१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

ओली–नेपाल भेटवार्ताको तयारी



काठमाडौ । नेकपा एमालेभित्रको विवाद समाधान गर्ने प्रयासस्वरुप मङ्गलबार पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ताको तयारी गरिएको छ । एमाले नेता सुवास नेम्वाङका अनुसार दुई नेताबीच आज भेटवार्ता गर्ने तय भए पनि समय र स्थान भने तय भइसकेको छैन । ‘आज भेट हुन्छ, समय र स्थान ‘फिक्स’ हुन बाँकी छ,’ नेम्वाङले रातोपाटीसँग भने ।

पछिल्लो समय ओली र नेपाल सार्वजनिक कार्यक्रममा एक अर्काप्रति आक्रामक देखिएपनि विघटित कार्यदलका सदस्यहरुसहित दोस्रो तहका नेताहरूले भने पार्टी एकताका लागि निरन्तर पहल जारी राखेका छन् । दोस्रो तहका नेताहरू कै पहलका कारण ओली पक्षले माधव पक्षलाई स्पष्टीकरण सोधे पनि कारबाही अघि बढाएको छैन ।

उता, माधव नेपालले पनि आफू पार्टी एकताकै पक्षमा रहेको स्पष्ट पारेका छन् । सोमबार राजधानीमा भएको आफू निकट स्थायी समिति बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘कमरेडहरू सबैको एकताको भावनासँग मेरो पनि एकरूपता छ । त्यसैले मैले बारम्बार एकता हाम्रो इच्छा र चाहना हो भन्ने गरेको छु । सकेसम्म छिटो, सम्मानजनक र सुव्यवस्थित ढङ्गले एकता होस् भन्ने मेरो चाहना छ ।’


प्रतिक्रिया दिनुहोस !