२२ बैशाख २०८१, शनिबार
 |   Sat May 4 2024
Logo

प्रचण्डलाई गोरखा-२ छाडेर गल्ती गरे, माफ गर्नुहोस् : भट्टराई



काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराईले गएको चुनावमा आफू गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार नभई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छाड्नु गल्ती भएको बताएका छन्।

गोरखाबाट भट्टराईले निर्वाचन जित्दै आएका थिए। २०६४ र २०७४ को चुनावमा भट्टराई गोरखा-२ बाट र २०७० को चुनावमा गोरखा १ बाट निर्वाचित भएका थिए। भट्टराई २०८४ सालमा हुने आमनिर्वाचनमा फेरि गोरखा-२ मा उम्मेदवार हुने तयारीमा छन्।

‘जिल्ला भ्रमणका क्रममा अत्यधिक जनसमुदाय र पार्टीका साथीहरूले मैले गत आमनिर्वाचनमा गोरखा-२ बाट उम्मेदवार नबन्नु र प्रचण्डलाई छोडिदिनु गम्भीर गल्ती भएको बताएकाछन,’ भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘समाजको विकासको स्तर, औसत जनचेतना र विद्यमान संसदीय राजनीतिका प्रमुख खेलाडीहरूको भ्रष्ट,अनैतिक र पाखण्डी चरित्रको ख्याल नगरी ‘गान्धीवादी’ आदर्श र त्यागको मार्ग अवलम्बन गर्नु मेरो कमजोरी रहेको भनेर खुला आलोचना गर्नुभएको छ।’

‘हिजोका क्रान्तिकारी नेताहरू मूल्यमान्यता र आदर्शबाट तीब्र गतिमा स्खलित हुँदै गइरहेको, ठूलो जनबलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्दै गइरहेको, जनताका सुशासन र समृद्धिका आकांक्षामा गम्भीर तुषारापत भैरहेको सन्दर्भमा आफू सदन र सरकारमा नगई पार्टी र सडकका मन्चबाट सफा र जनमुखी राजनीतिको पैरबी गर्नु र सत्तासीनहरूलाई खबरदारी गरिरहनु उपयुक्त हुने ठानेर साथीहरूलाई जानकारी गराएरै म चुनाव नलड्ने निर्णयमा पुगेको थिएँ,’ उनले भनेका छन्।

उनले गोरखा २ का जनतासँग माफी मागेका छन्। ‘मैले असल मनशायले गरेको निर्णयले आमजनता र पार्टीका साथीहरूलाई पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छु,’ भट्टराईले भनेका छन्।


प्रतिक्रिया दिनुहोस !