद्योगहरुमाथि जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको छ । दूषित कुखुराको दाना उत्पादन गर्ने आर.आर. फार्म प्रा.लि., भरतपुर–२१ माथि २०७७ फागुन ५ मा, एपोलो फिड्स प्रा.लि. भरतपुर–११ माथि चैत ३१ मा, ग्लोबल एग्रो प्रोडक्स प्रालि भरतपुर १६ माथि चैत ३१ मै र लेवल नभएको भेनेगर उत्पादन गर्ने आचार्य फुड्स उद्योग रत्ननगर–३ उपर पुष २४ मा मुद्दा दायर गरिएको कार्यालयले जनाएको छ ।
दाना पदार्थ ऐन २०३३ मा दूषित दाना उत्पादन गर्ने व्यक्तिलाई २० हजारदेखि ५० हजारसम्म जरिवाना वा एक महिनादेखि एक वर्षसम्म कैद समेत हुन सक्ने प्रावधान रहेको र खाद्य ऐन अनुसार लेवल नभएको मुद्दामा १० हजार सम्म जरिवाना हुने व्यवस्था रहेको कार्यालय प्रमुख घननाथ अधिकारीले जानकारी दिए ।
अन्य मुद्दामा चितवनको बजारमा सूर्यमुखी तेल न्यून गुणस्तरको पाइएकोमा प्रारम्भिक अनुसन्धानपछि नेपालगन्ज फाइल पठाइएको, चिनी न्यून गुणस्तरको पाइएकोमा प्रारम्भिक अनुसन्धानपछि सर्लाही फाइल पठाइएको, दूषित पाइएको महको सम्बन्धमा प्रारम्भिक अनुसन्धानपछि पर्सा र विभागमा फाइल पठाइएको, दूषित ह्वीस्की सम्बन्धमा अनुसन्धान जारी रहेको, न्यून गुणस्तरको चियामा पनि अनुसन्धान जारी रहेको, कुखुरा र गाईभैंसीको दूषित दाना एवम् दूषित अचारमा पनि अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।
गत आ.व.को वार्षिक लक्ष्य अनुसार ऐन बमोजिम दाना नमूना संकलन परिमाण २१ रहेकोमा २१ नै नमूना संकलन गरिएको, खाद्य स्वच्छता सर्भिलेन्सका लागि १०५ नमूना संकलन गर्ने लक्ष्य राखिएकोमा १०५ नै नमूना संकलन भएको, रेडिप रेस्पोन्स मोडालिटीबाट १२ पटक अनुगमनको लक्ष्य राखिएकोमा २१ पटक अनुगमन भएको, खाद्य बजार अनुगमन ५१ पटक गर्ने लक्ष्य रहेकोमा ७२ पटक गरिएको, दाना बजार अनुगमन लक्ष्य १० पटक रहेकोमा १४ पटक गरिएको, होटल रेष्टूरेन्ट अनुगमन लक्ष्य ५५ रहेकोमा ५८ पटक भएको, होटल लोगो स्तरीकरण तथा नवीकरण लक्ष्य ३ पटक रहेकोमा ३ पटक नै भएको कार्यालयको वर्षिक प्रगति विवरणमा जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !