१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

पुनः विभाजनको नजिक पुग्यो एमाले, बैठक बहिष्कार गर्ने तेस्रो धारको चेतावनी



काठमाडौं । नेकपा एमालेमा पुनः विवाद देखिएको छ । विधान महाधिवेशनको पूर्व तयारीस्वरुप विभिन्न दस्तावेजमाथि छलफल गर्न शुक्रबारबाट सुरु भएको एमाले केन्द्रीय समिति बैठकमा संस्थापन पक्ष र तेस्रोधारका नेताहरुबीच विवाद देखिएको हो । संस्थापन पक्षले १० बुँदे प्रस्तावको इमान्दारीपूर्वक कार्यान्वयन नभएको भन्दै तेस्रो धारका नेताहरुले असन्तुष्टि जनाएका हुन् । उनीहरुले बैठक बहिस्कार गर्ने चेतावनी समेत दिएका छन् ।

एकता प्रस्तावको अक्षरशः पालना र विधान महाधिवेशनमा प्रतिनिधि छनोटबारे प्रस्ट धारणा नबन्दासम्म बैठकमा नबस्ने उनीहरुको अडान छ । शुक्रबारको एमाले बैठकमा तीनवटा दस्तावेजमा समूहगत छलफल गर्न आठवटा समूह बनाइएको छ । तर तेस्रो धारको एकता प्रस्ताव कार्यान्वयनको ग्यारेन्टी र विधान महाधिवेशनमा छनोट हुने प्रतिनिधिबारे स्पष्ट भएको छैन ।

शुक्रबार बसेको नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा तेस्रो धारका नेताहरूले नेतृत्वसमक्ष १० बुँदे सहमति कार्यान्वयन हुने आधार खोजेका छन् । शुक्रबारको बैठकमा खासगरी उपाध्यक्ष भीम रावल, केन्द्रीय सदस्य झपट रावल र भानुभक्त जोशीले १० बुँदे कार्यान्वयनको माग अगाडि बढाउनुभएको थियो । अध्यक्ष केपी शर्मा ओलीले अहिलेको बैठकका एजेण्डा फरक भएकोले तेस्रो धारका नेताहरुको माग यो बैठकको एजेण्डा नै बन्न नसक्ने जवाफ दिनुभएको थियो ।

अध्यक्ष ओलीको जवाफपछि तेस्रो धारका नेताहरु थप रुष्ट बनेका छन् । आफूहरुको मागप्रति अध्यक्ष ओलीको अरुचिका कारण तेस्रो धारका नेताहरू शनिबारको बैठकमा सहभागी हुने–नहुने दोधारमा पुगेका छन् ।


प्रतिक्रिया दिनुहोस !