२४ बैशाख २०८१, सोमबार
 |   Mon May 6 2024
Logo

दोब्वरले बढ्दै कोरोना संक्रमण, तेस्रो लहर सुरु भएको विज्ञको आँकलन



काठमाडौं । विश्वभर ओमिक्रोनको जोखिम बढिरहेका बेला नेपालमा समेत संक्रमितको संख्या कहालीलाग्दो ढङ्गमा बढेको छ ।१ प्रतिशतमा झरिसकेको संक्रमणदर हाल २३ प्रतिशतसम्म पुग्दा देशभर करिव १५ हजार संक्रिय संक्रमित पुगेका छन् । ५ दिनमा संक्रमण दोब्वर बढ्दा अस्पतालमा संक्रमितको चाप उल्लेख्य बढेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या उकालो लाग्न थालेसँगै अस्पताल भरिन थालेका छन् । पुस १५ देखि केही बढ्न थालेको संक्रमण पुष २५ सम्म पुग्दा ९ प्रतिशत माथि पुग्यो । २६ गते १२ दशमलव ६, २७ गते १६ दशमलव २ पुगेको संक्रमणदर २८ गते २३ दशमलव ५८ प्रतिशत पुग्यो ।

यस्तै २९ गते पनि २३ दशमलव ५५ प्रतिशतमा संक्रमण देखिएको छ । प्रत्येक दिन औसतमा ५ सयले बढ्न थालेको संक्रमितको संख्याले अबको केही समयमा नै अवस्था भयावह बनाउने देखिन्छ । संक्रामक रोग विशेषज्ञ डा. जनक कोइराला, दैनिक २ सय पुगेको संक्रमण क्रमशः बढ्दै जानुले तेस्रो लहर सुरु भएको आँकलन गर्नुहुन्छ ।

तर, नेपालमा हाल फैलिरहेको संक्रमण ओमिक्रोन नै हो कि यसअघि देखिरहेको डेल्टा भेरियन्ट हो भन्ने पुष्टि भइसकेको छैन । यद्यपि ओमिक्रोन भेरियन्टको संक्रमणपछि १ जनाले १० जनासम्म संक्रमण पु¥याउने सक्ने क्षमता राख्छ ।

नयाँ भेरियन्टले दोस्रो लहरमा जस्तो फोक्सोमा अक्सिजनको मात्रा घटाउने र निमोनिया बनाउने नदेखिए पनि श्वासप्रश्वासमा असर र घाँटीमा समस्या हुने देखिएको छ । खोप नलगाएको व्यक्तिमा भने लगाएको व्यक्तिको तुलनामा १० गुणा बढी असर, अस्पताल भर्ना हुने दर १७ गुणा र मृत्यु हुने सम्भावना २० प्रतिशत बढी हुने पाइएको संक्रामक रोग डा. कोइरालाको भनाइ छ ।

हाल उपत्यका सहित देशभरका अस्पतालहरू संक्रमितले भरिन थालिसकेका छन् । १३ हजार ५ सय ३ जना होम आइसोलेसनमा छन् । यस्तै उपत्यकाको सरकारी अस्पतालको जनरल शय्यामा १ सय ९६, एचडीयूमा १ सय ६२, आईसीयूमा ४५ र भेन्टिलेटरमा १२ जनाको उपचार भइरहेको छ । यो संख्या केही दिन यता बढ्ने क्रममा रहेको अस्पतालहरुले जनाएका छन् ।

गण्डकी प्रदेशको संक्रामक तथा सरुवारोग अस्पतालमा समेत संक्रमितको संख्या बढ्दो क्रममा छ । अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचन, कास्कीबाट बढी संक्रमित आइरहेको बताउनुुहुन्छ । दुई हप्ताअघि दुई जना मात्र संक्रमित अस्पतालमा भर्ना भएकोमा अहिले संक्रमितको भर्नादर ह्वात्तै बढेको उहाँको भनाइ छ ।

बढ्दो क्रममा रहेको संक्रमणदरले तेस्रो लहर भित्रिसकेको संकेत गरेको छ । देशभर स्मार्ट लकडाउन भनिए पनि सबैतिर बढ्दो भीडभाड र बेवास्थाले दोस्रो लहरभन्दा भयावह नहोला भन्न सकिन्न ।


प्रतिक्रिया दिनुहोस !