१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

सभामुख सापकोटालाई पदच्यूत गर्ने रणनीतिमा एमाले



काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) अब सभामुख अग्निप्रसाद सापकोटालाई पदच्यूत गर्ने रणनीतिमा लागेको छ । सभामुखले एमालेको कारबाहीमा परेका माधव नेपालसहित १४ सांसदलाई कारबाही गरेको सूचना टाँस नगरे सापकोटालाई राजीनामा दिन बाध्य बनाउने रणनीतिमा एमाले देखिन्छ । विधायिकाकै प्रमुख सभामुख सापकोटा एमालेको तारो बनेपछि भदौ २३ यता लगातार संसद बैठक अवरुद्ध हुँदै आएका छन् । सभामुख सापकोटा र एमालेबीच समन्वय नभएसम्म यो क्रम जारी रहने देखिएको छ ।

तर, सभामुख र प्रमुख विपक्षीबीच मिलन विन्दु अझै भेटिएको छैन । बरु एकले अर्कोलाई संसदीय मर्यादा पालना नगरेको भन्दै झनै द्वन्द्व बढाउने खेलमा लागेका छन् । सभामुखले संविधान र संसदीय कानुन बमोजिम विपक्षी एमालेले मर्यादा पालना नगरेको बताइरहेका छन् भने एमालेले सभामुख विरुद्ध संसदमै चर्को नाराबाजी गरिरहेको छ । एमाले सांसदहरु मर्यादापालकलाई छिचोल्दै कुस्ती खेल्ने मुडमा देखिन्छन् । यो सबै सभामुखलाई सच्याउने रणनीति भएको एमालेको तर्क छ ।

एमाले प्रमुख सचेतक विशाल भट्टराई सापकोटा सच्चिनै पर्ने वा पदत्याग गरेर मार्ग प्रसस्त गर्नुपर्ने बताउँछन् । सापकोटा नसच्चिएसम्म संसद अवरोध नहटने उनको भनाइ छ । देशीविदेशी शक्तिको प्रयोग एमाले विभाजन गर्दा पनि आफूहरुलाई धेरै असर नपरेको सचेतक भट्टराईको दाबी छ । एमाले एकोहोरो संसद अवरोध गरिरहने र सभामुख सापकोटाले संसदको कार्यसूची अगाडि बढाइरहने हो भने संसदीय मर्यादा कायम हुन सक्दैन । त्यसकारण सभामुख सापकोटा र एमालेबीच युद्धविराम गरी मध्यविन्दु पहिल्याउँदै गतिरोध अन्त्य गर्नु नै बुद्धिमानी ठहरिनेछ ।


प्रतिक्रिया दिनुहोस !