१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

तामाकोसीका ६ वटै युनिटबाट विद्युत उत्पादन सुरु, भदौ १५ देखि ४५६ मेगावाटकै व्यावसायिक उत्पादन



माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट ४५६ मेगावाट विद्युत उत्पादन सुरु भएको छ। नेपाल विद्युत प्राधिकरणको ३६ औं वार्षिकोत्सवको अवसर पारेर ६ वटै युनिटबाट विद्युत उत्पादन सुरु भएको आयोजनाले जनाएको हो।

चार वटा युनिटबाट व्यावसायिक विद्युत उत्पादन सुरु भइसकेको माथिल्लो तामाकोसीबाट भदौ १५ गतेभित्र ४५६ मेगावाटकै व्यावसायिक विद्युत उत्पादन सुरु हुने आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बताए।

बिहानदेखि साँझसम्म र पिक समयमा आयोजना पूर्ण क्षमतामा चले पनि रातको समयमा भने आवश्यकता अनुसार मात्रै चलाउने गरिएको उनले बताए। आयोजनाको परीक्षणका लागि पहिलोपटक वैशाख १६ गते सुरुङमार्गमा पानी हालेर सुरु गरिएको थियो।

तर तल्लो भर्टिकल (२७३ मिटर) र माथिल्लो भर्टिकल (३१० मिटर) जोड्ने तेस्रो भागको पेनस्टक पाइपमा बनाइएको ‘म्यानहोल’ को बिर्कोबाट पानी चुहिएपछि परीक्षण रोकियो। पेनस्टकमा कुनै समस्या आए भित्र गएर मर्मत गर्न म्यानहोल बनाइएको हुन्छ।

त्यसपछि दोस्रो अडिट टनेलबाट पानी चुहिएर केहि समय परीक्षण रोकियो। आयोजनाले असार २१ गते पहिलो युनिटबाट उत्पादन सुरु गरेको हो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट स्वीच थिचेर भर्चुअल उद्घाटन गरेसंगै पहिलो युनिट (७६ मेगावाट) उत्पादन सुरु गरिएको थियो।

चैतमा नै पहिलो युनिटबाट उत्पादन गर्ने लक्ष्य थियो। तर विभिन्न समस्या आएका कारण उत्पादन मिति धकेलिएको हो।२०६८ सालमा निर्माण सुरु भएको आयोजना २०७२ निर्माण सक्ने लक्ष्य थियो।

निर्माण सम्पन्न हुनुपर्ने बर्ष आएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पुर्‍याएको क्षति तथा अवरोध, मधेश आन्दोलन तथा भारतीय नाकाबन्दीका कारण निर्माण सामाग्री अभाव, ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल (लट २) ठेकेदारको कमजोर कार्यसम्पादन लगायतका विविध कारणले ढिला भएको आयोजनाले जनाएको छ।

लट २ को ठेक्का  भारतीय कम्पनी टेक्स्म्याको रेल एण्ड इन्जिनियरिङले पाएको थियो। कम्पनीको कमजोर कार्यसम्पादनका कारण बाँधका पेनस्टक पाइपलगायतका हाइड्रोमेकानिकल उपकरणहरु उत्पादन र जडानमा ढिलो भइ आयोजनाको समग्र निर्माण कार्यमै ढिलाइ भएको हो। उक्त ठेक्का  वित्तीय भार नपर्ने गरि इलेक्ट्रोमेकानिकल (लट ३) को ठेकदारलाई दिएर सम्पन्न गरिएको हो।


प्रतिक्रिया दिनुहोस !