२४ बैशाख २०८१, सोमबार
 |   Mon May 6 2024
Logo

दार्चुलाका पाथा, घाजिर क्षत्ति गाउँको पीडा : १४० रुपैयाँ किलो चामल र ६० रुपैयाँ किलो नुन



दार्चुला : दार्चुलाको एउटा गाउँ जहाँका मानिसहरु ६० रुपैयाँ किलो नुन र एक सय ४० रुपैयाँ प्रतिकिलो चामल खान्छन्। सदरमुकाम खलंगाबाट दुई दिनमा पुगिने अपिहिमाल गाउँपालिकाको पाथा, घाजिर क्षत्तिका नागरिकले अहिले पनि प्रतिकिलो ६० रुपैयाँ किलो नुन र एक सय ४० रुपैयाँ चामल खान बाध्य छन्।

मूल्य भन्दा दोब्बर भाडा भए पछि यहाँका स्थानीयले अहिले महंगो मूल्यमा खाद्यान्न खानु परेको हो। अहिले विटुले पारिबगड सडक खण्डको ठाउँठाउँमा अवरुद्ध भएको छ। मकरीगाडसम्म सवारी साधन चल्न नसकेपछि अपिहिमाल मूल्य बढ्दै गएको पाथाका स्थानीय कपुरसिह धामीले बताए। अहिले ओखलबाटै बोकेर ल्याउनुपर्ने अवस्था पुगेको छ। आयोडिन नुन गाउँमा पाइदैन ।

भारतीय बजारबाट ल्याइएको नुन खण्डेश्वरी बजारमै ४५ रुपैयाँ प्रतिकिलो पाउन पनि मुस्किल छ, धामीले भने, बजारबाट गाउँसम्म ल्याउँदा भाडाकै कारण महंगो हुँदै गएको छ। मसिनो चामल एक सय रुपैयाँ किलो पाउँछ। गाउँमा उत्पादन हुने आलु, गहुँ, फापर, मकैले गर्दा थोरै राहत भएको छ। क्षत्ति पुग्दा मोटो चामलकै मूल्य एक सय ४० रुपैयाँ पुग्छ, क्षत्तिमा बस्दै आएकी गौमती ओइरले भने, एकै पटक क्वीन्टल चामल मगाएर खान्छौ।

सात हजार रुपैयाँ क्वीन्टल मोटो चामल पर्छ। क्षत्तिमा वर्षभरी १५ परिवार मात्रै बस्छौ। पाँच छ महिना गाउँकै उत्पादनले पुग्छ । बाकी समयको लागि चामल किनेरै खानुपर्छ। खण्डेश्वरीबाट क्षत्ति पुग्नै पाँच देखि सात घण्टा समय लाग्छ। दुर्गम क्षेत्र भएकोले यो क्षेत्रमा चामल किनेर खान सकिने अवस्था छैन्, औइरले सुनाए। विकट भएरै भनिएको थियो, नङमाथि मासु छैन्, क्षत्ति माथि गाउँ नै। गाउँमा हिउँ परेपछि खेतीपाति पनि राम्रो हुँदैन्। गहुँ फापर, मार्सीले सानो परिवार पाल्न हुन्छ। यो क्षेत्रमा यार्सागुम्बा खोजेर जिविका चलाउनु परेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !