१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

के हो क्वाँटी ? यस्ता छन् क्वाँटी खानुका फाइदा



काठमाडौं – आज जनै पूर्णिमा अर्थात रक्षा बन्धन पर्व परेको छ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन यो पर्व मनाइन्छ । आजको दिन प्रत्येक दाजुभाइ दिदीबहिनीका लागि विशेष छ । किनकि, जनै पूर्णिमा बन्धनको चाड हो ।

आज विशेषगरी सरहरी क्षेत्रका पसलमा झिलीमिली सुरक्षाको धागो अर्थात् ‘राखी’ राखिएको छ । तिनै धागो दिदीबहिनी र दाजुभाइले एकअर्कोलाई बाँधिदिन्छन्, जसले उनीहरूको सुरक्षाको प्रत्याभ्रति दिने विश्वास गरिन्छ ।

त्यस्तै, आजकै दिन विशेषगरी उपत्यकाका नेवार समूदायमा क्वाँटी खाने परम्परा छ । अहिले आएर यो चलन सबै समूदायसम्म पुगेको छ ।

के हो क्वाँटी ?

सबैको घरमा पकाइने परिकार हो ‘क्वाँटी’ । दुई दिन गेडागुडी भिजाएर जनै पूर्णिमाको दिन क्वाँटी बनाइन्छ । नेपालभाषामा क्वातीको शाब्दिक अर्थ ‘क्वाः’ भनेको तातो खानेकुरा ‘ती’ भनेको झोल हो । त्यहीभएर ‘क्वाती’ भनेको झोलिलो परिकार हो ।

परम्पराअनुसार ‘क्वाँटी’मा नौ थरीका गेंडागुडी मिसाइएको हुन्छ । मुगी, मास, भटमास, सानो केराउ, मस्याङ, चना, सिमी, बोडी र बकुल्लो । तर, अहिले यी बाहेक अन्य गेडागुडी पनि मिसाउने चलन छ । यी गेंडागुडी मिसाएर भिजाएपछि टुसा उम्रिन्छ जसलाई ‘क्वाँटी’ भनिन्छ ।

हरियो टुसा पलाएको गेंडागुडीलाई विभिन्न मरमसला राखेर बाक्लो झोल तरकारीका रुपमा पकाइन्छ र भात, पुलाउ, रोटीलगायतका खानेकुरासँग खाइन्छ । नेवार समूदायले खाने विशेष प्रकारको क्वाँटीलाई ’न्वाँगी’ भनिन्छ ।

यसरी क्वाँटी बनाएर खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।

विभिन्न थरी गेडागुडीको मिसाएर बनाइएको क्वाटीको रस खाएमा शरीरमा रोगप्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सकहरू बताउँछन् । आजको दिन क्वाँटी खाएमा पाचनक्रियासँग सम्बन्धित बिभिन्न रोग निको हुने जनविश्वाश रहिआएको छ ।

शक्ति र स्वाद दुवै मिल्ने भएकाले पनि क्वाँटीको विशेषता छ । कतिपय रोग निको पार्न भने नियमित रुपमा क्वाँटी सेवन गर्नुपर्ने पोषणविद् बताउँछन् ।

क्वाँटी खानुका फाइदा :

– क्वाँटी रेसादार खानाको स्रोत हो । कब्जियतको समस्या हटाउँछ । मधुमेह तथा पायल्स भएका मानिसलाईसमेत फाइदा गर्छ ।

– क्वाँटीले चाँडै मानिसलाई चाँडै बुढौलीपन देखिने समस्याबाट बचाउँछ । साथै, छाला सुन्दर, स्वस्थ र बनाउन मद्दत गर्छ ।

– तुरुन्त प्रयोग हुन सक्ने शरीरलाई चाहिने शक्तिको स्रोत दिन्छ ।

– क्वाँटी सजिलै पच्छ । यसले गर्दा, पेटमा अनावश्यक वायु बनाउँदैन । कब्जियतको समस्याबाट छुटकारा दिलाउँछ ।

– क्वाँटीमा भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन ई तथा खनिज पदार्थ प्रशस्त मात्रामा हुन्छ ।

– यसले शरीरको थकाइ कम गर्छ र तनावबाट मुक्त गराउँछ । स्मरणशक्ति बढाउँछ ।

– क्वाँटी सेवनले चाँडै शक्तिल मिल्छ । यसले रोग प्रतिरोधात्मक शक्ति बढाउँछ ।

– यसको सेवनले रोगी, बालवालिका तथा बृद्धमा हुने कुपोषण हटाउन सकिन्छ ।

–क्वाँटीको नियमित सेवनले स्मरणशक्ति पनि बढ्छ । साथै, मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ ।

– रक्तसञ्चार तथा स्नायु प्रणालीलाई धेरै फाइदा पुग्छ ।

– टुसाएका गेडागुडीमा क्षारीय गुण बढी हुन्छ । त्यसैले, क्वाँटी खानाले ‘एसिडिटी’ तथा मूत्रनलीमा संक्रमणजस्ता समस्याबाट पनि छुट्कारा मिल्छ ।

– यसको नियमित सेवनले पाचनशक्तिमा सुधार आउँछ ।

– गेडागुडीमा हुने सबै पौष्टिकतत्व शरीरले लिनसक्ने भएकाले सौन्दर्यमा पनि निखार आउँछ ।

– मधुमेह तथा पायल्स भएका मानिसलाई यसको सेवाले फाइदा गर्छ ।


प्रतिक्रिया दिनुहोस !