१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

भाग्यमानी सुदूरपश्चिम सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट



कम्युनिष्टहरु भाग्यमा विश्वास गर्दैनन । र धर्मलाई अफिमको नशा मान्छन । यद्दपि कम्युनिष्ट पार्टीहरुका तर्फबाट सुदूरपश्चिम सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री त्रिलोचन भट्ट भने भाग्यमानी मुख्यमन्त्री मानिएका छन् । नेकपा बिभाजनसंगै समाजवादी पार्टी समेत गठन भईसकेको अवस्थामा माओवादी केन्द्रको हैसियत सुदूरपश्चिम प्रदेशमा दोस्रो ठूलो दलका रुपमा छ ।

तर त्यही दोस्रो ठूलो दलका तर्फबाट सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री भट्टको पद भने अझैसम्म सुरक्षित छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अत्यन्त बलिया र पार्टीभित्र पनि प्रभावशाली नेताका रुपमा चिनिन्छन । पोखरेल त नेकपा एमालेमा केपी शर्मा ओलीका उत्तराधिकारीका रुपमा समेत चिनिन्छन ।

तर तिनै बलिया मुख्यमन्त्री गुरुङ र पोखरेल तासको पत्ती झै ढले । अल्पमतमा परेर असमयमै राजिनामा दिन बाध्य भए । यद्दपि दुबै जनाले मुख्यमन्त्री पद जोगाउन साम, दाम, दण्ड, भेद सबै कोसिस नगरेका होईनन तर सबै कोसिस असफल भए । र पदबाट बाहिरिए । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेर धनराई र तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल पनि एमालेका बलिया नेता र प्रभावशाली मुख्यमन्त्री थिए । तर पार्टी जोगाउन उनीहरुले पद त्याग गर्नु पर्यो । उता कर्णाली प्रदेशका लडाकु मुख्यमन्त्री महेन्द्र शाहीको पद पनि पटक पटक धरापमा पर्यो ।

अविश्वास प्रस्ताव ल्याएर गठबन्धन दलकै नेताहरुले शाहीलाई हटाउन निकै प्रयत्न गरे । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दर्हो साथ र काँग्रेस र माधव नेपाल समूहको सहयोगका कारण उनी पटक पटक जोगिए । तर सात वटै प्रदेशका मुख्यमन्त्री मध्ये सबभन्दा कमजोर मानिने त्रिलोचन भट्ट भने केन्द्रीय राजनीतिमा भएको उथुलपुथल र प्रदेशमै पनि गठबन्धन सरकारमा सामेल दल बाहिरिदा पनि ढुक्क साथ मुख्यमन्त्री पदमा आसिन छन् ।

पर्फमेन्सका आधारमा पनि अन्य प्रदेशका मुख्यमन्त्रीहरुका तुलनामा सबभन्दा कमजोर देखिएका भट्टको पार्टीमा समेत पकड छैन । र पार्टीको पनि उनी महत्वपूर्ण जिम्मेवारीमा छैनन । सुदूरपश्चिम प्रदेश सभामा माओवादी केन्द्रका १३ जना सांसद छन् । ती मध्ये पनि नौ जना सांसद उनको विपक्षमा छन् । माओवादी स्रोत भन्छ, उनको पक्षमा खुलेर साथ दिने त माओवादी केन्द्रकै पनि एक जना सांसद छैनन । फेरि पनि उनी जोगिदै आएका छन् । ती माओवादी नेता भन्छन्, मुख्यमन्त्री भट्ट भाग्यमा त लेखेरै आएका रहेछन् ।

बलिया मानिने मुख्यमन्त्रीहरु गल्र्यामगुर्लुम्म ढले । कमजोर मानिएका भट्ट अझै सुरक्षित छन् । माओवादी पार्टीभित्र पनि भट्टलाई मुख्यमन्त्री पदबाट हटाउनु पर्ने दवाव एक वर्षअघि देखि चलेको हो । स्रोत भन्छ, माओवादी केन्द्रका सुदूरपश्चिम ईञ्चार्ज खगराज भट्ट पनि उनलाई मुख्यमन्त्री पदबाट हटाउन चाहन्छन । जुन राजनीतिको शिकार अरु मुख्यमन्त्रीहरु भए, पार्टीहरुको बिभाजनको शिकार अरु मुख्यमन्त्री हुदा मुख्यमन्त्री भट्ट भने त्यही बिभाजन र राजनीतिका कारण जोगिए ।

जव उनलाई हटाउन खोजियो । तव राजनैतिक परिस्थिति नै पटक पटक बदलियो । जव जव सञ्चारमाध्यममा मुख्यमन्त्री परिवर्तन हुने हल्ला चल्यो । त्यस लगत्तै उनी पटक पटक काठमाण्डौं गए । र प्रचण्डलाई भेटेर विश्वस्त भए । अनि उनले भन्थे, सुदूरपश्चिममा मुख्यमन्त्री परिवर्तन हुने समाचारमा सत्य होईन । म मुख्यमन्त्री पदमा कायम नै रहनेछु । पछिल्लो एक वर्ष यता कहिले प्रकाश शाह मुख्यमन्त्री हुने हल्ला चल्यो । कहिले नेपाली काँग्रेसका नेता रण बहादुर रावलको चर्चा भयो । पछिल्लो समय दीर्घ सोडारी पनि यो चर्चामा छन् ।

जति जनाको मुख्यमन्त्री बन्ने चर्चा भएपनि मुख्यमन्त्रीको बहिर्गमन भने अन्य मुख्यमन्त्रीको जस्तो हठात र वा गलहत्याएर हुने देखिदैन । उनी मख्यमन्त्रीबाट हट्नै परेपनि सहमतीमा हट्नेछन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एक महिना अघि नै केन्द्रीय राजनीतिमा भएको दलीय गठबन्धन अनुसार सहमतीका लागि मुख्यमन्त्री पद छाड्नुपर्ने अवस्था आउन सक्ने भन्दै भट्टलाई पद छोड्न मानसिक रुपमा तयार रहन निर्देशन दिईसकेको बताईन्छ । अव भने मुख्यमन्त्री भट्ट केही समयभित्र सहमतीमै मुख्यमन्त्री पद छाड्ने स्रोत बताँउछ । -खबरकुन्ज


प्रतिक्रिया दिनुहोस !