१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

लमजुङ कांग्रेसमा बबण्डर, विवादपछि मतपत्र नै जलाईयो



पोखरा । नेपाली कांग्रेस लमजुङ राइनास नगरपालिका समितिको चुनावमा मतपत्रमा अंक र एउटा धर्को छुटेको विवादले मतपत्र नै जलाइएको छ । मतपत्रमा सभापतिको उम्मेदवारको क्रम संख्या र मतदान गर्दा चिह्न लगाउने ठाउँमा धर्को छुट्दा उत्पन्न विवादले राइनास तनाबग्रस्तमात्रै बनेन, निर्वाचन नै स्थगित भएको छ । राइनास नगरमा कांग्रेस सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूह छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा थिए । देउवा समूहबाट नुरराज कडरिया र पौडेल समूहबाट श्रीकृष्ण पौडेल नेतृत्वको प्यानल राइनास समितिको प्रतिस्पर्धामा उत्रिएको थियो ।

दुई समूहबीचको टकराब र मतदान हुने केन्द्र विवादसमेत रहेको राइनासमा करिब ६१ प्रतिशत मतदान भइसकेपछि निर्वाचन नै स्थगित हुन पुगेको हो । सभापतिको उम्मेदवार नुरराजको नाम मतपत्रको क्रम संख्या १ मा थियो । अर्का सभापतिका उम्मेदवार श्रीकृष्ण नाम दोस्रो नम्बरमा थियो तर क्रम संख्या भने १ नै उल्लेख छ । मतपत्रमा नुरराजलाई मत संकेत लगाउने कोठा बनाइएको छ भने श्रीकृष्णको मत संकेत गर्ने ठाउँमा एउटा अर्को नै छुटेको छ । करिब ५० जनाले मत खसालिसकेपछि यो विषयमा विवाद सुरु भएको थियो । विवादकै बीच १ सय ३४ जनाले मतदान गरिसकेका थिए ।

मतपत्रको विषयमा लफडा चर्किएपछि मतदान रोकियो । तर, विवाद रोकिएन । सुनियोजित रुपमा आफूलाई हराउन मतपत्र गलत छापिएको श्रीकृष्ण समूहले आरोप लगायो । अर्का उम्मेदवार नुरराजले मतदान प्रक्रियामा जानुभन्दा अगाडि नै विचार नपु¥याउने तर बीचमा पुगेर षडयन्त्रपूर्वक रोकिएको आरोप लगाए । दुई पक्षबीच २ घन्टाभन्दा बढी समय विवाद भएको थियो । दुबै समूहबीच हात हालाहालको स्थिति सिर्जना भएपछि अन्तत मतपत्र नै जलाएर निर्वाचन स्थगित गर्न दुबै पक्ष सहमत भएका हुन् ।

दुबै पक्षका प्रतिनिधि बोलाएर मतपत्र दिइएको र मतपत्र पहिले नै भित्तामा टाँसेर सार्वजनिक गरिएको निर्वाचन अधिकृत दिनेश चिलुवालले जानकारी दिए । दुबै समूहले आफूहरुको जीत सुनिश्चित रहेको दाबी गरेका थिए । श्रीकृष्ण नेबि संघका पूर्व जिल्ला सचिव हुन् भने नुरराज पूर्व कर्मचारी हुन् । राइनासमा देउवा र पौडेल समूहबीच तिक्ततापूर्ण प्रतिस्पर्धाका कारण समस्या सिर्जना भएको स्थानीय बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !