१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

तालिवानले १०० पूर्वसुरक्षाकर्मीको हत्या गरेको ह्युमन राइट वाचको दाबी



एजेन्सी । तालिवानले अगस्टमा सत्ता कब्जा गरेपछि १०० भन्दा बढि पूर्वसुरक्षाकर्मीको हत्या गरेको मानव अधिकारवादी समूह ह्युमन राईट वाचले जनाएको छ । तालिवानले पूर्वसरकारका सुरक्षाकर्मीलाई क्षमा दिने बताए पनि स्थानीय कमान्डरले पूर्वप्रहरी र सेनालाई निशाना बनाएको वाचले जनाएको हो ।

वाचले पूर्वसेनामाथि गरिएका योजनाबद्ध हत्याको विरोध गरेको छ । पूर्वसुरक्षाकर्मीमाथि कुनै कारबाही नभएको हालै तालिवान प्रवक्ताले जनाएका थिए । तालिवानले १५ अगस्टमा पूर्वराष्ट्रपति असरफ गनीको सरकार पदच्युत गरेको थियो । तालिवानको पुन उदयपछि अफगानिस्थानमा विगत २० वर्षदेखि रहेको अमेरिकी सेनाले काबुल छोडेको थियो ।

पूर्वसरकारका सुरक्षाकर्मीलाई आममाफी दिइने बताए पनि उनीहरुमाथिको शृंखलाबद्ध हमला रोकिएको छैन् । तालिवानले ठूलो संख्यामा प्रहरी र सर्वसाधरणको हत्या गरेको थियो । सत्तापलट गर्नुभन्दा १८ महिनाअघि तालिवानले ठूलो नरसंहार मच्चाएको थियो । उसले न्यायाधीश, पत्रकार र नागरिक अभियन्ताको हत्या गरेको थियो ।

वाचले मंगलबार सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार तालिवानले सत्ता सम्हालेपछि निरन्तर विरोधीलाई निशाना बनाएको उल्लेख छ । वाचका अनुसार तालिवानले गजनी, हेलमन्ड, कुन्दुज र कान्दहरमा १०० जना भन्दा बढीको हत्या गरेको छ । तालिवानले कारबाहीको सूची तयार पारेका व्यक्ति अहिले फेला नपरेकोले उनीहरुको पनि हत्या भएको हुनसक्ने जनाईएको छ ।


प्रतिक्रिया दिनुहोस !