१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

नौ जना मिलेर तीन बालिकालाई सामूहिक बलात्कार



सिन्धुली। सिन्धुलीको कमालामाई नगरपालिका–५ बोझे निवासी तीन जना बालिकालाई नौ जना केटाले सामूहिक बलात्कार गरेका छन् । शनिबार राति ती केटाले ती बालिकालाई बोलाएर सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक रामभक्त भट्टराईका अनुसार सामूहिक बलात्कार गर्ने केटा मध्ये तीन जनालाई पक्राउ गरिएको र बाँकी छ जना फरार रहेका छन् ।

बलात्कृत हुने बालिकाहरु १५, १६ र १७ वर्षका रहेको बताइएको छ । बलात्कार भएका बालिकाका अभिभावकले किटानी जाहेरी दिई ती केटालाई कारबाहीको माग गर्दै दिएको उजुरीका आधारमा २२ वर्षीय हिमा लामा, २४ वर्षीय गणेश मगर र २२ वर्षीय बिवेक मगरलाई पक्राउ गरिएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिनुभयो । उहाँले फरार व्यक्तिको खोजतलास भइरहेको पनि बताउनुभयो । दशैँका कारण अदालत बन्द भएकाले बलात्कार गर्ने केटालाई कारबाही गर्न अहिले पक्राउ पूर्जी लिएको र अदालत खुलेपछि थुनामा राखेर अनुसन्धान गर्ने म्याद थप लिई कारबाही प्रकृया अघि बढाउने उहाँको भनाइ छ ।

बलात्कार गर्ने एक जना केटा र बलात्कृत हुने एक जना बालिकाको पहिलेदेखि नै चिनजान रहेको र केटाहरुले बोलाएर जाँदा ती बालिकाहरु फसेको बताइएको छ । घटनाको अनुसन्धान गर्न बाँकी रहेकाले पूर्ण विवरण आउन बाँकी रहेबकाके जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । बलात्कार हुने बालिकाको मेडिकल जाँचका क्रममा पनि बलात्कार भएको खुलेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !