१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

माधव नेपालको राजनीतिक प्रतिवेदन : केपी ओलीको चर्को आलोचना



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटी बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरिएको छ ।

तर १० बुँदे सहमति गरी एमालेमै बसेका १० नेताबारे भने प्रतिवेदन मौन बसेको छ । जबकी नयाँ दल दर्ता हुने अन्तिम समयमा एमालेमै बसेका नेताहरुविरुद्ध एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताले चर्को आलोचना गरिरहेका छन् । तर अध्यक्ष नेपालले पेश गरेको १२ पृष्ठको प्रतिवेदनमा यी नेताहरुबारे एक ठाउँ पनि उल्लेख गरिएको छैन ।

तर दशबुँदे सहमतिबारे भने प्रतिवेदन बोलेको छ । ‘केपी ओली पक्षले २०७८ असार २७ गते राति दशबुँदे सहमति गर्नुको मूल ध्येय २८ गतेलाई पेशी तोकिएको अदालतमा विचाराधीन प्रतिनिधि सभाको विघटनसम्बन्धी मुद्दालाई प्रभावित गर्नु थियो । वार्ता त फगत नाटक मात्र थियो । अल्मल्याउने र फसाउने चाल मात्र थियो’, प्रतिवेदनमा उल्लेख छ ।

अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदनमा पार्टी विभाजन नभएर विद्रोह गरेको दावी गरेका छन् । कम्युनिष्ट आन्दोलन जोगाउन एमालेबाट अलग भएको तर्क गरिएको प्रतिवेदनमा विगतमा पनि यस्ता विद्रोह भएको सन्दर्भ उल्लेख छ । केशरजंग रायमाझीसँग कम्युनिष्ट पार्टीकै संस्थापक पुष्पलालले विद्रोह गरेर आन्दोलन जोगाएको प्रतिवेदनमा उल्लेख छ ।

‘केशरजङ रायमाझीले पार्टीलाई दक्षिणपन्थी अवसरवादको दिशामा लगेको बेला कमरेड पुष्पलाल लगायतका नेताहरूले विद्रोह गरेर पार्टी पुनर्गठन गरी आन्दोलनको रक्षा गर्नु भएको थियो । मोहनबिक्रम सिंह लगायतका नेताहरूले पनि विद्रोह गरेर नै पुनर्गठन अभियान चलाउनुभएको थियो’, अध्यक्ष नेपालको प्रतिवेदनमा  भनिएको छ ।

ओलीको आलोचना

नेकपा एमालेको पुनगर्ठन गर्न एकीकृत समाजवादी बनाएको दाबी गरिएको प्रतिवेदनमा ओलीकै कारण वाम गठबन्धन, झण्डै दुई तिहाइ जनमत, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भंग हुनु देखि एमालेको एकता समेत नजोगिएको उल्लेख छ । यसमा अध्यक्ष ओलीको निरंकुश र व्यक्तिवादी शैली प्रमुख कारण रहेको प्रतिवेदनको निष्कर्ष छ ।

‘व्यक्तिवादी अहंकारवाद हावी हुँदै गयो । व्यक्ति पूजाको संस्कृति मौलाउँदै गयो । पार्टीलाई दक्षिणपन्थी अवसरवादको दलदलमा धकेल्दै लगियो’ प्रतिवेदनमा ओलीमाथि आरोप लगाइएको छ । तत्कालीन नेकपाभित्र पुष्पकमल दाहाल प्रचण्डले साथ छोडेपछि केपी ओली पार्टीभित्रको शक्ति समीकरणमा अल्पमतमा परेयताका घटनाक्रम सिलसिलेबार रुपमा प्रस्तुत गरिएको छ ।

अध्यक्ष ओलीले ७ जेठमा दोस्रो पटक पनि प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेपछि एकताबद्ध एमालेको संभावना टरेको निष्कर्ष निकालिएको छ । १० बुँदेले प्राविधिक एकताको मात्रै कुरा गर्ने भएकाले दोस्रो पटक संसद् विघटनको निर्णयलाई एमाले विभाजनको निर्णायक विन्दु ठहर्‍याइएको छ ।


प्रतिक्रिया दिनुहोस !