६ चैत्र २०८०, मंगलवार
 |   Tue Mar 19 2024
Logo

मन्त्रिमण्डलमा काँग्रेसभित्र यसरी मिलाइँदैछ सन्तुलन



काठमाडौ । मन्त्रिपरिषद विस्तारको तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसको संस्थापन इत्तर पक्षसँग मन्त्रीको नाम मागेका छन् । काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलासँग मन्त्रीको नाम मागेका हुन् ।असार २९ गते सरकारको नेतृत्व सम्हालेका देउवाले सोही दिन आफू निकट बालकृष्ण खाणलाई गृह र ज्ञानेन्द्र बहादुर खड्कालाई कानुनमन्त्री बनाएका थिए । साउन १० गते उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएका छन् ।

नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एमालेको माधव नेपाल समूहको सहयोगमा सरकारमा पुगेका देउवाले गठबन्धनसँगै पार्टीभित्र पनि सन्तुलन मिलाउनुपर्ने चुनौती छ ।अब काँग्रेसले बढीमा ५ मन्त्रालय पाउने  अवस्था छ । थप दुई मन्त्री आफ्नो पक्षलाई हुने गरी देउवाले पौडेललाई दुई र सिटौलासँग एक मन्त्रीको नाम पठाउन भनेको स्रोतले रातोपाटीलाई जानकारी दियो । तर पौडेलले चार मन्त्रालयको दाबी राखेका थिए ।

यद्यपि आफ्नो समूहभित्र सन्तुलन मिलाउन कम्तिमा ३ मन्त्रालय पाउनै पर्ने पौडेलको अडान छ । पौडेलले दिलेन्द्र बडू र तेजुलाल चौधरीको नाम मन्त्रीका लागि अगाडि सारिसकेका छन् ।तर, महामन्त्री शशांक कोइराला र नेता प्रकाशमान सिंहलाई मिलाउनुपर्ने पौडेललाई बाध्यता छ ।

कोइराला र सिंहले पनि आफ्ना प्रतिनिधि सरकारमा पठाउन  पौडेललाई दबाब दिरहेको अवस्था छ । तर, यसपटक पौडेलले शशांक र प्रकाशमान पक्ष मध्येबाट एकजनालाई मात्र मन्त्री बनाउने रणनीति बनाएको बुझिएको छ ।

तीनवटा मन्त्रालय पाएको अवस्थामा दुईजना आफू निकट र एक जना कोइराला–सिंहको प्रतिनिधि पठाउन खोजेका छन् । तर शशांकले सुजाता कोइरालालाई मन्त्री बनाउन केही दिनअघि प्रधानमन्त्री देउवालाई नै भेटेका थिए ।

सुजातालाई मन्त्री बनाउन सकारात्मक देखिए पनि उपप्रधानमन्त्री नदिनसकिने देउवाले शशांकलाई भनेका थिए । तर, सुजाताले मन्त्री बन्ने दौड रोकेकी छैनन् । कोइराला स्रोतका अनुसार मालदार मन्त्रालय पाए उपप्रधानमन्त्री विनै पनि मन्त्री बन्ने सुजाताले संकेत देखाएकी छन् ।

यता सिंहले राजन केसीलाई मन्त्री बनाउन पौडेलमाथि दबाब बढाएको पाइन्छ । तर, प्रधानमन्त्री देउवाले सिंहलाई नै सरकारमा भित्र्याउन खोजेका थिए । सभापतिको दौडमा रहेका सिंहले अहिलेसम्म देउवाको प्रस्ताव स्वीकार गरिसकेको अवस्था छैन ।

 सिंहको सरकार इन्ट्रीमा नेता कृष्णप्रसाद सिटौला र महामन्त्री पूर्णबहादुर खड्काले पनि अवरोध खडा गरेको काँग्रेस वृत्तमा चर्चा छ । यतिबेला सिंहको सरकारमा प्रवेशले देउवासँगको सहकार्यमा जोडिदिने सिटौला र खड्कालाई डर छ ।देउवालाई चुनौती लिँदै उपसभापति विमलेन्द्र निधिले सभापतिमा दाबी गरेपछि यतिबेला संस्थापन पक्षमा खड्का हाबी भएको अवस्था छ ।

देउवासँग कार्यगत सहकार्य गर्दै आएका सिटौलाका लागि सिंह र देउवाको सहकार्य चिन्ताको विषय बन्छ । पार्टीभित्र सिटौलाको झुकाव अझै पनि देउवासँग बढी छ ।गठबन्धनको सरकारमा पनि देउवाले सिटौलालाई भाग छुट्याएका छन् । सिटौलाले आफ्नो तर्फबाट उमाकान्त चौधरीलाई अगाडि सारेका छन् ।

पौडेल पक्षबाट तेजुलाल चौधरी मन्त्री भएको अवस्थामा सिटौलाले मन्त्रिमण्डल समावेशी बनाउन भीमसेनदास प्रधान रोज्ने सम्भावना पनि छ । प्रधानलाई मन्त्री बनाउन देउवा पनि सकारात्मक नै देखिएको पाइन्छ । देउवाले आफ्नातर्फबाट भने नारायण खड्का र  पुष्पा भुसाललाई प्राथमिकतामा राखेको पाइन्छ ।यद्यपि, पौडेल र सिटौला पक्षको नाम प्राप्त भइसकेपछि सबै कुरा मिलाएर आफू पक्षीय मन्त्रीको टुंगो लगाउने देउवाको रणनीति छ


प्रतिक्रिया दिनुहोस !