१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

सरकारले वितरण गरेको पदक सबैका लागि लज्जाजनक : ओली



काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा सरकारले वितरण गरेको पदक सबैका लागि लज्जाजनक भएको टिप्पणी गरेका छन् । सातौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा एमालेले आइतबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा ओलीले यसपटक सरकारले वितरण गरेको पदक सबैका लागि लज्जाजनक भएको भन्दै यसको इतिहासले निर्मम मूल्यांकन गर्ने बताएका हुन् ।

उनले सरकारले अलंकार पदकहरुको नाकमा कालो पोतेको समेत बताए । ओलीले सरकारले छानीछानी आफ्ना मान्छेलाई विभूषण र मानपदवी बाँडेको आरोप लगाउदै मुलुकका लागि योगदान गर्नेको अवमूल्यन गरिएको धारणा पनि राखे । त्यस्तै ओलीले संविधान कार्यान्वयनका बेलामा पार्टी फुटाउने र त्यसका लागि विभिन्न क्रियाकलाप भएको बताए । उनले अहिलेको सत्ता गठबन्धनले राष्ट्रपति संस्थाको हुर्मत लिएको तर्क पनि गरे ।

संविधान अनुसार बनेका संस्थाहरुको भूमिका निष्पक्ष हुनुपर्ने भन्दै ओलीले सभामुख र निर्वाचन आयोगको भूमिकाप्रति आपत्ती प्रकट गरे । ओलीले आफूले ताजा जनादेशमा जान खोज्दा प्रतिगमन भयो भन्नु संविधानको मर्म र भावनाविपरीत भएको टिप्पणी गरे । उनले आफ्नो सरकारको पालमा प्रतिगामीले पुनः टाउको उठाउन नसकून् भनेर संविधान कार्यान्वयनका लागि सक्रिय प्रयास भएको दावी गरे ।


प्रतिक्रिया दिनुहोस !