१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

देहिमाडौं जात्रामा साढे तीन सय रांगा र १५ सय बोकाको बलि



बैतडी । बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा भव्य जात्रा लागेको छ । महासप्तमीका दिन शुरु भएको जात्रा महाष्टमीमा रांगा बोकाको बलिसहित सम्पन्न हुने गर्दछ । जात्रामा करिब साढे ३ सय रांगाको बलि दिइएको छ । २४६ रांगा समितिमा दर्ता गरिएको र सय बढी रांगा थप आएको हुनसक्ने जात्रा व्यवस्थापन समितिले जनाएको छ ।

यसैगरि घटस्थापनादेखि अष्टमीसम्म १ हजार ५ सय बढी बोकाको बलि दिइएको छ । गत बर्ष कोरोनाको प्रकोपका कारण सम्पन्न हुन नसकेको जात्रा यसपालि भने कोरोना महामारीको प्रकोप कम भएकाले धुमधामसँग लागेको छ । निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रालाई व्यवस्थित बनाउन दशरथचन्द नगरपालिका २ को कार्यालय देहीमाडौंले जात्रास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको छ ।

जात्रालाई मर्यादित र व्यवस्थित बनाउनका लागि घटस्थापनादेखि नै देहीमाडौं क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको वडाध्यक्ष रनबहादुर बोहराले बताए । वडा कार्यालयको निर्णयको कसैले उल्लंघन गरेमा कानुनअनुसार कारवाही हुने बताइएको छ । यस्तै स्थानीय प्रशासनले पनि जात्रा तथा मेला मनाउँदा शान्ति सुरक्षामा खलल पुर्‍याउने काम कसैले गरेमा कारवाही हुने बताएको छ ।


प्रतिक्रिया दिनुहोस !