२० बैशाख २०८१, बिहीबार
 |   Thu May 2 2024
Logo

वरीयताक्रम मिचेर बढुवा गरिएका खनाल सेवानिवृत्त भएपछि सचिवविहीन बन्यो नेपाल ट्रष्टको कार्यालय



काठमाडौं । नेपाल ट्रष्टको कार्यालय आइतबारदेखि सचिवविहीन भएको छ । प्राविधिकतर्फ नेपाल इन्जिनियरिङ सेवातर्फका राजपत्रांकित विशिष्ट श्रेणीका सचिव राजेन्द्रप्रसाद खनाल सेवानिवृत्त भएपछि नेपाल ट्रष्ट सचिवविहीन बनेको हो । उमेर हदका कारण खनाल सचिवमा बढुवा भएको दुई महिनामै सेवानिवृत्त भएका हुन् ।

छोटो समयमै अवकाश पाउन लागेका खनाललाई सरकारले गत २८ असारमा वरिष्ठताको क्रम मिचेर सचिवमा बढुवा गरेको थियो । त्यसबेला बढुवा समितिको सिफारिसमा पहिलो नम्बरमा परेका अर्का सहसचिव गोपालप्रसाद सिग्देल भने अहिले पनि सचिवमा बढुवा भएका छैनन् । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बढुवा समितिले २७ असारमा सिग्देल, खनाल र सरजुकुमार वैद्यको नाम क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरेको थियो ।

साधारणतया पहिलो नम्बरमा सिफारिस भएकालाई बढुवा गर्ने अभ्यास छ । तर, खनाललाई भने सरकारले छोटो समयमात्रै कार्यावधि बाँकी रहेको भन्दै वरीयताक्रम मिचेर बढुवा गरेको थियो । त्यसबेला सचिव नभएका सिग्देल भने असन्तुष्ट छन् । वरीयता मिचेर बढुवा भएका सचिव खनाल अवकाश भइसक्दा पनि सिग्देलको भने बढुवा प्रक्रिया अघि बढेको छैन । मन्त्रालय स्रोतका अनुसार खनालको अनिवार्य अवकाशको पत्र बढुवा सिफारिस समितिलाई प्राप्त भइसकेको, तर त्यसबारे छलफल गर्न समितिको बैठक भने बसेको छैन ।

आगामी पुसदेखि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यावधि सकिँदैछ । त्यसपछि प्राधिकरणका प्राविधिकतर्फकै सचिव सुशीलचन्द्र तिवारीलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ । यदि तिवारीको व्यवस्थापनकै लागि अहिले सचिव बढुवा नगरे नेपाल ट्रष्टको कार्यालय ४ महिनासम्म सचिवविहीन हुनेछ । बढुवा गरेको अवस्थामा भने प्राधिकरणको कार्यावधि सकिएपछि एक जनालाई जगेडामा राख्नुपर्ने हुन्छ ।


प्रतिक्रिया दिनुहोस !