१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

हाटबजार नहुँदा बिचौलियाको मारमा सिन्धुलीका किसान



सिन्धुली । सिन्धुलीमा व्यावसायिक रूपमा तरकारी खेती गर्नेको संख्या बढे पनि बजार व्यवस्थापनदेखि आर्थिक तथा प्राविधिक सहयोग नपाइएको भन्दै किसानहरू असन्तुष्ट भएका छन् । यातयातको समस्या र बिचौलियाको कारण उत्पादनको उचित मूल्य नपाएको किसानको गुनासो छ । करिब १० वर्ष अगाडिदेखि व्यावसायिक तरकारी खेती गदै आएकी कमलामाई नगरपालिका–४ ज्यामिरेकी लिला श्रेष्ठले तरकारी बजारसम्म पुर्‍याउन स्थानीय सरकारले चासो नदिएको गुनासो गर्छिन् ।

‘उत्पादन भएको तरकारी बजारसम्म पुर्‍याउन समस्या छ । बाटोको समस्या छ । बजारसम्म पुग्दा मूल्य भनेअनुसार पाएको छैन । आफैँले बिक्री गर्न पाए केही नाफा हुन्थ्यो कि, विचौलियालाई दिनुपर्छ,’ उनले भनिन् । व्यावसायीक रूपमा मौसमी तथा बेमौसमी तरकारी खेती गदै आएकी लिला कृषि उपज बजारमा आफुले उत्पादन गरेको तरकारी आफैले बिक्री गर्ने गरी व्यवस्था मिलाइदिए सहज हुने बताउँछिन् । ‘सिन्धुलीमाढीको कृषि उपज बजारमा एउटा सटरको व्यवस्था मिलाइदिए आफूले उत्पादन गरेको तरकारी आफैँले बेच्न पाइन्थ्यो । तरकारीको उचित मुल्य पनि पाइन्थ्यो,’ उनले भनिन् ।

स्थानीय सरकार गठन र जनप्रतिधिको आगमनलाई सहाराका रुपमा बुझेको भए पनि बितेको चार वर्षमा सोहीअनुरुप महसुस गर्न नपाइएको किसानको गुनासो छ । किसानले फलाएका तरकारी र फलफूल सिन्धुलीलगायत छिमेकी जिल्लाका बजारसम्म पुग्ने गरेका छन् । ‘स्थानीय तहले कृषिका अनुदान दिने गरे पनि त्यो अनुदान पाउनै समस्या छ । सबै किसानलाई पुग्ने गरी अनुदान दिनुपर्ने हो,’ उनले भने । करिब चार रोपनी जमिनमा व्यावसायिक तरकारी खेती गदै आएका गोलन्जोर गाउँपालिका–६ ग्वाल्टारका खेमबहादुर बस्नेतले स्थानीय तहबाट कृषिका अनुदान नपाएको गुनासो गरे ।

जिल्लाका ज्यामिरे, चपौली, नागीलगायतका क्षेत्रमा तरकारी उत्पादनको सम्भावना भए पनि बजारसम्म पु¥याउन किसानलाई समस्या हुने गरेको छ । तरकारी तथा फलफूल बिक्री गर्ने सिन्धुलीमाढी कृषि उपज बजार भए पनि आफूहरूले त्यस ठाउँमा स्थान नपाएको किसानको गुनासो छ । यता कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले किसानका समस्या नगरले सम्बोधन गर्ने बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !