१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

मुख्यमन्त्री बन्न जीवनबहादुर शाहीले एमालेसँग तीन बुँदे सहमति गरेको खुलासा



सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्री बन्न कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले अनेक प्रयत्न गरे । तर अनेक उपाय लगाउँदा पनि उनले बाटो अझै भेटेका छैनन् । हालका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने बेला जीवन शाहीले ६ महिनापछि आफूलाई सत्ता हस्तान्तरण गर्ने गरी माओवादीसँग सम्झौता गरेका थिए । तर, मुख्यमन्त्री शाही अहिले उक्त सम्झौतालाई बिर्सिसके ।

कांग्रेस नेता शाहीले माओवादीसँग मात्रै होइन, एमालेसँग पनि सत्ता सहकार्यका लागि तीन बुँदे सहमति गरेको रहस्य खुलेको छ । उनले गत माघमा नै एमालेसँग तीन बुँदे सम्झौता गरेका थिए । स्रोतका अनुसार काठमाडौंको माइतीघरमा रहेको एक कार्यालयमा एमाले संसदीय दलका नेता यामलाल कंडेल, कांग्रेस नेता जीवन शाही, एमाले नेता धर्मराज रेग्मी र कांग्रेस नेता दीनबन्धु श्रेष्ठबीच तीन बुँदे सहमति भएको थियो ।

उक्त तीन बुँदे सहमतिमा कांग्रेस र एमालेले सहकार्य गरेर जाने, सदन र सरकार सञ्चालनमा एकै धारणा बनाउने, सरकारले गरेका भ्रष्टाचारविरुद्ध एक भएर लाग्ने सहमति भएको स्रोतले बताएको छ । सिंहदरबारमा दुईपटक छलफल भइसकेपछि माइतीघरमा सो सहमति भएको स्रोतले बतायो । हाल जलस्रोत मन्त्री रहेका दीनबन्धु श्रेष्ठ र एमाले नेता धर्मराज रेग्मीको रोहवरमा कंडेल र शाहीले नेपाली कागजमा हस्ताक्षर गरेर सरकार परिवर्तन गर्ने सहमति गरेका थिए । सहमतिपत्रमा जीवन शाही र एमालेबीच सत्ताको भागवण्डा गर्ने उल्लेख छ । जसरी पनि सत्तामा जान आतुर उनले एमालेसँगको सहमतिपश्चात पनि माओवादीसँग सहमति गरेर मुख्यमन्त्री बन्न सम्झौता गरेका थिए । सो सम्झौताका आधारमा उनी गएको भदौमा नै मुख्यमन्त्री भइसक्नुपर्नेमा हालसम्म मुख्यमन्त्री बन्न सकेका छैनन् । विभिन्न मिडियामा जीवनबहादुर शाही मुख्यमन्त्री हुने भनेर चर्चा भए पनि उनको मुख्यमन्त्री बन्ने सम्भावनामाथि नेकपा समाजवादी र माओवादीले करिब पूर्णविराम लगाइदिएका छन् । प्रचण्ड र माधवकुमार नेपालबीच अलिखित सहमति भएसँगै कर्णालीमा नेकपा माओवादीकै नेतृत्वमा चुनावमा जाने सम्भावना बढेको छ ।

कांग्रेस नेता शाहीले तत्कालीन नेकपा माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । विश्वासको मत दिएको समयमा उनी प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा कर्णाली प्रदेशसभामा थिए । प्रतिपक्षी दलका नेतालाई ‘प्रतिक्षारत मुख्यमन्त्री’ मान्ने गरिन्छ । त्यसबेला कांग्रेसले माओवादीलाई विश्वासको मत दिनु अनौठो मानिएको थियो । नेता जीवन शाहीले जहिल्यै पनि मुख्यमन्त्री शाही नेतृत्वको सरकारलाई वडा सरकारसँग तुलना गर्ने गरेका थिए । एमाले र माओवादीबीचको विवाद उत्कर्षमा पुगेको समयमा मुख्यमन्त्री बन्नका लागि जीवन शाहीले माओवादीसँग सहमति गरेका थिए । काँग्रेस र माओवादीबीचको भद्र सहमतिका बेला वर्तमान गठबन्धन थिएन । पछिल्लो चरणमा कांग्रेस, माओवादी र समाजवादीले दुई–दुई प्रदेशको मुख्यमन्त्री लिने भनेर सहमति भइसकेको छ, तर सभापति शेरबहादुर देउवाले सुदुरपश्चिममा कांग्रेस नेतृत्व लिन इच्छाएका छैनन् । यता, कर्णाली प्रदेशमा समाजवादीले प्रत्यक्षतर्फ एक सिट जित्ने लक्ष्य राखेको छ । डोल्पामा धनबहादुर बुढा र नन्दसिंह बुढा समाजवादीमा लागेका कारण उसले त्यहाँ निर्वाचन जित्ने आशा राखेको हो । कर्णालीमा प्रभाव विस्तार गर्नकालागि माधव नेपालले यही सरकारलाई निरन्तरता दिन चाहेका छन् ।

कांग्रेस नेता शाही २०५५ सालमा हुम्लामा जिल्ला विकास समितिको सभापति निर्वाचित भएका थिए भने राजाको शासनकाल २०६१ मा जिल्ला विकास समितिको सभापतिमा मनोनित भएका थिए । त्यसबेला शेरबहादुर देउवा जेलमा थिए । सोही कारण पनि देउवाले नेता शाहीको त्यति धेरै विश्वास नगर्ने गरेको कांग्रेस वृत्तमा चर्चामा छ । तीन बुँदे सहमतिको मस्यौदाकार धर्मराज रेग्मीले एमाले र कांग्रेसबीच सहमति भएको बताए । ‘सहमति मैले नै तयार पारेको हो । हस्ताक्षर दुई नेताले गर्नुभएको छ । दीनबन्धु जी र म रोहवरमा बसेका हौं,’ उनी भन्छन्, ‘तर पछि त्यो सहमति भने हामीले सार्वजनिक गरेनौं । यसबारेमा प्रतिक्रिया लिन खोज्दा मन्त्री श्रेष्ठले बोल्न चाहेनन् । कर्णाली प्रदेश सभामा कांग्रेसका ६, माओवादीका १२ र समाजवादीका तीन जना सांसद छन् । यो संख्या स्पष्ट बहुमत हो । हाल ३५ सदस्यीय रहेको प्रदेश सभामा एमालेका १३, राप्रपाका एक सांसद छन् ।


प्रतिक्रिया दिनुहोस !